वाग्मतीमा बस खस्यो, संयोगवश टर्‍यो ठूलो दुर्घटना

वाग्मती नदीमा एक यात्रीवाहक बस दुर्घटना भएको छ । शुक्रबार सिन्धुलीको महेन्द्रझाडीबाट सर्लाहीतर्फ आउँदै गरेको ना३ख ६६४२ नम्बरको बस वाग्मतीमा खसेको हो ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–६ स्थित मोरंगेको उकालोबाट बस नदीमा खसेको हो । दुर्घटनामा बस चालक ३५ वर्षीय वीरु राईको मृत्यु भएको छ । मोरंगेको उकालो निकै ठाडो रहेकाले सबै यात्री झारेर चालकले बस उकाल्नेक्रममा दुर्घटना भएको हो । यात्रु ओरालिएकाले  ठूलो दुर्घटना टरेको स्थानीयले बताएका छन्।

उकालोको टुप्पोनजिक पुग्नेबेलामा ‘स्टार्ट’ बन्द भएपछि अनियन्त्रित भइ बस खोलामा खसेको हो ।