नेविसङ्घले बिपी जयन्ती मनाउने

नेविसङ्घले बिपी जयन्ती मनाउने


काठमाडौं ।

नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०७ औँ जन्मजयन्ती मनाउने भएको छ ।

नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज विज्ञप्ति जारी गरी जननायक बिपी कोइरालाको १०७ औँ जन्मजयन्ती भदौ २४ गते देशभर मनाउन नेविसङ्घ जिल्ला समितिलाई निर्देशन दिनु भएको हो । नेविसङ्घले बिपी जन्मजयन्तीका अवसरमा विभिन्न प्रविधिका माध्यमबाट कोइरालाको योगदान तथा व्यक्तित्व सम्बन्धमा गोष्ठी, छलफल गर्ने, वृक्षरोपण, रक्तदान, वृद्ध र बिरामीलाई फलफूल वितरण गरी मनाउन सबै जिल्ला समितिलाई परिपत्र गरेको छ ।

यस्तै नेविसङ्घले अविरल वर्षासँगै गएको बाढी, पहिरोका कारण विस्थापित भएका तथा लामो समयको बन्दाबन्दी र निषेधाज्ञाका कारण दैनिक जीवनयापन कष्टकर भएकालाई राहत तथा विभिन्न सहयोग गर्न आह्वानसमेत गरेको छ । अध्यक्ष ढुङ्गानाले सामाजिक दूरी कायम राखेर बिपीजयन्ती मनाउन सबै जिल्ला समितिलाई आग्रहसमेत गरेका छन् ।

Logo