मझगाउँ विमानस्थल पुनः सुचारुका लागि स्थानीय आन्दोलित

महेन्द्रनगर । विगत दुई दशकदेखि बन्द रहेको मझगाउँ विमानस्थल पुनः सञ्चालनको माग गर्र्दै स्थानीय आन्दोलित भएका छन् । संघर्ष समिति गठन गरेर दवाव मुलक कार्यक्रम गर्दै आएका कञ्चनपुरबासी संघीय सरकारले बजेट बिनियोजित नगरेपछि आन्दोलित बनेका हुन् । उनीहरुले शुक्रबार बिहान महेन्द्रनगर बजारमा प्रर्दशन गर्दै सरकार १ मझगाउँ विमानस्थल सुचारुका लागि बजेट खोई ? भन्दै प्रश्न गरेका छन् ।

संघर्ष समितिको नेतृत्वमा महेन्द्रनगरको मदनचोकदेखि सुरु भएको र्‍याली बजार परिक्रमा गर्दै ट्राफिक चोक हुदै पुनः मदन चोकै पुगेर समापन गरिएको मझगाउँ विमानस्थल संघर्ष समितिका संयोजक रमेश चन्दले जानकारी दिए । संघिय सरकारले बजेट नछुट्याएपछि सांकेतिक दबाब मुलक कार्यक्रम गरिएको उनको भनाई छ ।

उनले विमानस्थल सञ्चालनका लागि आफूहरु प्रक्रियागत रुपमा अघि बढिरहेका बेला सरकारले बजेट विनियोजन नगरी कञ्चनपुरबासीमाथि अन्याय गरेको उनको भनाई छ । अहिले सुदूरपश्चिममा नियमित रुपमा सञ्चालन रहेको धनगढी विमानस्थल स्तर बृद्धिको लागि भन्दै एक महिना सम्म बन्द छ ।

अहिले सुदूरपश्चिम प्रदेश हवाई यात्रा बिहिन बनेको छ । हवाई यात्राका लागि नेपालगञ्ज पुग्नुपर्ने बाध्यता रहेको छ । असुरक्षाको कारण देखाउँदै सशस्त्र द्वन्द्वकालमा बन्द भएको मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि यस अघि पनि पटक–पटक संघर्षका कार्यक्रम भएका थिए।

त्यसले सार्थकता पाउन सकेको छैन्। जसले गर्दा विमानस्थल गौचरण र खेल मैदानमा परिणत भएको छ । अर्कोतिर विमानस्थलको जमिन अतिक्रमणको चपेटामा परिरहेको छ ।