बामदेव भन्छन्, ‘अब प्रचण्डलाई प्रधानमन्त्री नबनाए पार्टी एकता बिथोलिन्छ’

प्यूठान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामेदव गौतमले तत्कालिन माओवादी केन्द्र र एमालेबीच भएको सहमति पालना गरिनुपर्ने बताएका छन् । पार्टी एकताको दौरात भएको सहमति कार्यान्वय हुनुपर्नेमा जोड दिएका हुन् ।

उक्त सहमतिमा सरकारको नेतृत्व आलोपालो गर्ने भनिएको छ । जसअनुसार अढाई वर्ष केपी ओलीले सरकारको नेतृत्व गर्ने र अढाई वर्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले नेतृत्व गर्नेछन् । नेता गौतमले सोही सहमति कार्यान्वयमा आउनुपर्नेमा जोड दिएका हुन् । उनले प्रचण्ड प्रधानमन्त्री नभए पार्टी एकता नै बिथोलिने चेतावनी दिए ।

प्रेस संगठन, प्यूठानले शुक्रबार गरेको पत्रकार भेटघाट कार्यक्रममा गौतमले भने, ‘ सहमति उल्लंघन गर्दा पार्टी एकता बिथोलिने भएकाले सहमति भएको हो, त्यो हुन्छ, कसैले उल्लंघन गर्दैन ।’

सरकार सञ्चालनका लागि नेकपाले ५ वर्षको म्यान्डेट पाएकाले अध्यक्षद्वयले आलोपालो सरकार चलाउनु पर्ने कि ओलीले अध्यक्ष पद छाड्नुपर्ने धारणा प्रचण्डले एक टेलिभिजन कार्यक्रममार्फत सार्वजनिक गरेका थिए ।

प्रचण्डको यस्तो भनाइपछि नेकपामा बहस सुरु भएको छ । यहि बेला गौतमले मुख खोल्दै प्रचण्डको समर्थन गरेका हुन् । जसले गर्दा फेरि नेकपाभित्र सत्ता परिवर्तनको खेल सुरु भएको छ ।