भारतले फेरि रोक्यो पेट्रोलियम पदार्थ बोकेको नेपाली ट्यांकर
"पूर्वमा पेट्रोलियम पदार्थको हाहाकार"

पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ वटा ट्याङ्कर चार दिनदेखि पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकिएका छन् । पेट्रोलियम पदार्थ बोकेका मेचीका ५३ र विराटनगरका २० गरी ७३ ट्याङ्कर पानीट्याङ्की नाकामा थन्किएका छन् ।

अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ शुरु गरिएको जनाउँदै भारतीय भन्सारले तेलवाहक नेपाली ट्याङ्करलाई नाकामै रोकेर राखेको नेपाल आयल निगम चारआली कार्यालयका सूचना अधिकृत लोकमणि पौडेलले जानकारी दिए ।

यही कारण मेची अञ्चलका सबै पेट्रोलपम्पहरु बन्द भएका छन् । चार दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङसहितका ६० पेट्रोल तथा डिजलपम्प बन्द भएपछि पेट्रोलियम पदार्थको हाहाकार भएको छ । उनले मेचीका यी चार जिल्लामा मात्र दैनिक एक लाख लिटर पेट्रोल र तीन लाख लिटर डिजेल खपत हुने गरेको बताए ।