स्काउटको ‘प्रथम रोभर मुट’ कार्यक्रमको प्रधानमन्त्रीद्वारा उद्घाटन (लाइभ)

नेपाल स्काउटको प्रथम राष्ट्रिय रोभर मुट कार्यक्रमको आज प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरामा समुद्घाटन गरेका छन्। ‘समृद्धिका लागि सहकार्य’ भन्ने नारासहित आजबाट कार्यक्रम शुरु भएको हो। प्रधानमन्त्री ओली नेपाल स्काउटका संरक्षक समेत हुन् ।

युवायुवतीहरुको शारिरिक, बौद्धिक, सामाजिक तथा संवेगात्मक पक्षहरुको विकास गर्ने मुख्य उद्धेश्य राखिएको छ ।  कार्यक्रममा नेपालबाट ४ हजार ५ सय जना सहभागि हुनुका साथै भारत, ताइवान, बंगलादेश, फिलिपिन्स, जोर्डन, अमेरिका, बेलायत, मलेसिया, थाईल्याण्ड, इजिप्त, ताइवान, युगाण्डा, लग्जमवर्गलगायतका मुलुकहरुबाट ५ सय जना सहभागि छन् । कार्यक्रममा रोप क्लाईम्बिङ, ओमेगा जम्प, नेट क्रलिङ, ब्यालेन्सिङ बडी, स्विङ बोर्ड, रोप क्रसिङ, टाइगर जम्प, ब्याम्बो वाल्क, टायर वाल, आर्चरी, साईक्लिङलगायतका कार्यक्रमहरु आयोजना हुनेछन् ।

यसका साथै करियर काउन्सिलिङ, प्यानल डिस्कसन, युथ फोरम लगायतका कार्यक्रमहरु पनि हुनेछन् । ५ दिनसम्म चल्ने कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती समेत रहने जनाएको छ ।

७ प्रदेशका ७५३ स्थानीय तहका युवायुवतीहरुको सहभागिता रहने कार्यक्रम सफल बनाउन युवा तथा खेलकुदमन्त्री जगत बहादुर बिश्वकमाको संयोजकत्वमा २०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको थियो ।