गौतमबुद्ध क्रिकेट रंगशालाको काम सुचारु

स्थानीयको अबरोधपछि रोकिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम सुचारु भएको छ।

सरोकारवाला सबै पक्षकाे सहयोग तथा आगामी दिनमा त्यस्ता क्रियाकलाप दोहोरिन नदिने प्रतिबद्धतासँगै शनिबारबाट रंगशाला निर्माणकाे काम पुन:सुचारु भएको हो । शनिबार बिहान भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजीत’, सचिव एवम् प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल, नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ र विभिन्न टोल विकास संस्था तथा स्थानीयको उपस्थितिमा काम सुचारु गरिएको हो।

निर्माणाधिन रंगशालामा डाेजर चलाउँदा आफू राेएकाे बताउदै फाउण्डेसनका अध्यक्ष धुर्मुसले भने- ‘यदि मैले गलत र बनावटी कुरा गरेको भए म यही मैदानमा झुण्डिन तयार छु।’  उनले अहिलेसम्म फाउण्डेसनले इमान्दारितापूर्वक काम गर्दै आएको दाबी समेत गरे । भरतपुर महानगरकी मेयर दाहालले अन्तर्राष्ट्रिय रंगशाला बन्नु देशकै गौरवको विषय भएकोले निर्माण कार्यमा व्यवधान सिर्जना गर्न नहुने बताइन् ।

चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा डोजर चलाएर बारहरु भत्काएपछि काम रोकिएको थियो।

गौतमबुद्ध क्रिकेट रंगशालाको काम सुचारु