एमालेको झुटसँग जनताको खुसी साट्न नसकेर उम्मेदवारी दिएँ: धनराज आचार्य (मेयर उम्मेदवार, पोखरा)

एमालेको झुटसँग जनताको खुसी साट्न नसकेर उम्मेदवारी दिएँ: धनराज आचार्य (मेयर उम्मेदवार, पोखरा)


स्थानीय तहको निर्वाचन आउन अब ५ दिनमात्रै बाँकी छ। देशभर भएका ६ वटा महानगरसहित प्रमुख मानिएका स्थानीय तहमा पार्टीहरुले ध्यान केन्द्रित गरेका छन् । पाँचदलीय गठबन्धनले दैनिकजसो चुनावीसभा गरिरहेको छ भने एमालेले पनि विभिन्न स्थानमा सभा गरिरहेको छ । गठबन्धन दल आवद्ध सबै दल आफ्ना उम्मेदवारलाई जिताउन लागिपरेका छन् । गठबन्धनले चुनावी तालमेल गरेको एउटा महानगर हो, पोखरा । 

जसमा नेकपा एकीकृत समाजवादीले मेयरमा उम्मेदवारी दिएको छ । एकीकृत समाजवादीका धनराज आचार्य गठबन्धनका तर्फबाट पोखरा महानगरको मेयरमा उम्मेदवार छन् । आचार्य २०५१ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति बनेका थिए । पछिल्लो समय उनी समाजवादी पार्टीको जिल्ला संयोजक हुन् । उनी चुनावमा पूर्वसहकर्मी एमालेका उम्मेदवार कृष्ण थापासँग भिड्दैछन् । कुनै बेला नजिकका साथी रहेका उनीहरुलाई राजनीतिक आस्थाले फरक धारमा ल्याएको हो । आफ्नो भागमा परेको एकमात्र महानगरमा जित हासिल गर्न एकीकृत समाजवादी हरसम्भव प्रयास गरिरहेको छ भने एमाले पनि गठबन्धनविरुद्ध शानदार जितको खोजीमा छ । उनै आचार्यसँग निर्वाचनका सन्दर्भमा केन्द्रबिन्दुकर्मी ज्ञानु घिमिरेले गरेको कुराकानी प्रस्तुत छ । 

निर्वाचन आउन ५ दिन बाँकी छ घरदैलो अभियान सक्नु भयो ? 

हामी निरन्तररुपमा गठबन्धन बनाएर घरदैलो अभियानमा छौं । वडाहरुमा अध्यक्षसहितका उम्मेदवारलाई भेटिरहेका छौं । सँगसँगै जनताको घर घर पनि गइरहेका छौं। ठूलो महानगर भएकाले सबै जनताको घरमा पुग्न सम्भव छैन । हामी टोल टोलमा लगभग पुगिसकेका छौं । 

समाजवादीबाट मेयरको टिकट पाउनु भएको छ । तपाईं यसलाई अवसरको रुपमा लिनु हुन्छ कि चुनौती ? 

मेरो लामो राजनीतिक इतिहास भएपनि मैले पार्टीको जिम्मेवारी पदमा बसेको थिइनँ । एमाले विभाजन भएपछि देशको रक्षा गर्नका लागि मैले पार्टीको जिम्मेवारी लिएँ । मेरा मित्र स्वर्गीय रवीन्द्र अधिकारीले देखाएको बाटोमा म पार्टी र देशका लागि पोखराको  भविष्य कोर्न उठेको हुँ । मेरा साथीभाई तथा गठबन्धनले मलाई चुन्नु भएको हो । मेरो काम तथा इमान्दारिता देखेर उहाँहरुले मलाई साथ दिनु भएको छ । आजसम्म पद र टिकटको लागि कहिल्यै अपिल गरिनँ । तर अब मैले मेरा साथीभाई र पार्टी अनि गठबन्धनको निर्णय मानिनँ भने अन्यायपूर्ण हुने भएकाले मैले उम्मेदवारी दिएको हुँ । जनताको विशेष गरेर पोखरावासीको जनजीवन सुधार गर्ने मेरो अबको प्रमुख  जिम्मेवारी हो ।  

तपाईं त एमालेको पुरानो कार्यकर्ता हुनुहुन्छ । एमालेले यतै आउ मेयर दिन्छु भनेन् ?  

मलाई अफर आएको हो तर म पद र शक्तिका पछि नलाग्ने देश र जनताको सेवा गर्ने मान्छे भएकाले एमालेको झुटसँग जनताको खुसी साट्न सकिनँ र गइनँ । 

तपाईंको उम्मेदवारीप्रति कांग्रेसका स्थानीय नेता कार्यकर्ताले गम्भीर आपत्ति जनाएका थिए । अहिले उहाँहरुको साथ सहयोग कस्तो छ ? 

कांग्रेस पार्टी ठूलो भएकाले आकांक्षा उहाँहरुमा हुनु स्वाभाविक हो । उहाँहरुले मेरो विरोध गर्नु भएको होइन, पार्टीको सभापति सामु आफ्ना कुरा राख्नुभएको हो । यो केन्द्रीय नेताहरूले गरेको गठबन्धनको निर्णय हो । उहाँहरु खुसी हुनुहुन्छ। उहाँहरुले नै मेरो साथमा हुनुहुन्छ । मलाई जिताउन उहाँहरु आतुर हुनुहुन्छ । हाम्रो गठबन्धनमा उत्साहपूर्ण वातावरण भएको छ । 

गठबन्धनमा रहेका पार्टीका तर्फबाट मेयरमा धनराज आचार्य र उपमेयरमा कोपिला रानाभाटलाई जिताउन पोखरेली साथीहरु जोडले जुट्नु भएको छ । हामीलाई गठबन्धनका साथीहरु र जनताले जसरी तपाईंहरु आएर पोखराको मुहार फेर्नुपर्छ भन्ने कुरा गर्नु हुन्छ । 

मत माग्न जाँदा गठबन्धनका कार्यकर्ताको सहयोग कस्तो छ ? 

हाम्रोमा गठबन्धनका साथीहरुमा जोश र जाँगर देखिएको छ। केही वडाहरुमा नमिलेको अवस्था थियो । अहिले उहाँहरु पनि सकारात्मक हुनुहुन्छ । मतपत्रमा समस्या हुन्छ कि भन्ने कुरा हो । गठबन्धनका सबै पार्टीको प्रतिष्ठाको विषय भएकाले सबैले साथ तथा माया दिनु भएको छ । ४ वटा वडामा केही समस्या थियो अहिले आन्तरिकरुपमा उहाँहरु पनि गठबन्धनको पक्षमा हुनुहुन्छ । अन्य  वडामा त गठबन्धनको चोखो मत छ । जनलहर बढेको छ, एमालेका पुराना र पाका साथीहरु एकीकृत समाजवादीमा हुनुहुन्छ । हाम्रो पक्षमा १८ हजारभन्दा बढी मत आउनेवाला छ । 

एमालेका पूर्वमेयर कृष्ण थापासँगकोे प्रतिस्पर्धालाई कसरी हेरिरहनु भएको छ ? 

चुनाव हो, यसलाई हल्कारुपमा लिएर हिँड्ने कुरा भएन तर पाँचवटा दलको एउटै उम्मेदवार भएकाले हामी मेयर र उपमेयरलाई नै धेरै सहज छ । हामी नयाँ सोच, नयाँ जाँगर तथा भिजनका साथ आएको हुनाले जनता हामीसँग आकर्षित हुनुभएको छ । जनसमुदाय तथा सबैले राम्रो साथ दिनुभएको छ । हामी विजय हुने कुरामा कसैलाई शंका नै छैन । कृष्ण जी र मैले विद्यार्थी आन्दोलन र पार्टीमा पनि सँगै काम गरेका छौं । अहिले पार्टी फरक भयो । 

पोखरामा हुनुपर्ने पूर्वाधारका कार्यक्रमलाई  चुस्त दुरुस्त तरिकाले अघि बनाउनेछौं । सिंहदरबारको अधिकारलाई जनताको घरदैलोमा ल्याउन सक्छौं, सबैक्षेत्रमा जनतालाई सहभागी गराउँछौं र पोखरालाई साँच्चै सुन्दर, आधुनिक र स्मार्टसिटी बनाउँछौं । 

हामीले लोकतन्त्रको मर्म अनुरुप प्रतिस्पर्धा गरेका हौं । गठबन्धनको हाम्रो एजेण्डाप्रति जनता आकर्षित भएको हुनाले हामीलाई जिताउनुहुनेछ । हामी उहाँहरुभन्दा धेरै अगाडि छौं । एमालेको संगठित सदस्य पोखरामा १७–१८ हजार हो । अघिल्लो चुनावमा एमालेले ६५ हजार मत ल्याएको थियो । कांग्रेसका क्रियाशील सदस्य २० हजारभन्दा माथि हुनुहुन्छ । माओवादी केन्द्रका ९ हजारभन्दा माथि नै छन् । पोखरामा हाम्रो मात्र ५ हजार ७ सय संगठित सदस्य छन् । एमालेका धेरै साथीहरु पछिल्लो समय हाम्रो शरणमा आउनु भएको छ । मैले संगठित गरेकै साथीहरूको ठूलो सर्कल त्यहाँ छ । पाँचवटा दलले आफ्नो मत कायम राख्दै थप उत्साही मत हामीलाई आउने भएकाले अप्ठ्यारो छैन । त्यसकारण हामीसँग उहाँहरुलाई दाँज्नु खासै राम्रो नहोला । 

तपाईंलाई जनताले किन मत दिने ?  

यो कुरा प्रष्ट छ । पाँच वर्षमा पोखराको सिस्टम बिग्रिएको कुराहरुलाई मुल ट्रयाकमा ल्याउने छौं । सुव्यवस्थित पोखरा महानगर बनाउने हाम्रो उद्देश्य छ। त्यसका लागि जनताले हाम्रो गठबन्धनलाई भोट दिनु हुनेछ, स्वतन्त्र पोखरेलीहरूको हामीप्रतिको आकर्षण र विश्वास छ । साथीभाई, समाजप्रतिको उत्तरदायित्व र इमानदारी कमाएको छु। त्यही विश्वास र इमानदारीले मलाई महानगरको नेतृत्वमा पुर्याउनेछ । उपमेयरमा शालीन र राजनीतिलाई आस्थाको केन्द्र बनाउनुभएकी कोपिला रानाभाट हाम्रो उम्मेदवार हुनुहुन्छ । साँच्चै पोखरा बनाउने अठोट लिएका छौं । पोखराको पूर्ण विकासका निम्ति अगाडि बढेकाले हामीले पछि फर्कनु पर्ने अवस्था छैन । प्यानलसहित हामीलाई जनताले विश्वास गर्नु भएको छ । उहाँहरु खुसी हुनुहुन्छ । 

तपाईंको मुख्य एजेण्डा के हो ? 

हाम्रो पहिलो एजेण्डा सुशासन तथा जनताको हकलाई स्थानीय सरकारले महत्वपूर्ण मानेर उहाँहरुका गुनासा तथा सकारात्मक मागलाई मूलरुपमा व्यवस्थित गर्नेछौं । हामी अफिसको ड्युटीलाई जिम्मेवारपूर्ण पालना गर्ने वातावरण निर्माण गर्नेछौं । पोखरामा हुनुपर्ने पूर्वाधारका कार्यक्रमलाई  चुस्त दुरुस्त तरिकाले अघि बनाउनेछौं । सिंहदरबारको अधिकारलाई जनताको घरदैलोमा ल्याउन सक्छौं, सबैक्षेत्रमा जनतालाई सहभागी गराउँछौं र पोखरालाई साँच्चै सुन्दर, आधुनिक र स्मार्टसिटी बनाउँछौं । 

केन्द्र, प्रदेश तथा स्थानीय जनतासँग सहकार्य गरेर एउटा सुन्दर, सफा र आधुनिक महानगर बनाउनेछौं । हामीले गर्न सकिने कामलाई घोषणापत्रमा उल्लेख गरेका छौं । त्यसलाई पालना गर्नेछौं । युवा तथा वृद्धवृद्धाको सारथी बनेर हिँड्नेछौं । हाम्रो घोषणापत्रमा मानिसको जिन्दगीलाई सरल बनाउने, पोखरेलीको आर्थिक हैसियत माथि ल्याउने, प्रकृतिले दिएका पर्यावरणलाई नबिगारी विकास गर्ने खाका ल्याउँछौं । हाम्रा थुप्रै एजेण्डाहरु छन् । जुनलाई हामीले आफ्नो घोषणापत्रमा उतारेका छौं । 

भोट माग्न हिँड्दा तपाईंसँग युवा तथा वृद्धवृद्धाको अपेक्षा के रहन्छ ? 

हाम्रा मुल कार्यकर्ता भनेका युवा र वृद्धा वृद्धा हुन् । हामीले युवा स्वरोजगारीलाई महत्वका साथ हेरेका छौं । रोजगारीकै लागि विदेश जानुपर्ने स्थितिको अन्त्यका लागि टेक्निकल कामहरु संचालन गर्ने योजनामा छौं । हामीले महानगरमा गर्ने रोजगारीका लागि उपयुक्त बाटो निर्माण गर्नेछौं । वृद्धाहरुका लागि संरक्षण तथा आदरका कार्यहरु गर्नेछौं । उत्पादनसँग महानगरलाई जोड्न मुख्य खाकाहरु ल्याउनेछौं । आधुनिकीरण तथा कृषि कार्यका लागि हामीले गुरुयोजना बनाएर काम गर्नेछौं । 

पोखराका कुल मतदातामध्ये कति गठबन्धनको पक्षमा छन् ? 

यहाँको जम्मा मतदाता संख्या २ लाख ७ हजार हो । हाम्रो पक्षमा ७० देखि ७५ प्रतिशत मत खस्नेछ। हाम्रो पोजिसन राम्रो छ । हाम्रो पाँचवटा स्थापित पार्टीहरुका साथ भएको संस्था हो । साझा उम्मेदवार, साझा घोषणापत्र भएको हुनाले र पाँच वटा पार्टीको सफलता जोडिएको हुनाले हाम्रो पक्षमा सोचेको भन्दा धेरै जनलहर छ। 

गठबन्धनका कारण यो निर्वाचनमा मतपत्र बदर हुने सम्भावना छ, यसले असर गर्ला नि ? 

हामीले युवा परिचालन गरेका छौं । वृद्ध वृद्धाको मत परिवारका सदस्यले लगाउन पाउने कानुनी प्रकृया भएकाले यसले असर नगर्ला । मतपत्रमा कन्फ्युजन नहुन पहिलो छाप पहिलो कलममा, दोस्रो छाप दोस्रो रुखमा लगाउन युवा साथीहरुले नेतृत्व गरिरहनु भएको छ।

Logo