नेकपा स्थायी कमिटी बैठक बस्नेदेखि भारत जानेको संख्या ह्वातै बढ्योसम्म (भिडियोसहित)

नेकपा स्थायी कमिटी बैठक बस्नेदेखि भारत जानेको संख्या ह्वातै बढ्योसम्म (भिडियोसहित)


काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये सत्ताधारी दल नेकपाको स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने भएको छ । गत साउन १३ गतेदेखि स्थगित हुँदै आएको स्थायी कमिटी बैठक शुक्रबार बस्न लागेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले स्थायी कमिटीको स्थगित बैठक भदौ २६ गते बोलाउने सहमति भएको जानकारी दिए ।

त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको कित्ताकाटमा विगत तीन वर्षदेखि लगाएको प्रतिवन्ध फुकुवा गरेको छ । २०७४ साउन २६ देखि तत्कालीन भूमि व्यवस्था मन्त्री गोपाल दहिदले कृषियोग्य भूमिको खण्डिकरण रोक्न कित्ताकाटमा प्रतिबन्ध लगाएका थिए । सो निर्देशनलाई भदौ १८ गते बसेको मन्त्रिस्तरीय बैठकले खारेज गर्दै सबै प्रकारको जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको भूमि व्यवस्था मन्त्रालयले जनाएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा पार्टीभित्र आन्तरिक विवाद चुलिँदै गएको छ । सभापति शेरबहादुर देउवाले आफूखुशी पार्टीका विभाग विस्तार गरिरहेको भन्दै इतर पक्षले असन्तुष्टि जनाउँदै आएका छन् । महाधिवेशनलाई प्रभावित गर्नेगरी सभापति देउवाले विभाग गठन गरिरहेको उनीहरुको आरोप छ ।

त्यस्तैगरी बीमा समितिको दबाबमा सुरु भएको कोरोना बीमा विवादमा परेको छ । निजी प्रयोगशालामा गरिएको कोरोना परीक्षण रिपोर्टका आधारमा कम्पनीहरूले दाबी भुक्तानी नदिएपछि कोरोना बीमा विवादमा परेको हो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भारतले लकडाउन गरेसँगै स्वदेश फर्किएका नेपालीहरु अहिले पुनः धमाधम भारत जान थालेका छन् । नेपाल र भारत दुबैतिर कोरोनाको संक्रमण बढ्दै गएपनि स्वदेशमा खान–बस्न नै समस्या हुन थालेपछि उनीहरू भारत जान बाध्य भएका हुन् । भारत जानेमध्ये कतिपयले आफू कार्यारत कम्पनीले बोलाएर र कतिपयले आफ्नै व्यापार व्यवसायलाई निरन्तरता दिन भारत फर्किएको बताएका छन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Logo