नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि हुने अर्थविद्हरुको धारणा

नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि हुने अर्थविद्हरुको धारणा


अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि हुने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित प्रतिस्थापन बजेट कार्यान्वयन र आगामी बजेटका प्राथमिकता विषयक कार्यक्रममा बोल्दै उनले तथ्याङ्क विभागले आर्थिक वृद्धिदरमा प्रक्षेपण गरेको भन्दा बढी हुने बताएका हुन् । उनले अहिले मुलुकको अर्थतन्त्र सही दिशामा रहेको बताए । आर्थिक सल्लाहकार उप्रेतीले अर्थतन्त्रको बाह्य क्षेत्र र मुद्रास्फितिमा दबाब रहेको स्वीकार गर्दै यो समस्या चाँडै समाधान हुने दावीसमेत गरे। 

उनले कोरोना महामारीपश्चात् बैंक तथा वित्तीय संस्थाहरुबाट उच्च कर्जा लगानी हुँदा पनि अहिले अर्थतन्त्रमा केही समस्या देखिएको बताए । मौद्रिक नीतिले १९ प्रतिशत कर्जा लगानी हुने अनुमान गरेपनि केही समय अगाडि ३८ प्रतिशतसम्म पुगेको बताए । निर्यात भन्दापनि आयात एक्कासीरुपमा ह्वात्तै बढेकाले वाह्य क्षेत्रमा दबाब परेको उनको भनाइ छ । आर्थिक सल्लाहकार उप्रेतीले चालु आर्थिक वर्षमा ६.५ प्रतिशत मूल्यवृद्धि हुने अनुमान भएपनि रुस र युक्रेनको युद्धको कारणले ७.१ प्रतिशतको मूल्यवृद्धि भएको उल्लेख गरे । उनले सरकारले आगामी आर्थिक वर्षको बजेट कृषि, उत्पादन रोजगारीमा केन्द्रित हुने बताए । उनले बाह्य क्षेत्रमा सन्तुलनमा ल्याउनको लागि भए पनि अबको बजेटमा कृषि, रोजगारी र उत्पादनमूलक क्षेत्र केन्द्रित हुनु आवश्यक रहेको बताए ।

त्यस्तै अर्थविद् डा. चन्द्रमणि अधिकारीले नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी)मा कृषिको योगदान १५ प्रतिशतमा आए मुलुकमा ठूलो आर्थिक दुर्घटना हुने दाबी गरे । उनले यस्तो अवस्था आउन नदिनको लागि सरकारले आगामी वर्षको बजेटमा कृषि र रोजगारीलाई प्रमुख प्राथमिकता राखेर बजेट ल्याउनु पर्ने आवश्यकता रहेको बताए । डा.अधिकारीले सरकारले प्रतिस्थापन विद्येयकमार्फत् ल्याएको बजेट कार्यान्वयनमा समस्या देखिएकाले अर्थतन्त्रमा समस्या देखिएको बताए । सरकारले जुन लक्ष्यका साथ प्रतिस्थापन बजेट ल्याएको थियो, त्यो लक्ष्य पूरा गर्न नसकेको दाबी अधिकारीको छ । सरकारले मुलुकको अर्थतन्त्र सहि दिशामा रहेको भने पनि अर्थतन्त्रका सूचकहरु हेर्दा अर्थतन्त्र संकटोन्मुख नै रहेको अर्थविद् अधिकारीले बताए । अर्थतन्त्रमा देखिएको संरचनागत समस्या समाधानको लागि राजनीतिक नेतृत्व तयार हुनु पर्ने आवश्यक रहेको बताए ।

त्यस्तै, अर्थ राजनीतिक विश्लेषक हरि रोक्काले मुलुकको पुँजीगत खर्च गर्ने निकायहरु नै काम गर्न लायक नभएको बताए । उनले अर्थतन्त्र सुधारका लागि संरचना नै परिर्वतन गरेर नयाँ बनाउनु पर्ने बताए । रोक्काले नेपालबाट निर्यात हुने उद्योगहरुको भ्यालु इडिसन हुनु पर्ने बताए । उनले त्यस्ता उद्योगमा सामान्य मानिसहरुलाई रोजगारीको व्यवस्था गरे मात्रै मुलुकको आर्थिक उन्नती हुने बताए । रोक्काले हामीले आर्थिक वृद्धिदरको हिसाब गर्न छाड्नु पर्ने बताए ।

त्यस्तै, बैंक तथा वित्तीय सल्लाकार डा. शालिकराम पोखरेलले विदेशबाट नेपाल आउने रेमिटेन्सको प्रभावले अर्थतन्त्रमा समस्या आएको बताए । उनले कोरोना महामारीको बीचमा अत्याधिक रेमिट्यान्स नेपाल भित्रिएकाले बजारमा तरलता सहजताका कारण उत्पादनभन्दा बाहिरका क्षेत्रमा लगानी बढ्दा अर्थतन्त्रमा समस्या देखिएको बताए । पोखरेलले तरलता सहज भएर अत्याधिक कर्जा आयातमा गएकाले अहिले बजारमा तरलता अभाव देखिएको बताए । उनले पछिल्लो समय राज्यमा आर्थिक नीति पनि आयातमुखी भएको बताए ।

पोखरेलले बैंक तथा वितीय संस्थाले प्रवाह गरेको कर्जा आयातमा लगानी गर्दा राज्यलाई राजश्व प्रचुर मात्रामा प्राप्त भए पनि आन्तरिक उत्पादन बढ्ने क्षेत्रमा लगानी नभएको बताए । जबसम्म स्वदेशमा नै आन्तरिक उत्पादन बढाउने र स्वदेशमा नै श्रमिकलाई रोजगारी दिने नीति आउँदैन तबसम्म आन्तरिक उत्पादन बढ्न नसक्ने उनको भनाइ छ।

Logo