नेकपा बहुमतका संयोजक बास्तोला ६ घण्टापछि रिहा

नेकपा बहुमतका संयोजक बास्तोला ६ घण्टापछि रिहा


बिहीबार विहान दाङबाट पक्राउ परेका नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बहुमतका संयोजक धर्मेन्द्र बास्तोला रिहा भएका छन् ।

प्रहरीले उनलाई बिहीबार बिहान ४ बजे दाङको भालुवाङबाट पक्राउ गरेको थियो । सुर्खेतस्थित घर जाँदै गरेका बास्तोलालाई भालुवाङमा प्रहरीले पक्राउ गरेर करिब ६ घण्टा थुनामा राखेर सोधपुछ गरेर छाडेको हो । उनी घर हुँदै शुक्रबार कोहलपुर पार्टीको आन्तरिक कार्यक्रममा सहभागी हुने तय भएको थियो । 

चुनावको विषयलाई लिएर नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबाट विभाजन भएर उनले केही दिनअघि नेकपा बहुमत पार्टी घोषणा गरेका थिए । 

बास्तोलाले निर्वाचन बहिस्कार गर्ने रणनीति बनाएका कारण मध्यनजर गरी उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बुधबार साँझ बुटवलमा प्रेसर कुकर बम विस्फोट भएपछि प्रहरीले थप सतर्कता अपनाएको थियो ।

नेकपा बहुमतका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश वलीले विज्ञप्ति जारी गर्दै बास्तोलालाई छाड्न माग गरेका थिए । उनले चुनाव बहिष्कार गर्ने आफूहरूको कुनै नीति नरहेको समेत स्पष्ट पारेको थिए।
साथै बुटवल घटनाको जिम्मा नेकपा माओवादीले लिइसकेको र त्यसमा आफ्नो सहभागिता नै नरहेको नेकपा बहुमतले दाबी गरेको छ । 

Logo