सुकुम्वासीको प्रश्न : ‘जग्गाको धनीपूर्जा नपाउँदा कतै लखेटिनु पर्ने त हैन ?’

सुकुम्वासीको प्रश्न : ‘जग्गाको धनीपूर्जा नपाउँदा कतै लखेटिनु पर्ने त हैन ?’


३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मतदाता आफ्नो पक्षमा पार्न उम्मेदवार घरदैलो कार्यक्रममा छन् । उम्मेदवारलाई चुनावी चटारो छ । २०७४ मा स्थानीय तहको नेतृत्व गरेका दलका उम्मेदवार अपूरा काम पूरा गर्न मत मागिरहेका छन् ।

अघिल्लो निर्वाचनमा स्थानीय सत्ताको नेतृत्व गर्न नपाएका दलका उम्मेदवार विगतमा भएको गलत कामको भन्डाफोर गर्ने भन्दै मतदाता कहाँ भोट माग्न पुगेका छन् । दलहरूसँग नयाँ चुनावी एजेन्डा खासै छैन । उनीहरूका घोषणा पत्र हेर्ने हो भने विगतको घोषणा पत्रलाई ‘पुनः सम्पादन’ गरेको जस्तो देखिन्छ । 

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकलाई पनि चुनावले छपक्कै छोपेको छ। प्रमुख दलबाट पुरानै अनुहार चुनावमा होमिएका छन् । कांग्रेस, माओवादी राप्रपाको गठबन्धनबाट नगरप्रमुखमा राम थापा छन् । उनी स्थानीय निर्वाचनमा सधैँ उम्मेदवार बन्छन् ।
 
तर, जनताबाट सधैँ ‘अयोग्य’ ठहरिन्छन् । तै पनि चुनाव लड्न छाड्दैनन् । एमालेबाट उम्मेदवार बनेकी गीता अधिकारी पनि नयाँ अनुहार हैनन् । उनले २०७४ मा भएको निर्वाचनमा दमक नगरपालिकाको उपप्रमुख पद सम्हाली सकेकी छन् । यी दुई उम्मेदवारबीच दमकमा प्रतिस्पर्धा हुने देखिन्छ । पुराना अनुहारबाट पुरानै एजेन्डा लिएर जनता माझ गएका छन् ।

दमकमा सुकुम्वासीले सधैँ आश्वासन मात्र पाउँछन् । प्रत्येक चुनावमा सुकुम्वासीलाई जग्गा धनी प्रमाण पूर्जा दिने दलहरूको एजेन्डा बन्छ । तर, सुकुम्वासीले कहिल्यै धनीपूर्जा पाउँदैनन् । दमक–१० सेतुमारी बगरगाउँकी अनिता शेर्मासँग २०६८ सालमै सुकुम्वासी समस्या समाधान आयोगले दिएको सुकुम्वासी परिचयपत्र छ । 

उनले जग्गाधनी प्रमाण पूर्जाका लागि पटक-पटक फर्म भरिन् । दलहरूले चुनावमा पनि यही आश्वासन दिन्छन् । तर, धनीपूर्जा भने अझै पाएकी छैनन् । ‘चुनावनै पिच्छे धनीपूर्जा दिन्छु भन्छन् । २०७४ मा पनि धनीपूर्जा दिइहाल्छु भन्थे । तर, अहिलेसम्म दिएनन्,’ उनी भन्छिन्, ‘यसपटक पनि धनीपूर्जा दिन्छु भन्दै भोट माग्न आएका छन् । तर, हामीलाई आस छैन ।’ 

उनको घर नेपाल–चीन मैत्री औद्योगिक पार्कछेउमै छ । यो सुकुम्वासी गाउँ नै औद्योगिक पार्कले अधिग्रहण गर्ने भनेर हल्ला छ । उनलाई पनि श्रीमान‍्ले विदेशमा वर्षौँ दुःख गरेर सुकुम्वासी बस्तीमा बनाएको घर जाने त हैन भन्ने चिन्ता छ । ‘यो औद्योगिक पार्कले लान्छ भन्छन् । तर, अहिलेसम्म कसैले छाड भनेर चाहिँ आएको छैन । श्रीमानले धेरै वर्ष विदेशमा दुःख गरेर एउटा घर जोडे । यही पनि जान्छ कि भन्ने पिर छ,’ उनी भन्छिन्, ‘चुनावका बेला त के-के आश्वासन दिन्छन् । तर, चुनाव सकिएपछि पूरा गर्दैनन् ।’

दमक-१० की वृद्धा फूलमाया हेमरमले जसोतसो ऐलानी जग्गामा झुप्रो जोडेकी छन् । अर्काकोमा लामो समय काम गर्न बसेर, जनमन गरेर भए पनि उनको परिवारले ओत लाग्ने झुप्रो बनाएको छ । तर, यो जग्गाको धनीपूर्जा नपाउँदा कतै लखेटिनु पर्ने त हैन भन्ने चिन्ता छ । नेपाल–चीन मैत्री औद्योगिक पार्कले उठाउने हो कि भन्ने चिन्ता छ, उनलाई पनि । 

‘जनमन र अर्काकोमा हली बसेर जोडेको जग्गा हो । चुनावका बेला केही हुँदैन धनीपूर्जा दिन्छौँ भन्छन् । चुनाव सकिएर गएपछि नेताको भर नै हुँदैन ।के गर्छन्, गर्छन्,’ उनी भन्छिन्, ‘वडाध्यक्ष (निवर्तमान दमक–१० का वडाध्यक्ष बोधराज न्यौपानेको घरमा हाम्रो परिवार ४५ सालतिर हली बसेका थियौं । उहाँ हुँदा त धनीपूर्जा पाएनौं अब के पाउँछौँ ?’

गरिबलाई खाना र राम्रो घरमा बस्न नै सकस छ । छोराछोरीलाई राम्रो शिक्षा दिने त कल्पनाको विषयमात्रै बन्दै छ । ‘बिहान बेलुका छाक टार्न मुस्किल छ । केटाकेटीलाई कसरी पढाउने ? मजदुरी गरेको पैसाले खान पनि पुग्दैन । हामीलाई पनि छोराछोरी राम्रो स्कुल पढाउने मन हुन्छ । तर, पढाउन सकेका छैनौँ । सरकारी स्कुलमा पनि के केमा पैसा लाग्छ । सरकारी स्कुल पनि पढाउन नसक्ने भइसक्यौं,’ उनी भन्छिन्, ‘अब चुनाव जित्नेले कम्तीमा हाम्रा नानीहरूले राम्रो स्कुल पढ्ने व्यवस्था मिलाइदिओस् । पढाउँदा पैसा नलागोस् ।’

 

Logo