स्थानीयले भत्काए निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको बार

चितवन । केही स्थानीय चितवनमा निर्माणाधिन ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला’को बार भत्काएका छन् । रंगशालाको पश्चिमतर्फ सडक निर्माणको लागि जग्गा छाड्नुपर्ने माग गर्दै आएका प्रकाश कँडेल लगायतका स्थानीयले डोजर लगाएर करिब एक किलोमिटर बार भत्काएका हुन् ।

उनीहरुले जस्तापाताले लगाएको बार भत्काइदिएका साथै धुर्मुस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्कीसमेत दिएका थिए । नेकपाका स्थानीय नेतासमेत रहेका कँडेल, धुर्मुस–सुन्तली फाउण्डेसनको साइट कार्यालयका घरबेटी सुरेन्द्र विकसहितका व्यक्तिहरुले जस्ताको बार भत्काएका हुन् । उनीहरुले रंगशाला निर्माणको लागि लगाइएको जस्ताको बार मात्रै नभई कृषि तथा वनविज्ञान विश्वविद्यालयले लगाएको तारको जालीसमेत भत्काएका हुन् । त्यस वरपरका रुखहरू ढलाएका छन् ।

उनीहरुले बार भत्काउन थालेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । साइटकै सुरक्षामा खटिएका दुई जना प्रहरीले खिचेको फोटो समेत डिलिट गर्न धम्की दिएका थिए । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा १६ जनालाई पक्राउ गरेको छ । मुख्य व्यक्ति भनिएका कँडेल भने फरार छन् । उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

बार भत्काउन प्रयोग गरिएको डोजर पनि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दुर्गा रेग्मीले जानकारी दिए । रंगशाला निर्माणको पश्चिमतर्फ सडक निर्माणका लागि फाउण्डेसनले जग्गा छाड्नुपर्ने माग उनीहरुको माग छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले भोगचलन गर्दै आएको जग्गाबाट सडक बनाउनुपर्ने माग उनीहरुको छ ।

चार दिनअघि यस विषयमा स्थानीयसँग फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले छलफल गरेका थिए । छलफलमा रंगशालाको पूरा डीपीआर आएपछि कति सडक छाड्ने भन्ने बारेमा निर्यौक्ल हुने भएकोले तत्काल काम गर्न दिन अनुरोध गरेका थिए । स्थानीयका लागि मात्रै होइन रंगशालाका लागि समेत सडक चाहिने भएकोले करिब १० मिटर जग्गा सडकका लागि छाड्ने विश्वास धुर्मुसले दिलाएका थिए ।

अहिले सो क्षेत्रमा ७ मिटर फराकिलो सडक छ । स्थानीयले समेत केही मिटर छाडेर बाटो खोल्ने सहमति भएको ४ दिनपछि केही व्यक्तिहरुको उक्साहटमा जस्ताको बार भत्काइएको फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलको भनाई छ ।

पहिला सामानको सुरक्षाको लागि बार लगाउनुहोस भन्ने र अहिले आएर लगाएको बार डोजर लगाएर भत्काउने काम गरेको धुर्मुसको भनाई छ । त्यहाँका केही स्थानीय ठेकेदारले आफूहरुसँग निर्माण सामाग्री लिनुपर्ने, केही प्रतिशत स्थानीयलाई कमिसन दिनुपर्ने माग गर्दै साइट कार्यालयमा गई धम्की दिने गरेका छन् ।

तिनै धम्की दिने व्यक्तिहरुले नै डोजर लगाएर बार भत्काएको फाउण्डेसनका एक कर्मचारीले बताए । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले अराजक व्यक्तिहरुको भीडले रंगशाला निर्माणस्थलमा गराएको घटनालाई गम्भीर रुपमा लिएको बताइन् । घटनामा संलग्नलाई तुुरुन्तै पक्राउ गरी कारबाही गर्न प्रहरीलाई आग्रह गरिएको मेयर दाहालको भनाई छ ।