चरचरी चिरिएको छाती
"त्यो वार्तालाप सुन्दा आज छाती चिरियो चरचरी ।"

दिपिका भुसाल । 

‘सहोदर मामाले आफ्नै भान्जीलाई गरे बलात्कार’  केहिदिन देखी समाचारमा अत्यधिक आएको विषय हो यो । आफ्नै मामाद्वारा भाञ्जी बलात्कृत । झापाको यो समाचार सुनेदेखि नै मनमा एक किसिमको बेचैनीले डेरा जमाएको छ । अझ पीडितलाई घटना लुकाउन दिइएको दबाबको बारेमा सुन्दा मन त्यसै त्यसै विरक्तिएको छ।

त्यसमाथि पीडित बालिकाकी आमा वैदेशिक रोजगारीमा रहेको कुरा सुन्दा झन् पिडा भएको छ । पीडित बालीका र उनकी आमा बिचको वार्तालाप सुन्दा कतिसम्म दुबिधामा पार्छ मायाले मान्छेलाई भन्ने प्रस्ट हुन्छ । आफ्नै सहोदर भाइले आफैले जन्माएकी छोरीमाथि बलात्कार जस्तो जघन्य अपराध गरिसक्दा र छोरीले आमालाई फोन गरेर सुनाउँदा समेत ती आमाले ‘बाबु मामालाई नफसाउ है’ भनेको अडियो सुन्दा वैदेशिक रोजगारीमा रहेका दिदिबैनी र आमाहरूको मानसिक दुबिधा प्रस्ट बुझ्न सकिन्छ ।

एकातिर आफ्नै भाइले भाञ्जीले मलाई फसाउन खोजिन दिदी भनेर दु:ख देखाएको हुनसक्छ अर्कोतर्फ आफ्नै नावालिग छोरीले ‘मामाले ह्यारेस गर्नुभयो आमा’ भनेर आँसु बगाएको अवस्था छ । त्यो बेलामा परदेशमा त्यही सन्तानको भविष्य निर्माण गर्न रगत पसिना बगाई रहेकी आमाको दिमागमा कस्तो किसिमको परिवेश उत्पन्न भयो होला यो जो कसैले सहजै अनुमान गर्न सकिँदैन।

कतै छोरीले कसैको लहैलहैमा लागेर मामा लाई फसाउने चक्करमा आफै बदनाम त हुँदै छैन भन्ने यौटा बलियो शङ्का मनमा उब्जेको अवस्था हुनसक्छ अर्कोतर्फ भक्कानिएर रोएकी नावालिग छोरीको रुवाई सँगै ‘मलाई सुरुमै किन भनिनस् के तैँले..’ भनेर ती आमा भक्कानिएर रोईरहदा त्यो वार्तालाप सुन्ने जो कसैको पनि छाती चरचरी चिरिएर आउँछ, गला अवरुद्ध हुन्छ ।

जवाफमा  ‘मलाई कसैले सिकाएर मामालाई दोष लगाएकी होइन एक महिना देखी मामाले यस्तै गरिरहेका छन्’ भनेर पीडित बालीका भक्कानिएर रोएकी छन् । कुन परिस्थिति हो यो यौटी आमाको लागी । कस्तो धर्म सङ्कट आइपरेको यस्तो । आफैले सबैभन्दा धेरै माया गरेको सन्तान सबैभन्दा विश्वास गरेको र भर परेको आफ्नै भाइको जिम्मा लगाएर छोड्दा समेत सुरक्षित छैनन् । कति क्रूर हुँदै गइरहेको हाम्रो मानवता ? कति संबेदनहिन हुँदै गइरहेका हामीहरू ? कस्तो एक रत्ती पनि विश्वास वाकी नरहेको हाम्रो रगतमा ?

परदेशमा रहेकी ती आमा माथि परेको बज्रपात र उनको दिमागमा उब्जिएको दुबिधाले अर्को दुर्घटना ननिम्त्याउला भन्न सकिँदैन । त्यसमाथि उनले कमाएको केही धन समेत भाइकै जिम्मामा रहेको समेत हुन सक्छ । भाइ जेल गयो भने धेरै कुरा बिग्रने डरले समेत उनले छोरीलाई ‘म आयपछि मामा लाई मार्छु छोरी तर तिमीले पुलिसलाई केही नभन, मामालाई नफसाउन छोरी’ भन्ने कुरा आमाको मुखबाट निस्किएको हुन सक्छ ।

होइन भने अन्यायमा परेकी छोरीले न्याय पाओस् भन्ने कुन आमाले चाहन्न होलीन र ? मुख्य कुरा बलात्कारको हल्ला चलेपछी छोरीकै भविष्य अनिश्चित हुने भय एकातिर छ । आफ्नै भविष्यको टुङ्गो नभएकी यौटी आमाले छोरीको भविष्यको समेत चिन्ता लिनुपर्दा बरु गुपचुप यो कुरा मिलाउन सके दुनियाँको अवहेलना त सहनु पर्दैन भनेर हल्ला नगर्न दबाब दिएको हुनसक्छ । बलात्कार जस्तो जघन्य अपराधबाट पीडितलाई हाम्रो समाजले हेर्ने नजर र त्यसपछिको जीवनको भयावह अवस्था सम्झेर पनि ती आमाले छोरीलाई चुप लाग्न पो कर गरेकी हुन कि जस्तो, कस्तो कस्तो यो अवस्थालाई शब्दहरूमा व्यक्त गर्नै नसकिएजस्तो –कस्तो कस्तो धर्म सङ्कट जस्तो  ।

हुन त कानुनले अपराधीलाई उन्मुक्ति नदेला ।  ती नावालिगले कानुनले तोकेको  न्याय पाउलिन् तर यहाँ पीडित त अरुपनि छन् नि तिनीहरूलाई कसरी न्याय देला र समाजले ! पीडित कि आमा पीडक कि दिदी यौटै परिवार भित्रको यस्तो संवेदनशील घटनाले तहसनहस पारेको सिङ्गो परिवारले न्याय पाउनुपर्ने देखिन्छ । दोषी त एक जना पुरुष हो तर उसको श्रीमतीले अब जिन्दगीभर आफ्नो लोग्नेले गरेको गल्तीको अप्रत्यक्ष सजाय भोग्नु पर्ने छ समाजमा । प्रत्यक्ष पीडित  ती बालिका भए पनि त्यो पिडामा जिन्दगीभर छटपटिनुपर्ने छ एक जना आमालाई ।

आमाले छोरीलाई मामालाई नफसाउन गरिएको अनुरोधमा अरू पनि धेरै सामाजिक र मनोबैज्ञानिक कारणहरू होलान् तर ती आमा माथि आइपरेको अवस्था र उनमा देखिएको दुबिधा उनको बोलीमा झल्कियो । त्यो वार्तालाप सुन्दा आज छाती चिरियो चरचरी ।