एमाले अध्यक्ष ओलीद्वारा पार्टीको राजनीतिक धारणा सार्वजनिक (पूर्णपाठ)

एमाले अध्यक्ष ओलीद्वारा पार्टीको राजनीतिक धारणा सार्वजनिक (पूर्णपाठ)


एमाले अध्यक्ष केपी ओलीले आइतबार पत्रकार सम्मेलन गरेर राजनीतिक तथा समसामयिक विषयमा आफ्नोसहित पार्टीको धारणा सार्वजनिक गरेका छन्। 

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनसहितका विषयमा ओलीले राखेको ६७ बुँँदे धारणाको पूर्णपाठ यस्ताे छ :

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू 
हार्दिक अभिवादन !

१. हामी सम्पूर्ण नेपालीहरू यही २०७९ साल वैशाख ३० गते शुक्रबारका दिन स्थानीय सरकार निर्माणका लागि जनप्रतिनिधिहरूको निर्वाचन सम्पन्न गर्न गइरहेका छौं । यो निर्वाचन स्थानीय तहको सरकार गठन गर्नका लागि जनादेश दिने संविधानप्रदत्त सार्वभौम मताधिकारको अभ्यास गर्ने महत्वपूर्ण अवसर हो । यस निर्वाचनका माध्यमबाट हामीले आफ्नो रोजाइका प्रतिनिधिहरू चयन गर्नेमात्र होइन, नेपाल र नेपालीको भावी गन्तव्यको मार्गचित्र समेत निर्धारण गर्नेछौं । म सबै आदरणीय मतदाताहरू समक्ष उत्साहपूर्वक मतदान गर्नुहुन हार्दिक आग्रह गर्दछु । निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोगका लागि सबैसँग अपिल गर्दछु ।

२. नेपाली जनसमुदायमाझबाट उदाएको जनताको राजनीतिक दल नेकपा (एमाले) सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको घर आँगनमा यहाँहरूको आशीर्वाद माग्न आएको छ । आगामी पाँच वर्षभित्र सबै गाउँ नगरलाई समग्र विकास, सुशासन, सामाजिक न्यायसहितको समतामूलक एवम् समृद्ध युगमा प्रवेश गराउने प्रतिज्ञाका साथ एमाले आम मतदाताहरू समक्ष प्रस्तुत भएको छ ।

३. आर्थिक विकासका क्षेत्रमा, आधुनिक भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा, ग्रामीण तथा शहरी पूर्वाधार विकासका क्षेत्रमा र शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइका क्षेत्रमा मात्र होइन,रोजगारी, सामाजिक सुरक्षा, संरक्षण तथा रूपान्तरणलगायतका क्षेत्रहरूमा समेत मानव जातिले सयौं वर्ष लगाएर हासिल गरेका उपलब्धिहरू नेपालमा एक दशकभित्रै हासिल गर्ने अठोट नेकपा (एमाले)ले लिएको छ । यो राष्ट्रिय अठोट पूरा गरिछाड्नका लागि भिजन, नीति र कार्यक्रमसहितको विस्तृत घोषणापत्र यहाँहरूसमक्ष हामीले प्रस्ताव गरिसकेका छौं ।

४. हाम्रा गाउँ नगरमा सताब्दीयौंदेखि ब्याप्त बेरोजगारी, गरिबी, विपन्नता, अभाव, कूप्रथा, कुसंस्कार, असमानता र कमजोर मनोबलको अन्त्य गर्ने सङ्कल्प नेकपा (एमाले)ले लिएको छ । नेकपा (एमाले) विकास, सुशासन र मानव सुखका दृष्टिले नेपाललाई विश्वकै सर्वश्रेष्ठ देश बनाउन चाहन्छ । हामीले देश र जनताको निरन्तर सेवालाई आफ्नो प्रमुख कर्तव्य ठान्दछौं । हाम्रा लागि नेपाल, नेपाली जनता र नेपालको अत्याधुनिक विकासभन्दा माथि केही छैन । एमाले यही आदर्शमा समर्पित थियो, छ र हुनेछ । त्यसैले हाम्रो मूल ध्येय ‘समृद्ध नेपाल, सुखी नेपाली’ हो । यो राष्ट्रिय ध्येयलाई साकार पार्नका निमित्त अवलम्बन गर्नुपर्ने नीति तथा कार्यक्रमहरूका बारेमा मैले विभिन्न अवसरमा यहाँहरू समक्ष आफ्ना धारणाहरू राख्दै आएको छु ।

५. राष्ट्रिय गन्तव्य तय गरेर सङ्कल्पसाथ अघि बढेमा मात्रै त्यसलाई साकार पार्न सकिन्छ । त्यसका लागि भिजन र त्यो भिजन बोक्ने व्यापक, सुदृढ, अनुशासित र गतिशील सङ्गठन चाहिन्छ । त्यस्तो सङ्गठनले मात्र गन्तव्य साकार पार्नका लागि शुरू भएको यात्रामा आउनसक्ने चुनौतीको डटेर सामना गर्न सक्दछ । राष्ट्रिय सङ्कल्पको कार्यान्वयन गर्न र कार्यान्वयनलाई निरन्तरता दिन देशमा एउटा भिजनरी र कृतसङ्कल्पित राष्ट्रिय शक्ति आवश्यक पर्दछ । त्यस्तो राष्ट्रिय शक्ति र त्यसरूपमा तीब्र गति एवम् उत्साहका साथ विकास गर्नसक्ने राजनीतिक दल नेकपा (एमाले) बाहेक अरू कुनै देखिंदैन ।

६. एमालेमा मात्रै राष्ट्रिय आँट, सङ्कल्प र आत्मविश्वास छ । हामी आम नेपाली जनतालाई यस उद्देश्यका लागि गोलबद्ध बनाउन सक्छौं, राष्ट्रिय परिवर्तन र रूपान्तरणको महाअभियानमा विश्वासका साथ अघि बढाउन सक्छौं । राष्ट्रिय हितहरूको पक्षपोषण गर्न, तिनको दृढ प्रतिरक्षा गर्न र गुमेका चिजहरू पुनः प्राप्त गर्नसक्ने सामथ्र्यवान्, भरपर्दो र जिम्मेवार राष्ट्रिय शक्ति एमाले नै हो ।

७. हामी नेपाललाई राष्ट्रिय स्वाभिमानसहितको दरिलो एवम् गर्बिलो राष्ट्र बनाउन चाहन्छौं, त्यो एमाले बिना सम्भव छैन । कुनै दल विशेषलाई पराजित गर्नु एमालेका लागि प्राथमिक चासोको विषय होइन, हाम्रो मुख्य ध्येय त नेपालको विकास गर्ने हो, नेपालीको इज्जत र प्रतिष्ठा बढाउने हो, नेपालको सार्वभौमसत्ता र अखण्डतालाई अक्षुण्ण राख्ने हो । नेकपा (एमाले)को यस महाअभियानलाई पूर्ण सफल बनाउन आम नेपाली दिदीबहिनी तथा दाजुभाइहरूबाट यस निर्वाचनमा अझ बढी साथ, समर्थन र सहयोग प्राप्त हुनेमा म विश्वस्त छु ।

८. नेकपा (एमाले) लोकतन्त्रको आधारभूत मूल्य मान्यता, बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणाली, आवधिक निर्वाचन, शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण, स्वतन्त्र न्यायालय, मौलिक हक र मानव अधिकारप्रति प्रतिबद्ध छ । संविधानवादको अभ्यास गर्दा हामी सदासर्वदा नेपाली जनताको पक्षमा उभिने छौं ।

९. हामी नेपालको जातीय, भाषिक, धार्मिक, साँस्कृतिक तथा भौगोलिक विविधतालाई राष्ट्रिय सम्पदा ठान्दछौं, यसमा गौरव गर्दछौं, यसलाई आत्मसात गर्दछौं । त्यतिमात्र होइन, हामी नेपाली समाजमा समानता र सहिष्णुतामा आधारित सद्भावको विकास गर्दछौं, साम्प्रदायिक विद्वेष हटाउँदछौं । सामाजिक सद्भावलाई राष्ट्रिय एकतामा रूपान्तरण गर्दछौं । राष्ट्रिय एकतालाई मजबूत बनाउँदछौं, यसका आधारमा राष्ट्रिय शक्ति निर्माण गर्दछौं ।

१०. राष्ट्रिय एकतालाई कमजोर पार्ने, कुनै नाम वा बहानामा अखण्डतालाई अपमान गर्ने र देशभक्तिलाई होच्याउने कुरा नेकपा (एमाले) कुनै हालतमा स्वीकार्दैन । विविधतायुक्त नेपाली समाजमा सामाजिक सद्भाव, न्याय र समतामूलक व्यवहार कायम गरी राष्ट्रिय एकता मजबूत राख्ने क्षमता एमालेमा नै छ ।

११. अन्य राजनीतिक दलहरू अनिश्चयबाट ग्रसित र विवस भएको स्वयम् दलहरूले सार्वजनिक गरिरहेका छन् । एमालेमात्रै मजबूत राजनीतिक दल हो । नेकपा (एमाले) नेपालको सार्वभौसत्ता र अखण्डतालाई अक्षुण्ण राख्नका लागि, गणतन्त्र स्थापनाका लागि, परिपूर्ण लोकतन्त्रको निर्वाध अभ्यास र विकासका लागि, जनताको मौलिक अधिकार र आधारभूत स्वतन्त्रताको बहालीका लागि, नेपाली समाजको परिवर्तन र रूपान्तरणका लागि, नेपाली जनताको समृद्धिका लागि र नेपालको सम्मान तथा इज्जत निरन्तर बढाउनका लागि स्थापना भएको राजनीतिक दल हो । स्थापनाकालदेखि आजसम्म निरन्तर स्पष्टताका साथ यिनै आदर्शमा नेकपा (एमाले) अडिग छ, अटल छ ।

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू 

१२. नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकताको सशक्त पहरेदारी गर्ने सामथ्र्य नेकपा (एमाले)मा मात्र छ भन्ने यथार्थ नेपालको नयाँ नक्सा प्रकाशन र संविधान संशोधनबाट सबैका सामुु थप स्पष्ट भइसकेको छ । राजनीतिक स्थिरता र स्थायित्वका लागि सर्वाधिक जनआधार भएको लोकप्रिय राजनीतिक दल नेकपा (एमाले) नै हो । नेकाँलागायतका केही दलहरुको अनिच्छाका बाबजुद स्थानीय स्वायत्त शासन ऐन– ०५५ तर्जुमा गर्न र स्थानीय तहलाई स्वायत्त अङ्गको रुपमा क्रियाशील गराउन संविधान निर्माणको समयमा नेतृत्व एमालेले नै गरेको थियो । स्थानीय तहलाई अधिकार सम्पन्न बनाई जनताको घर आँगनको सरकारको रुपमा स्थापित पनि यसैले गरेको हो ।

१३. विकास र सुशासनलाई तीब्र गतिमा अघि बढाउने भिजन, नीति र कार्यक्रम एमालेसँग मात्रै छ । एमालेको सरकार गठन नभई देश विकासको युगमा प्रवेश गर्नै नसक्ने ऐतिहासिक तथ्यहरूले समेत प्रष्ट पारिसकेका छन् ।

१४. व्यापक जनसमर्थन, जनविश्वास र जनताको अमूल्य मतबाट सरकारको नेतृत्व सम्हाल्ने जनादेश पाएको नेकपा (एमाले)को सरकारले उत्पादन र उत्पादकत्व बृद्धि, भौतिक पूर्वाधार निर्माण, व्यापक रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवामा गुणात्मक सुधार, सामाजिक न्याय, सुशासन, अन्तर्राष्ट्रिय सम्बन्ध तथा नेपाल र नेपालीको सम्मान अभिबृद्धिका क्षेत्रमा स्पष्ट भिजन, योजना, कार्यक्रम, परियोजना र सुधारका अभियानहरूको कार्यान्वयन गरिरहेको थियो । स्थानीय तह, प्रदेश र संघबीच उचित समन्वय एवम् सहकार्य गर्दै संविधानको प्रभावकारी कार्यान्वयन गर्दै थियौं ।

१५. यसैबीचमा नेपाली काँग्रेसको षड्यन्त्रले चरम् उत्कर्ष लियो । काँग्रेसले सुशासन र विकासको मार्गमा तीब्र गतिमा अघि बढिरहेको देशलाई व्यवधान खडा गरेर यथास्थितिमा राख्न र पछाडि फर्काउनका लागि राष्ट्रियता, लोकतन्त्र र जनताप्रतिको कर्तव्यबोधमा कमजोर रहेका तत्वहरूलाई खोज्ने र त्यस्ताको साथ सहयोग लिएर राजनीति र देश हितका सन्दर्भमा उल्टो बाटो समात्यो । काँग्रेसले राजीतिक दलको आधारभूत मर्ममाथि प्रहार गर्यो । संसदीय मूल्य र मान्यतालाई नै कुल्चियो । संसद्ले सरकार निर्माण गर्ने संसदीय शासन प्रणालीको आदर्शको उपहास गर्यो । संसद्लाई राजनीतिक निर्णयको थलो हुन नदिई बन्धक बनायो । स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्यायो ।

१६. संविधानको रक्षा गर्न, जनअधिकारको संरक्षण गर्न र देशलाई थप षड्यन्त्रको चक्रब्यूहबाट जोगाउन लोकतन्त्रप्रति प्रतिबद्ध नेकपा (एमाले) सरकारका सामु अन्य विकल्प थिएनन्, रहेनन् । फलस्वरूप, जनादेशका लागि जनतामाझ जाने निष्कर्षमा हामी पुग्यौं । तर अदालतको परमादेशले सरकार बदलियो । सार्वभौम नेपाली जनताको आफ्नो सरकार जनादेशबाट निर्माण गर्ने आधारभूत संवैधानिक अधिकारमाथि कुठाराघात भयो । विकास निर्माण, सुशासन, सामाजिक परिवर्तन र रूपान्तरणको युगान्तकारी विकास अभियान फेरि एकपटक अवरूद्ध हुनपुग्यो ।

१७. चरम् पदीय स्वार्थ, अहङ्कार, कुण्ठा र इष्र्या राखेर संविधानको आधारभूत मर्ममाथि गरिएको यो प्रहारलाई सार्वभौम नेपाली जनताकै आदेशबाट परास्त गर्न सकिन्छ भन्ने विश्वासका साथ हामी सार्वभौम नेपाली जनतासमक्ष आएका छौं ।

१८. संविधानको सफल कार्यान्वयका लागि, नेपाली जनताको सार्वभौम अधिकार र राष्ट्रिय अखण्डता एवम् एकताको रक्षाका लागि, ‘समृद्ध नेपाल, सुखी नेपाली’को महान् राष्ट्रिय आकाङ्क्षा साकार पार्नका लागि, संघ र प्रदेशको निर्वाचन सुनिश्चित गर्दै नेकपा (एमाले)को नेतृत्वमा सबै तहमा सरकार निर्माण गर्ने आधार तयार गर्नका लागि यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी नेकपा (एमाले)का उम्मेदवारहरूलाई विजयी बनाइदिनुहुन आम नेपाली आदरणीय मतदाताहरूसमक्ष हार्दिक अपिल गर्दछु ।

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू 

१९. बहुदलीय शासन व्यवस्थाको स्थापनापश्चातको करिव ३२ वर्षको अवधिमा नेकपा (एमाले)ले करिब ७ वर्ष आफ्नै नेतृत्वको सरकार र करिव ३ वर्ष संयुक्त सरकारमा सहभागी भई जम्मा करिब १० वर्ष सरकारमा रहने अवसर पाएको छ भने नेपाली काँग्रेसले करिब २० वर्ष आफ्नै नेतृत्वको सरकार र करिब ७ वर्ष संयुक्त सरकारमा सहभागी भई करिब २७ वर्ष सरकारमा रहेको ईतिहास छ ।

२०. नेकपा (एमाले) करिब १० वर्ष सरकारमा रहँदा कृषि र औद्योगिक क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि, भौतिक पूर्वाधार निर्माण, व्यापक रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवामा गुणात्मक सुधार, सामाजिक न्याय, सुशासन, अन्तर्राष्ट्रिय सम्बन्ध तथा नेपाल र नेपालीको सम्मान अभिबृद्धिका क्षेत्रमा अभूतपूर्व र साहसिक सोच एवम् भिजन, योजना, कार्यक्रम, परियोजना र सुधारका अभियानहरूको कार्यान्वयन आत्मविश्वासका साथ आरम्भ गर्यो ।

२१. नेकपा (एमाले) सरकारमा रहँदा एक दशकसम्म औषत चार प्रतिशतमा रहेको आर्थिक बृद्धिदरलाई छ दशमलब पाँच प्रतिशतभन्दा माथि पु¥याउँदै आर्थिक बृद्धिदरलाई दोहोरो अङ्कमा पुर्याउने उच्च लक्ष्यका साथ विकास निर्माणका योजनाहरू कार्यान्वयन गर्दै थियो । उद्योग व्यवसाय संचालन गर्न आन्तरिक तथा बाह्य लगानीका लागि अनुकूल वातावरण विकसित हुँदै गएको थियो । सुख्खा बन्दरगाह, विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्रामहरूको निर्माण अभियान थालेर मुलुकलाई औद्योगीकरणको मार्गमा तीब्र गतिमा अग्रसर गराइएको थियो ।

२२. कृषि उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने, निर्यात बृद्धि गर्ने र कृषकलाई सम्पन्न बनाउने उच्च आकाङ्क्षाका साथ हामीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना देशव्यापीरूपमा कार्यान्वयनमा ल्यायौं । देशलाई कृषि उत्पादनको सम्भाव्यताका आधारमा पकेट, ब्लक, जोन र सुपरजोनमा बर्गीकरण गरी परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिक, व्यवसायिक र सम्मानित कृषि प्रणालीमा रूपान्तरण गर्ने अभियान थाल्यौं ।

२३. कृषि र उद्योग क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा राज्यका सबै सामथ्र्य परिचालन गरेका थियौं । आयात घट्दै थियो, निर्यात बढ्दै थियो, व्यापार घाटा न्यून हुँदै थियो, अर्थतन्त्र सबल बन्दै थियो, नेपाल दक्षिण एसियाको उदीयमान आर्थिक केन्द्रका रूपमा विकसित हुँदै थियो, हामीले नेपाललाई एसियन इकानोमीसँग आबद्ध गर्दै विश्व अर्थतन्त्रसँग बलियो सम्बन्ध बनाउँदै नेपालको सम्पन्नताको परिचय दिन आर्थिक हैसियत बढाउँदै थियौं ।

२४. राष्ट्रिय राजमार्गहरू र रणनीतिक राजमार्गहरूलाई कम्तिमा चार लेनमा विस्तार गर्ने, आधुनिक डिजाइनका सुरूङ मार्गहरू निर्माण गर्ने, सबै स्थानीय तहका सदरमुकाम र वडा केन्द्रसम्म पक्की सडक पु¥याउने, पूर्व–पश्चिम विद्युतीय रेलमार्ग एवम् उत्तर–दक्षिण रेलमार्ग निर्माण थाल्ने, सबै महानगरहरूमा मोनोरेल संचालन गर्नेलगायतका योजनाहरू क्रमशः आरम्भ गरी अत्याधुनिक सुरक्षित सडक, सुरूङ मार्ग र रेलमार्गको युगतर्फ देशलाई लग्दै थियौं ।

२५. कोशी, गण्डकी र कर्णालीमा क्रुज संचालनलाई प्रोत्साहन ग¥यौं । छिमेकी मित्रराष्ट्रहरू भारत र चीनसँग सामुन्द्रिक बन्दरगाह प्रयोगका लागि र आन्तरिक जलमार्ग (इनल्याण्ड वाटरवेज्)बाट समुन्द्रसम्म पहुँच प्राप्त गर्नका सम्झौता गर्नुका साथै समुन्द्रमा नेपालको राष्ट्रिय ध्वजावाहक पानीजहाज संचालन गरी भूपरिवेष्ठित नेपालको सामुन्द्रिक पहुँचको अधिकार उपभोग गर्न आवश्यक पूर्वाधार विकासमा हामी प्रयत्नशील थियौं ।

२६. स्पेशमा आफ्नै स्याटेलाइट स्थापनाको अधिकार सुरक्षित गरी सूचना तथा संचार प्रविधिमा असाधारण सुधार ल्याउने आयोजना प्रारम्भ गर्दै थियौं । नेपालको इतिहासमा पहिलो पटक न्यानो स्याटलाइट अन्तरीक्षमा प्रक्षेपण ग¥यौं । डिजिटल नेपालको विस्तृत कार्यक्रम कार्यान्वयनमा आइसकेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अत्याधुनिक सूचना तथा संचार प्रविधियुक्त विशेष कक्ष निर्माण गरी राष्ट्रिय महत्वका ठूला आयोजनाहरूको प्रत्यक्ष अनुगमन गर्न र प्रदेश तथा स्थानीय सरकारसँग प्रत्यक्ष अन्तक्र्रिया गर्ने प्रणाली कार्यान्वयनमा ल्याउन सफल भएका थियौं ।

२७. नेकपा (एमाले)को सरकारले देशलाई ऊर्जा संकटको स्थितिबाट लोडसेडिङ्ग मुक्त बनायो । हामी तीब्र गतिमा विद्युत उत्पादन गरी छिमेकी मित्रराष्ट्रहरू भारत, चीन र बङ्गलादेशतर्फ विद्युत निर्यात गर्न अन्तरदेशीय विद्युत प्रसारण लाइनहरू निर्माण गर्न शुरू गर्दै थियौं ।

२८. प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा योजना, सबै बालबालिकालाई गुणात्मक शिक्षा, निरोगी नेपाल, स्वास्थ्य बीमा कार्यक्रम, सबै पालिकामा कम्तिमा १५ शैय्याको अस्पताल निर्माण, अस्पतालहरूको स्तरोन्नति, कडा रोगको निःशुल्क उपचार र आधारभूत औषधीहरू निःशुल्क उपलब्ध गराउने कार्यक्रम, बाल विकास कार्यक्रम, दिवा खाजा कार्यक्रम, आदिवासी, जनजाति, दलित र मानव विकास सूचकाङ्कमा पछि परेका परिवारका विद्यार्थीहरूलाई नर्सिङलगायतका प्राविधिक शिक्षा र उच्च शिक्षासमेत निःशुल्क उपलब्ध गराउने कार्यक्रम र छात्राहरूलाई स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउने कार्यक्रमहरू प्रभावकारी ढङ्गले कार्यान्वयनमा ल्याइएको थियो ।

२९. जनता आवास कार्यक्रम, जनताको तटबन्ध कार्यक्रम, फुसको छानालाई जस्तापाताले विस्थापन गर्ने कार्यक्रम, एकीकृत बस्ती विकास कार्यक्रम, तराई–मधेश समृद्धि कार्यक्रम, स्थानीय पूर्वाधार विकास कार्यक्रम, सघन सहरी कार्यक्रम, समृद्धिका लागि वन कार्यक्रम र अर्गानिक नेपाललगायतका बृहत् रूपान्तरणकारी योजना तथा कार्यक्रमहरू निर्धारित लक्ष्य र सम्पन्न हुने समय एवम् अपेक्षित परिणामसमेत तोकी कार्यान्वयनलाई तीब्रता दिइएको थियो ।

३० विनासकारी भूूकम्पपछि उद्धार, उपचार, राहत र पुनःस्थापनाको लागि ५०औं हजार स्वयंसेवक परिचालन गरी नेकपा (एमाले)ले यसको नेतृत्व ग¥यो । एक महिना सञ्चालित त्यो स्वयम्सेवामा २७ हजार २ सय ७६ अस्थायी निजी आवास तयार गरी हस्तान्तरण गरियो । हामीले २२ हजार भग्नावशेष सफा गर्यौं र १ हजार ३ सय अस्थायी विद्यालय भवन निर्माण गर्यौं ।

३१ भूूकम्पपछिको पुनर्निर्माणको समग्र योजना नेकपा (एमाले) नेतृत्वको सरकारले बनायो । आन्तरिक र बाह्य स्रोत परिचालन गरी तोकिएकै अवधिमा पुनर्निर्माणमा उदाहरणीय सफलता हासिल गर्यो । करिब ८ लाख पीडित परिवारलाई सुरक्षित आवास उपलब्ध गराइयो । अझ राम्रो, अझै बलियो पुनर्निर्माणको योजनासहित क्षतिग्रस्त हजारौं विद्यालय भवन, अस्पताल एवं स्वास्थ्य संस्थाहरु र सरकारी कार्यालयको पुनर्निर्माण गरियो । परम्परा झल्कने, आधुनिकता टल्कने किसिमले साँस्कृतिक सम्पदाको पुननिर्माण कार्य अघि बढाइयो ।

३२ तुइनबाट ज्यानको जोखिम उठाएर नदी तर्नुपर्ने दर्दनाक अवस्थालाई हटाउन सबै तुइनलाई सम्भाव्यताका आधारमा झोलुङ्गे तथा पक्की पुलले विस्थापन गर्ने कार्यक्रम सम्पन्न गरियो ।

३३ विपन्न बर्गलाई प्राथमिकता दिएर जीवनचक्रमा आधारित स्वास्थ्य सेवा उपलब्ध गराउने कार्य प्रारम्भ गरियो । असहाय, अनाथ बालबालिकालगायतका व्यक्तिहरूको उद्धार, उपचार तथा पुनःस्थापनाको कार्यक्रम संचालनमा ल्याई सडकलाई मगन्तेरहित बनाइयो । विकट स्थानका प्रसव पीडामा परेका गर्भवती महिलाहरूलाई हेलिकप्टरबाट उद्धार गरी सुविधा सम्पन्न अस्पतालबाट प्रसूती सेवा उपलब्ध गराउने कार्यक्रम संचालनमा ल्याइयो ।

३४. हामीले अचानक आइलागेको कोभिड महामारीको स्थानीय तह र प्रदेशको सहकार्यमा प्रभावकारी ढङ्गले सामना ग¥यौं । यसको जानकारी सार्वजनिक हुनासाथ उच्च स्वास्थ्य सतर्कता अपनायौं । त्यतिखेर चीनमा अध्ययनरत विद्यार्थीहरुलाई विमान चार्टर गरी उद्दार गर्यौं । कोभिडको नियन्त्रण, रोकथाम र उपचारका लागि आइसोलेशन, क्वारेन्टिन, औषधी र खोपको निःशुल्क प्रबन्ध गर्यौं । अग्रभागमा खट्ने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीसहित अन्य जनशक्तिका लागि १८ अर्ब रुपियाँ बराबरको कोरोना बीमासमेत गर्यौं । दक्षिण एशियामा भारतपछिको पहिलो मुलुकको रुपमा निःशुल्क खोपको प्रबन्ध पनि हामीले नै ग¥यौं ।

३५. यसरी हाम्रा समग्र कामले राष्ट्रको विभिन्न पक्षमा मनोबललाई उच्च बनाउने काम ग¥यो । भूूकम्पले रंगशाला भत्किएको बेला, अभ्यास गर्ने स्थानको समेत अभाव रहेको बेला, मुलुकले प्रबन्ध गरेको सीमित सुविधाको भरमा पनि हाम्रा युवा खेलाडीहरुले उच्च मनोवल प्रदर्शित गरे । फलस्वरुप १२औं दक्षिण एशियाली खेलकुदमा ३ वटा मात्र स्वर्ण पदकमा सीमित हामी, १३औं दक्षिण एशियाली खेलकूदमा आइपुग्दा ५१ स्वर्ण पदकसहित दोस्रो बिजेता बन्न सफल भयौं । आधुनिक रंगशालाहरुको निर्माण तथा सुधार कार्यलाई तीब्र गतिमा अघि बढायौं ।

३६. राज्यका स्रोत गाउँ नगर तहसम्म सोझै हस्तान्तरण गरी स्थानीय विकास निर्माणको नायकत्व गाउँ नगर तहलाई नै दिने कार्यक्रमका साथै ज्येष्ठ नागरिक, एकल महिला, विधवाहरूलाई राज्यका तर्फबाट भत्ता उपलब्ध गराउने कार्यक्रमहरू कार्यान्वयनमा ल्याइयो ।

३७. नेपालको संविधानको प्रभावकारी कार्यान्वयन प्रारम्भ गरी संघीय लोकतान्त्रिक गणतन्त्रको लाभ आम नेपालीसमक्ष पु¥याउन आरम्भ गर्यौं । संविधान कार्यान्वयनका लागि आवश्यक सयौं कानूनहरूको तर्जूमा गर्नुका साथै संविधानसँग मेल नखाने सयौं कानूनहरू खारेज गर्यौं । मिलेमतोमा राजश्व माफी दिने कर फछ्र्यौटसम्बन्धी कानून खारेज गर्यौं । मानव सभ्यताको कलङ्क एवम् बर्बर हिंसाको रुपमा रहेको एसिड आक्रमणलाई निर्मूल पार्न आवश्यक कानूनी व्यवस्था गर्यौं । वित्तीय संघीयताको अभ्यास गर्दै स्थानीय तहलाई समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान उपलब्ध गराउन शुरू गर्यौं ।

३८. छिमेकी मित्रराष्ट्रहरू, अन्य मित्रराष्ट्रहरू र बहुपक्षीय अन्तर्राष्ट्रिय संस्थाहरूसँग नेपालको सम्बन्धलाई अझ सौहाद्र बनाउँदै नेपालको सर्वाधिक हितमा विकसित गर्दै थियौं ।

३९. यसरी नेकपा (एमाले) करिब १० वर्ष सरकारमा रहँदा नेपालको इतिहासमा पहिलो पटक मुलुकको समग्र विकास निर्माण, सामाजिक सुरक्षा, परिवर्तन र रूपान्तरण, राष्ट्रिय सामथ्र्य र प्रतिष्ठाको अभिबृद्धिलगायतका क्षेत्रमा युगान्तकारी एवम् गौरवपूर्ण उपलब्धिहरू हासिल भएको थियो ।

४०. नेपाली काँग्रेस २७ वर्ष सरकारमा रहँदा संसद्मा आफ्नै सरकारको वार्षिक नीति तथा कार्यक्रम फेल गर्ने, आफ्नै सरकारविरूद्ध अविश्वास प्रस्ताव पेश गर्ने, बिना कारण अन्य दलका सरकारविरूद्ध अविश्वासको प्रस्ताव पेश गर्ने, सांसदलाई विदेशसमेत लगी बन्धक बनाउने, संविधानबमोजिम ताजा जनादेशमा जाने सरकारको निर्णयउपर मुद्दा मामिला गर्न पटक–पटक अदालत जाने, महाभियोगको डर, त्रास देखाई अदालतको स्वतन्त्रता हनन् गर्ने, संसद् भङ्ग गरी राजालाई सत्ता सुम्पिने, संसद्बाट निर्वाचित प्रधानमन्त्रीको पद त्याग गरी राजाबाट नियुक्त प्रधानमन्त्रीको पद खाने, देश–जनता–राजनीतिलाई चरम् अन्धकारमा धकेल्न सशस्त्र द्वन्द्वलाई मार्गप्रशस्त गर्ने, निजामती सेवा नै खल्बलिने गरी निजामती कर्मचारीलाई बर्खास्त गर्ने, राष्ट्र बैंकका गभर्नर निलम्बन गर्ने, प्रहरी संगठनमा प्रचलित ऐन नियमको दायरा उल्लंघन गर्दै नियुक्ती र बढुवा गरी सुरक्षा संगठनलाई तहसनहस पार्ने, आधारभूत वस्तु उत्पादन गर्ने सरकारी उद्योगहरूलाई निजीकरणको बहानामा कौडीको मूल्यमा बेची राष्ट्रिय सम्पत्ति दोहन गर्ने, कर फछ्र्यौटको बहानामा सरकारलाई तिर्नु÷बुझाउनुपर्ने एकीन भइसकेको राजश्व मिलेमतोमा छूट माफी गरी देश र जनताको सम्पत्ति÷राजश्व खाने, परिवारका सदस्य र नातेदारहरूको मिलेमतोमा योजना रचेर निर्धक्क भ्रष्टाचार गर्ने, प्रहरी प्रशासन र सम्पूर्ण राज्य संयन्त्रको दुरूपयोग गरी सत्ताभोग गर्नेलगायतका देश र जनताविरोधी कार्यहरू नेपाली काँग्रेसको सरकारले गरेको इतिहास छ ।

४१. काँग्रेस शासनकालमा आर्थिक बृद्धि, कृषि, उद्योग, व्यापार–व्यवसायको विकासलाई तीब्र गति दिन, बेरोजगारी, अभाव, गरीबी, विपन्नताको अन्त्य गरी देशलाई समृद्ध बनाउनका लागि देश र जनताकेन्द्रित कुनै सोंच, नीति र कार्यक्रम थिएनन्, छैनन्, हुँदैनन् पनि । काँग्रेसकालमा आधुनिक भौतिक पूर्वाधार विकासका कुनै योजना न शुरू भए, न त सम्पन्न नै भए । शिक्षा र स्वास्थ्य क्षेत्रमा राज्यको भूमिकालाई अत्यन्त कमजोर बनाइयो, सामाजिक सुरक्षा र लोककल्याणप्रति निरन्तर उदासिनता देखाइयो । महिला, दलित, अपाङ्ग, जनजाति, आदिवासी, मानव सूचकाङ्कमा पछिपरेका भौगोलिक क्षेत्र र वासिन्दाहरूको उत्थानका लागि कुनै कार्यक्रम आएनन्, घरबारविहीन सुकुम्बासीहरूका लागि कुनै सम्बोधन भएन, सुकुम्वासीलाई लालपूर्जा वितरण गर्ने अवस्थामा पुगेको सुकुम्बासी समस्या समाधान आयोग पटक–पटक खारेज गरियो । ज्येष्ठ नागरिक, एकल महिला, बालबालिकाहरूको हित र कल्याणमा कुनै ध्यान दिइएन, समाजमा व्याप्त कुरिती, कुप्रथाहरू हटाई सामाजिक परिवर्तन, रूपान्तरण र सशक्तीकरणका कुुनै कार्यक्रमहरू काँग्रेस सरकारमा रहँदा सोच्दा पनि सोचिएनन् ।

४२. नेपाली काँग्रेस देश र जनताको विकास तथा समृद्धिका लागि आफू नीति कार्यक्रम ल्याउँदैन, विकास निर्माण र जनहितका लागि स्रोत–साधन छैन, अहिले केही पनि गर्न सकिंदैन, गर्न पनि हुँदैन, अझ आधुनिक विकास निर्माणतर्फ त देशलाई लग्नै हुँदैन, यो काँग्रेस सरकारको विगतदेखिकै घोषित मान्यता हो । हालै जारी भएको काँग्रेसको घोषणा–पत्रले पनि यसको पुष्टि गर्दछ । अचम्म त के लाग्दछ भने नेकपा (एमाले)ले ल्याएका नीति, कार्यक्रम र आयोजनाहरूलाई काँग्रेस मजाक र गफ भन्दछ । देशको समृद्धि र जनताको सुखलाई काँग्रेस कोरा सपना र उल्टो विकास भन्छ । ठिकै पनि हो, उसका लागि त सुल्टो भनेको, परिवार, नातेदार, गूट र अवसरवादीको हित र सत्ताभोग नै हो । काँग्रेस देशलाई गरीबी, विपन्नता, अभाव, लघुताभास र अनिश्चयको दुष्चक्रमा राखेर जनतामाथि शासन गर्न चाहन्छ ।

४३. तर नेकपा (एमाले) विकासका चुनौतीलाई चुनौती दिएर विकास गर्छ । हरेक असम्भवलाई सम्भव बनाउँछ । आम नेपाली जनसमुदायको आवश्यकता पूरा गर्नेमात्र हैन, आकाँक्षा समेत पूरा गर्न चाहन्छ । नेपाललाई सर्वश्रेष्ठ देश र नेपाली समाजलाई समतामूलक एवम् उत्कृष्ट तथा नेपालीलाई सुखी बनाउने स्पष्ट योजनासहित काम गर्दछ । सामान्य विकासको कार्यमात्र गर्दैन, अत्याधुनिक, उत्कृष्ट विकासका लक्ष्यहरू हासिल गर्ने दृढतासहित कार्यान्वयनमा जान्छ । सबै नेपालीलाई विकसित देशका नागरिकले उपभोग गरेसरहको भौतिक तथा अन्य क्षेत्रका सेवा सुविधाहरू उपलब्ध गराउने अठोटका साथ योजना, कार्यक्रमहरू कार्यान्वयन गर्दछ ।

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू 

४४. हामी आर्थिक बृद्धिका प्रमुख संवाहक क्षेत्रहरूमा सरकारी, सहकारी र निजी क्षेत्रको लगानी केन्द्रित गर्दछौं । यी क्षेत्रमा सरकारी, सहकारी र निजी क्षेत्रलाई प्रमुखताका साथ लगानी बढाउन अनुकूल वातावरण बनाउँदछौं । तीनखम्बे नीतिका आधारमा राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, गतिशील र प्रतिस्पर्धी बनाउने छौं । आन्तरिक र बाह्य लगानी प्रवद्र्धनमा जोड दिन निजी क्षेत्रको विकासलाई प्राथमिकता दिनेछौं । म निजी क्षेत्रका उद्योगी, व्यवसायी तथा लगानीकर्ता साथीहरूलाई आश्वस्त पार्न चाहन्छु, हामी निजी क्षेत्रका समस्या समाधान गर्नेछौं । निजी क्षेत्रका अवसरहरूलाई साकार पार्न मार्गप्रशस्त गर्नेछौं, तपाइँहरूको अभिभावक हुनेछौं । हामी नेकाँ र माकेले जस्तो देश र जनतालाई पिरोल्दैनौं, विश्वासघात गर्दैनौं ।

४५. हामीले राज्यका सबै क्षेत्र, आयाम र सामथ्र्यको उच्चतम् सदुपयोग हुने वातावरण सुनिश्चित गर्नेछौं । लोकतान्त्रिक मूल्य मान्यतामा चल्ने राज्यलाई अनावश्यक र अनुचित ढङ्गले भूमिकाविहीन र निरीह बनाउने अभ्यासलाई हामी उपयुक्त ठान्दैनौं । नेकपा (एमाले) जनताको हितका लागि राज्यको भूमिका प्रभावकारी बनाउन चाहन्छ ।

४६. दक्ष श्रमिक, उचित काम, कामको सम्मान, उपयुक्त पारिश्रमिक, स्वरोजगार र सामाजिक संरक्षणसहितको श्रम व्यवस्थापनलाई नेकपा (एमाले)ले सर्वाधिक प्राथमिकतामा राख्नेछ ।

४७. जीवनको प्रारम्भदेखि उत्तरार्धसम्मका सबै चरणहरूमा नेपालीलाई राज्यका तर्फबाट सेवा, सुविधा, सहयोग र संरक्षण दिन शुरू गर्ने पहिलो सरकार नेकपा (एमाले)को सरकार नै हो । यसमा हामी गर्ब गर्दछौं । गर्भवती महिलाको हेरचाह, बालबालिकाहरूको स्याहार र शिक्षा, युवाका लागि अवसर, प्रोत्साहन र रोजगारी, एकल महिला, विपन्न, अपाङ्ग, अशक्त, बेसहारा र अलपत्र व्यक्तिहरूका लागि सामाजिक सुरक्षा, संरक्षण र सबलीकरण तथा ज्येष्ठ नागरिकहरूका लागि स्वास्थ्योपचार, सामाजिक सुरक्षा र सम्मानलगायतका लोककल्याणकारी कार्यक्रमहरू हामीले नै ल्याएका हौं । आगामी दिनहरूमा विगतका अनुभवको समेत आधारमा अझ उन्नतस्तरका सामाजिक सुरक्षाका कार्यक्रमहरू हामी ल्याउने छौं ।

४८. अन्य राजनीतिक दलहरूले नेपालको विकासका लागि जुन–जुन अवस्था र विषयलाई समस्या, अवरोध र चुनौती मानेका छन्, नेकपा (एमाले) ती अवस्था र विषयमा अवसरै–अवसर देख्दछ । नेपालको विकासका सम्बन्धमा व्याख्या गरिने कठिनाइलाई हामी पर्यटन क्षेत्रको विकासका माध्यमबाट स्रोतमा बदल्न चाहन्छौं । यसका लागि हामीसँग भिजन र कार्यक्रम छ । हामी पर्यटन क्षेत्रलाई नेपालको राष्ट्रिय ढुकुटीका रूपमा विकास गर्नेछौं ।

४९. हाम्रा पुरातात्विक, धार्मिक, साँस्कृतिक र ऐतिहासिक महत्वका रहस्यमय सम्पदाहरू, हाम्रा चमत्कारिक भौगोलिक बनौट र विविधताहरू, हाम्रा अद्वितीय पर्यावरण, प्रकृति र जैविक विविधताको दृश्यावलोकन गर्न, अनुभव गर्न र अध्ययन–खोज गर्न समेतका लागि संसारभरबाट पर्यटक ल्याउनेछौं । संसारको शिखर चुम्नमात्र होइन, गौतम बुद्धको शान्तिको दर्शन बुझ्न र अवलम्बन गर्नसमेत पर्यटक ल्याउने आकर्षक अभियानहरू हामी थाल्नेछौं ।

५०. नेकपा (एमाले)ले अवलम्बन गर्ने शिक्षा नीतिले सबै नेपालीलाई देशभक्त, भविष्यप्रति आशावान्, सभ्य, सुसंस्कृत, योग्य, प्रतिस्पर्धी, उद्यमशील, सिर्जनशील र आत्मविश्वासी नागरिक बनाउनेछ । हामी हाम्रा बालबालिकाहरूलाई उपयुक्त शिक्षा दिएर ज्ञान र गुणवत्ताले युक्त आदर्शवान्, सामथ्र्यवान् र मर्यादित नागरिक बनाउँछौं । हामीले राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय अवसरका आधारमा विषय र क्षेत्रगत जनशक्ति विकास गर्नेछौं ।

५१. नेकपा (एमाले) आजको विकासमा मात्र रूचि राख्दैन, भावी सन्तती र धर्तीको भविष्यप्रति पनि एमाले उत्तिकै सचेत र जिम्मेवार छ । हामी वातावरण, इकोसिष्टम, प्राकृतिक स्रोत र मानवीय भावनाको रक्षा र सम्बद्र्धनप्रति अत्यन्तै सजग छौं । वातावरणीय एवम् पर्यावरणीय सुरक्षा र सन्तुलनको विषयमा जागरूक छौं ।

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू 

५२. अन्तर्राष्ट्रिय जगतमा नेपालको हित, स्वाभिमान, सम्मान र प्रतिष्ठा अभिबृद्धि गर्न नेकपा (एमाले)सँग सुविचारित, स्पष्ट र परिपक्व परराष्ट्र नीति छ । हामीले ठोस आकार दिएको वैदेशिक मामिला संचालन गर्ने नीति नै नेपालको सफल परराष्ट्र नीति हुनेमा कुनै द्विविधा छैन । हामी ‘सबैसँग छ मित्रता, छैन कसैसँग शत्रुता’ को नीति अवलम्बन गर्दछौं । नेकपा (एमाले) छिमेकी मित्रराष्ट्रहरूप्रति पूर्ण इमान्दार छ । हामी विश्वास र भरोसाको सम्बन्ध अझ बलियो बनाउन चाहन्छौं । नेपाली भूमि कसैका विरूद्ध प्रयोग हुन नदिने हाम्रो स्पष्ट अडान छ ।

५३. देश भूगोलमा सानो वा ठूलो हुनसक्छ, जनसंख्या धेरै वा थोरै हुनसक्छ, विकासको स्तरमा अघि–पछि हुनसक्छ, तर कुनै पनि राष्ट्रको सार्वभौमसत्ता सानो ठूलो हुँदैन । यही सार्वभौम र सर्वकालिक मान्यतालाई आत्मसात् गर्दै हामी सार्वभौम समानतामा विश्वास गर्दछौं, सार्वभौम समानताको नीति अवलम्बन गर्दछौं । वास्तविक अर्थ र मर्मका साथ आफ्नो देशको स्वाधिनता र स्वतन्त्रताको प्रयोग गर्दछौं । हामी पारस्परिक लाभ र सम्मानका आधारमा वैदेशिक मामिला संचालन गर्दछौं । कसैको आन्तरिक मामिलामा कुनै प्रकारको हस्तक्षेप हामीलाई अस्वीकार्य छ । कसैको पक्ष वा विरोधमा न्यायपूर्ण तटस्थतालाई हामी छोड्दैनौं ।

५४. हामी ठान्दछौं, राष्ट्रिय हितलाई केन्द्रमा राखेर नै सबै देशहरूले आ–आफ्ना वैदेशिक नीतिहरू संचालन गरेका हुन्छन् । यही मान्यताको मर्मअनुसार हामी राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय अधिकारहरूमा हाम्रो न्यायोचित हिस्साका लागि दाबी गर्दछौं र प्राप्त पनि गर्दछौं । यसो गरिरहँदा न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्व विर्सन नहुनेतर्फ हामी सजग छौं । हामी सङ्कीर्ण राष्ट्रवादमा होइन, यथार्थ, वास्तविक, न्यायोचित र फराकिलो राष्ट्रवादको पक्षमा छौं ।

५५. मानवताको उचाइमा उठेको हाम्रो विश्व मान्यता स्पष्टरूपमा विश्व शान्तिको पक्षमा छ, मानव जाति र धर्तीको सुरक्षाको पक्षमा छ । तनाव, अशान्ति र हिंसाको विरूद्धमा छ । हिंसाको माध्यम र निहुँहरूको विरूद्धमा छ ।

५६. कतै तनाव देखिए सम्वादद्वारा घटाइनु पर्दछ । द्वन्द्व र हिंसालाई त्यसमा हिंसा थपेर होइन शान्तिपूर्ण सम्वादका माध्यमबाट आवश्यक परे प्रभावकारी मध्यस्थताका माध्यमबाट सल्ट्याउनु पर्दछ भन्ने मान्यता हामी राख्दछौं । यसका लागि मुख्यतः संयुक्त राष्ट्रसंघ र अन्य द्विपक्षीय, त्रिपक्षीय, क्षेत्रीय, बहुपक्षीय, अन्तर्राष्ट्रिय संघ संस्था र मञ्चहरूको भूमिकालाई कर्मकाण्डी होइन प्रभावकारी बनाइनु पर्दछ । यसका निमित्त हामीले अविचलित ढङ्गले स्वतन्त्र, तटस्थ, असंलग्न र निष्पक्ष भूमिकामा आफूलाई प्रस्तुत गर्नुपर्दछ । यो नै हामीले ठोस आकार दिएको परराष्ट्र नीतिको अन्तर्वस्तु र मूल मर्म हो ।

५७. आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपाली काँग्रेसको सुविधामा आधारित परराष्ट्र नीतिले नेपाल र नेपालीको हित एवम् भावनामा कुठाराघात गर्दछ, नेपाल र नेपालीको हितभन्दा अन्य विषयहरूलाई प्राथमिकता दिन्छ । तसर्थ, राष्ट्रिय हितको संरक्षण र प्रबद्र्धन गर्न तथा अन्तर्राष्ट्रिय जगतमा प्रतिष्ठा आर्जन गर्न र नेपाललाई सफल राष्ट्र बनाउन तीनै तहमा नेकपा (एमाले)को सरकार आवश्यक भएको छ ।

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू 

५८. राणा, राजा र काँग्रेसको सरकारले देशको विकास र जनताको सुख समृद्धिका लागि कुनै योजना अगाडि बढाएनन् । सरकार कहिल्यै आधुनिकता र उत्कृष्टतातर्फ केन्द्रित रहेन । नेपाल जस्तो धर्तीको स्वर्गलाई संसारकै उत्कृष्ट राष्ट्र बनाउने अवसरलाई साकार पार्न कहिल्यै ध्यान दिएनन् । बरू देशलाई संसारकै गरीब देश, विपन्न देश, अभावग्रस्त देश, असमानताको देश बनाइराखे । म आदरणीय आम मतादाताहरूसँग आग्रह गर्न चाहन्छु, इतिहास हेरौं, निष्पक्ष समीक्षा र मूल्याङ्कन गरौं । ऐतिहासिक परीक्षण र भविष्यको सम्भावनाका आधारमा यहाँहरूले नेकपा (एमाले)लाई विजयी बनाउन सूर्य चिन्हमा मतदान गर्नुहुनेछ भन्ने विश्वास मैले लिएको छु ।

५९. काँग्रेस एमालेसँग कहिल्यै सहकार्य गर्न चाहँदैन, यस्तो सोच्नु पनि अपराध ठान्दछ । उसले राणाशाहीसँग सहकार्य गरेको इतिहास छ । नेपाली काँग्रेसले निरङ्कुश राजतन्त्रसँग आफ्नो घाँटी जोडिएको सार्वजनिक घोषणा गरेको सर्वविदितै छ । काँग्रेसकै नीति र अकर्मण्यताका कारण सशस्त्र द्वन्द्वका लागि मार्गप्रशस्त भएको यथार्थ हो । काँग्रेसले नै जनताको सत्ता राजालाई बुझाएको धेरै भएको छैन । अहिले पनि दक्षिणपन्थी, वामपन्थी अतिवाद र अवसरवादीहरूसँग घाँटी जोडेर गठबन्धन सरकार चलाएकै छ । ऊ जनादेशमा विश्वास गर्दैन । सकेसम्म मुद्दा मामिला, छलकपट, षड्यन्त्र र मिलावटबाटै सत्ताभोग गर्न चाहन्छ । आफूलाई लोकतान्त्रिक शक्ति भन्दै लोकतन्त्रको चरम् उपहास गर्दा पनि उसलाई लज्जाबोध हुँदैन । ऊ जनतामाथि विश्वास गर्दैन ।

६०. तर हामी नेकपा (एमाले)का लागि जनताभन्दा ठूला अरू कोही छैनन् । जनताको सेवा नै हाम्रो मुख्य ध्येय हो । हाम्रो शक्तिको स्रोत नै जनताको शक्ति हो । तसर्थ, हामी जनताका बीचमा रहन चाहन्छौं । जनादेशबाट मात्र जनताको सेवा गर्ने अवसरका लागि प्रयत्नशील रहन्छौं । जनताको आदेश मान्छौं । यसपटक पनि जनताबाट जनताको सेवा गर्ने अवसर हामीलाई प्राप्त हुनेमा विश्वस्त छौं ।

६१. राजतन्त्रको अन्त्य र गणतन्त्रको उदयका लागि, संविधानसभाको निर्वाचन तथा संविधान लेखन र जारी गर्नका लागि तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयन गर्नका लागि नेकपा (एमाले)ले साहसिक निर्णायक भूमिका खेलेको सर्वविदितै छ । यसक्रममा काँग्रेसको आन्तरिक घेराबन्दी मात्र होइन, नाकाबन्दीसम्म व्यहोर्नुप¥यो । तर, सार्वभौम नेपाली जनताको अभूतपूर्व साथ र समर्थनबाट राष्ट्रिय जिम्मेवारी पूरा गर्न तथा महान् शहीदहरूको बलिदानबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्न हामी सफल भयौं । राजनीतिक उपलब्धिहरूलाई दिगो बनाउँदै समग्र विकासलाई तीब्र गति दिन एमाले थप ऊर्जाका साथ अघि बढिरहेको बेलामा काँग्रेसले पुनः जनादेशमाथि प्रहार गरेको छ । नेपाली काँग्रेस फेरि एकपटक नेपाल र नेपालीको विकास, स्थिरता र स्थायित्वका लागि अवरोध बनेर उपस्थित भएको छ, यसलाई पन्छाउन जरूरी भएको छ ।

६२. म आम नेपाली मतदाता दिदीबहिनी तथा दाजुभाइहरूसँग हार्दिक आग्रह गर्न चाहन्छु, यहाँहरूको आशीर्वादका लागि अनुरोध गर्न चाहन्छु । अब कम्तिमा दुई अवधि (पाँच–पाँच वर्ष) को निर्वाचनमा स्थानीय तह, प्रदेश र संघीय संसद्मा नेकपा (एमाले)लाई अत्याधिक बहुमतले विजयी बनाई नेपालको विकास र नेपालीको सुखको चीर प्रतिक्षित आकाङ्क्षा पूरा गर्न र देशमा स्थिरता र स्थायित्व कायम गर्नका लागि आदरणीय मतदाताहरू समक्ष साथ, समर्थन र सहयोगका लागि हार्दिक आग्रह गर्दछु । गठबन्धन बनाउनका लागि जनताको मत चाहिँदैन, जनताको मत त नेपालको विकास र समृद्धिको सुनौलो युग ल्याउनका लागि चाहिन्छ । त्यो युग नेकपा (एमाले)ले शुरू गरिसकेको छ र अबको पाँच वर्षमा सम्पन्न गर्दछ । अर्को पाँच वर्षमा हामी प्राप्त उपलब्धिलाई दिगो बनाई थप उत्कृष्ट र नवीन बनाउने सुनिश्चित गर्दछौं ।

६३. काँग्रेसलाई मतदान गर्ने धारणा बनाउनुभएका मतदाताहरूलाई समेत म आग्रह गर्न चाहन्छु, यसपटक नेपालको विकासका लागि, तपाइँहरूको जीवनमा सुख समृद्धि ल्याउनका लागि र तपाइँहरूका सन्ततीको स्वर्णिम भविष्य सुनिश्चित गर्नका लागि आउनुहोस्, निर्धक्कका साथ सूर्य चिन्हमा मतदान गरौं ।

६४. नयाँ मतदाताहरूलाई म आग्रह गर्न चाहन्छु, हामी तपाइँहरूको जीवनस्तरलाई विकसित देशका नागरिकको भन्दा कम हुन दिने छैनौं । तपाइँहरूको क्षमता विकास गरी तपाइँहरूलाई अद्वितीय उपलब्धी हासिल गर्नसक्ने प्रतिस्पर्धी, क्षमतायुक्त, सम्मानित र आदर्शवान् नागरिक बनाउने भिजन र कार्यक्रम एमालेसँग छ । तसर्थ, आउनुहोस्, जीवनको पहिलो मतदान सूर्य चिन्हमा गरौं र विकासको नयाँ युगमा प्रवेश गरौं ।

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू 

६५. नेकपा (एमाले)ले स्थानीय तहलाई लोकतन्त्र, विकास, निर्माण र आर्थिक बृद्धिको बलियो आधारस्तम्भ बनाउन चाहेको छ, जनसेवा प्रवाहको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ, सुशासनको नमूना बनाउने उद्देश्य राखेको छ । स्थानीय तहलाई राष्ट्रियता, सामाजिक सद्भाव र सरकारप्रतिको जनविश्वासको प्रबर्धकको रूपमा विकास गर्न एमाले प्रतिबद्ध छ । स्थानीय स्रोत–साधनको पहिचान, संरक्षण, विकास र उपयोगको प्रस्थानबिन्दु बनाउने अठोट एमालेले लिएको छ ।

६६. नेकपा (एमाले)ले स्थानीय तहलाई विकास र सामाजिक चेतना अभिबृद्धिको अभियन्ता बनाउनेछ । सबै पालिकालाई सामाजिक न्याय र समानताका लागि रूपान्तरणको संवाहकका रूपमा विकास गर्नेछ । नेकपा (एमाले)ले विकास, निर्माण र सेवा प्रवाहको कार्यान्वयनमा स्थानीय तहको नायकत्व विकास गर्नेछ । हामीले लोकतन्त्रलाई जीवन पद्धतीका रूपमा अवलम्बन गर्ने आधारस्तम्भको रूपमा स्थानीय तहलाई विकास गर्नेछौं ।

६७. म पुनः आम नेपाली दिदीबहिनी तथा दाजुभाइहरू समक्ष यही २०७९ साल वैशाख ३० गते हुनगइरहेको स्थानीय तहको निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी नेकपा (एमाले)का उम्मेद्वारहरूलाई अत्याधिक मतले विजयी गराइदिनहुन अपिल गर्दछु ।
धन्यवाद !

केपी शर्मा ओली
अध्यक्ष, नेकपा (एमाले)
२५ वैशाख २०७९
 

 

Logo