कोरोना विरुद्ध साझा रणनीति बनाउन गरिएको सार्क राष्ट्रको भिडियो कन्फरेन्स के भयो ?

कोरोना विरुद्ध साझा रणनीति बनाउन गरिएको सार्क राष्ट्रको भिडियो कन्फरेन्स के भयो ?


काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएकोे कोरोना भाइरस अर्थात कोभिड–१९ विरुद्ध साझा रणनीति बनाउन दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रहरू बीच भिडियो कन्फरेन्स गरिएको थियो । भिडियो कन्फरेन्समा सबै राष्ट्रका प्रमुख र प्रतिनिधिहरुले कोरोना भाइरस विरुद्ध साझा रणनीति बनाएर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए । तर अहिले सार्क राष्ट्रका प्रतिनिधिहरु मिलेर कोरोना भाइरससँग लड्ने प्रतिवद्धतामा गुमनाम बनेका छन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फरेन्सका क्रममा कोरोना भाइरस नियन्त्रणका लागि सम्पूर्ण विश्व एकजुट भएर अगाडि बढ्नु पर्ने धारणा राखेका थिए । प्रधानमन्त्री ओलीले कोरोना संक्रमणका कारण विश्व अर्थतन्त्रमै गम्भीर समस्या देखा परेकोे भन्दै यसको संक्रमण रोकथाममा सार्कका सबै सदस्य राष्ट्र र सबै राष्ट्रले आ–आफ्नो क्षेत्रबाट सक्दो पहल गर्नु पर्ने बताए ।

त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको प्रकोपबाट डराउनुभन्दा एकजुट भएर सामना गर्नुपर्ने बताएका थिए । नेपालमा नगन्य मात्रामा कोरोना संक्रमण देखिँदा भारतमा कोरोना संक्रमणको दर उच्च रहेको थियो । विश्वभर कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न लकडाउनको घोषणा गरिएको थियो । भारत र नेपालमा पनि लकडाउन गरिएको थियो । लकडाउनका बेला जुनसुकै देशका नागरिक जुनसुकै देशमा भएपनि सोही देशको सरकारले हेरचाह गर्नु पर्ने विश्व स्वास्थ्य संगठनले मापदण्ड बनाएको थियो । तर भारतले संक्रमण बढी रहेको समयमा रेल सेवा सञ्चालनमा ल्याएर भारतमा रोजगारीका लागि गएका नेपाली नागरिकहरुलाई विना परीक्षण नेपाल पठाएको थियो । त्यतिबेला नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा भएका भारतीय नागरिकलाई पीसीआर परीक्षण गरी पठाए पनि भारत सरकारले नेपाली नागरिकलाई परीक्षण विना नै घर पठाउँदा देशभर संक्रमणको दर बढेको बताएका थिए ।

भिडियो कन्फरेन्सको सुरुआतमै सम्बोधन गरेका भारतीय प्रधानमन्त्री मोदीले सार्कमा १ सय ५० भन्दा कम संक्रमित देखिएको उल्लेख गर्दै भारतले कोरोना सम्बन्धी जागरुता अभियान चलाइरहेको बताएका थिए । साथै, कोरोना भाइरस रोकथामका लागि सार्क क्षेत्रमा एक करोड अमेरिकी डलरको कोष घोषणा समेत गरेका थिए । त्यसमा नेपालले पनि सक्दो सहयोग गर्ने घोषणा गरेको थियो । अहिले सार्क राष्ट्रहरुमा कोरोना संक्रमण दिन दुई गुणा रात चौगुणा बढेको छ ।

सार्क राष्ट्रहरुमध्येमा पनि भारतमा उच्च संक्रमण दर रहेको छ । यो समाचार तयार पार्दासम्मको तथ्याङलाई हेर्दा सार्क मुलुकमध्ये नेपालमा ३६.८ प्रतिशत, अफगानिस्तानमा १८.८, बंगलादेशमा ३१.४, भुटानमा ३४.२, भारतमा २१, माल्दिभ्समा ३२.२, श्रीलंकामा ६.३ र पाकिस्तानमा सबैभन्दा कम ३.१ सक्रिय संक्रमित रहेका छन् । मृत्युदर सबैभन्दा बढी अफगानिस्तानमा ३.७, पाकिस्तानमा २.१, बंगलादेशमा १.४, भारतमा १.७ छ भने नेपालमा ०.६ प्रतिशत रहेको छ । नेपालभन्दा कम मृत्यु दर हुनेमा भुटान, माल्दिभ्स र श्रीलंका रहेका छन् । नेपालमा कूल संक्रमितको संख्या ४६ हजार २ सय ५७ पुगेको छ भने निको हुनेको संख्या २८ हजार ९ सय ४१ पुगेको छ । साथै, भारतमा ४२ लाख ८ हजार ६ सय ४५ कूल संक्रमित रहेका छन् भने ७१ हजार ७ सय ११ जनाले ज्यान गुमाइसकेका छन् ।

त्यस्तैगरी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले कोरोना भाइरस विरुद्ध लड्न सार्क क्षेत्रमा छुट्टै संस्था निर्माण गर्न प्रस्ताव गरेकी थिइन् । उनले कोभिड–१९ सँगै अन्य भाइरस र जनस्वास्थ्य समस्या विरुद्ध लड्न दक्षिण एसियाली क्षेत्रमा एउटा संस्था निर्माण गर्नुपर्ने धारणा राखेकी थिइन् । साथै, माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले कोरोना भाइरससँग जुध्न बनाइने क्षेत्रीय रणनीतिमा दीर्घकालीन कार्यक्रम समेट्नु पर्ने बताएका थिए भने अफगानिस्तानका राष्ट्रपति असरफ गानीले चीनले प्राप्त गरेको सफलता उदाहरण बन्न सक्ने भन्दै आफ्ना लागि इरानसँगको खुला सीमा सबैभन्दा ठूलो चुनौती भएको बताएका थिए । उनले सीमा बन्द हुँदा खाद्यान्न, औषधि र आधारभूत आवश्यकताका सामग्री अभाव हुन सक्ने भएकाले अप्ठेरोमा परेको बताएका थिए । त्यस्तै भूटानका प्रधानमन्त्री लोटे छिरिङले सधैं एकै ठाउँमा हुनुपर्ने सामान्य आवश्यकता भएपनि विश्व एक विशेष रोगसँग लडिरहेका बेला झनै एकजुट हुनु अपरिहार्य रहेको बताएका थिए । उनले विभिन्न मुलुक बीच रहेका मत भिन्नतालाई केही समयका लागि थाती राख्नु पर्ने धारणा समेत राखेका थिए ।

पाकिस्तानका स्वास्थ्यमन्त्री जाफिर मिर्जाले विश्वका सबै देश यस भाइरस विरुद्ध उभिनुपर्ने धारणा राखेका थिए । साथै, उनले भाइरसबारे आरोप र प्रत्यारोप गर्न नहुने भन्दै भाइरस नियन्त्रण गर्न एक हुनुपर्ने धारणा राखेका थिए । तर अहिलेको अवस्थालाई हेर्दा सबै देश कोरोना भाइरसबाट आ–आफ्नै पाराले सघर्षरत छन् । केही देशले केही थान पीसीआर परीक्षण गर्ने किट दिनुबाहेक कसैले कसैलाई सहयोगको हात बढाएका छैनन् । सार्कका देशहरु साझा रुपमा लड्ने जस्तो महत्वाकाँक्षी योजना अगाडि बढाउने भारतीय प्रधानमन्त्री आफ्नै देशमा कोरोना भाइरस संक्रमण काबुमा राख्न सकिरहेका छैनन् भने नेपाल आफैमा रुमलिइ रहेको छ । श्रीलंका जस्ता देशहरु आफ्नो देशमा कोरोना भाइरस नियन्त्रण गर्न सफल भएपनि सार्क राष्ट्रमा पर्याप्त सहयोग गर्न सकि राखेका छैनन् । त्यसैले भारतीय प्रधानमन्त्री मोदी कोरोना भाइरसमा मिलेर अगाडि बढ्ने महत्वाकाँक्षी योजनामा पूर्ण असफल हुँदै गएका छन् ।

Logo