चर्चित उद्यमी प्रभाकर राणाको निधन

काठमाडौं । नेपालमा चर्चित व्यवसायी प्रभाकर समशेर राणाको निधन भएको छ । होटल तथा पर्यटन व्यवसायी राणाको ८४ वर्षको उमेरमा निधन भएको हो । उनको न्युयोर्कस्थित आराम तथा उपचार केन्द्रमा (रिहाव) बिहीबार बेलुका निधन भएको परिवारजनले जनाएका छन् ।

नेपालको पहिलो अन्तराष्ट्रिय स्तरको सोल्टी होटलका संस्थापक, अध्यक्ष र अन्तिमसम्म पनि त्यसका चेयरम्यान इमिरेटस रहेका राणा विगत एक वर्षदेखि अस्वस्थ थिए । उनी उपचारको लागि न्युयोर्कमा नै रहँदै आएका थिए । पटना विश्व विद्यालयबाट बिए अनर्सको डिग्री हासिल गरेका राणा अनेक राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुसँग आवद्ध थिए ।

नेपाल सरकारका तर्फबाट सुबिख्यात त्रिशक्ति पट्ट र प्रशिद्ध प्रबल गोरखा दक्षिण बाहुसहित उनले बेलायत सरकारबाट ‘अफिसर अफ द मोस्ट एक्सलेन्ट अर्डर अफ द ब्रिटिस इम्पायर’ पदक प्राप्त गरेका थिए ।

नेपालमा सोल्टी होटलसहित सूर्य इन्टरप्राइज, हिमालय गोड्रिक, सूर्य टोबाको, हिमाल इन्टरनेशलन पावर कर्पोरेशन लिमिटेट तथा सिप्रदी टे«डिङ जस्ता सफल कम्पनीहरुको स्थापना र नेतृत्व उनले गरेका थिए ।