यस्ता हुन सक्छन् कोरोनाले गुमाएको रोजगारीका विकल्पहरु

यस्ता हुन सक्छन् कोरोनाले गुमाएको रोजगारीका विकल्पहरु


  • विमल सुबेदी

हामीहरू माझ संसारभर एकै पटक आइपरेको  स्वास्थ्य  सङ्कटसँगै अब विश्वले गम्भीर आर्थिक सङ्कटको पनि एकै पटक सामना गरिरहेको छ । कोरोनाका कारण नेपालमा पनि सम्पूर्ण आर्थिक क्षेत्रहरू प्रभावित भएका छन् । नेपालमा कोरोनाकै कारण २२.५ प्रतिशत  निजी क्षेत्र र त्यो भन्दा धेरै अनौपचारिक क्षेत्रमा कार्यरत कामदारहरूले रोजगारी गुमाएको तथ्याङ्क राष्ट्र बैङ्कसँग छ ।

स्वदेशमा मात्र होइन वैदेशिक रोजगारमा गएका कामदारहरू पनि रोजगारी गुमेर घर फर्कनु पर्ने अवस्था आइपरेको छ । समग्रमा रोजगारीका प्रमुख गन्तव्य मानिएका खाडी मुलुकहरू तथा मलेसियाबाट मात्र पाँच लाख नेपालीले रोजगारी गुमाएको आङ्कलन गरिएको छ । छोटो समयमा सरकारले उद्धार उडानमार्फत स्वदेश फर्काएका अनुमानित पचास हजार  जति सङ्ख्या हेरेरै विदेशमा कुन अनुपातमा रोजगारी गुमाएका छन् नेपाली मजदुरले भन्ने कुरा अनुमान लगाउन सकिन्छ । नियमित उडान सुरु भयो भने  विदेशमा रोजगारी गुमाएका धेरै युवा एकै पटक नेपाल फर्कनेछन् । त्यसरी वैदेशिक रोजगारीबाट फर्केका युवाको सही व्यवस्थापन पनि हाम्रो लागि अर्को चुनौती हुनेछ ।

स्वदेशमा रोजगारीको अवसर नभएको र अनौपचारिक क्षेत्रमा समेत लकडाउन र निषेधाज्ञाको कारण श्रम कटौती भइरहेको अवस्थामा विदेशमा रोजगारी गुमाउँदै  घर फर्कने लाइनमा नेपाली जनता बस्नु पर्ने अवस्था आइपर्नु साथै हरेक वर्ष  पाँच लाख नयाँ युवा देशको श्रम बजारमा निस्कने अवस्थालाई आधार मान्ने हो भने देश भित्र बेरोजगारीको  समस्या भयावह बन्दैछ । वैदेशिक रोजगारीबाट सुधार उन्मुख भएको हाम्रो जीवनस्तर फेरि गरिबीको रेखा मुनी नपर्ला भन्न सक्ने अवस्था छैन ।

वैदेशिक रोजगारीले सुधारेको जीवनस्तरसँगै ओझेलमा परेको बेरोजगार जनशक्ति पुन: कृषि कर्ममा फर्कनु एक मात्र विकल्प हामीसँग रहेको छ । विदेशबाट फर्केका युवाले सबैभन्दा सजिलोसँग गर्न सक्ने त तत्काल दिन सकिने काम भनेको कृषि नै हो ।  सरकारले कृषिलाई ‘प्रविधि मैत्री’ बनाउने गरी  योजना ल्याउने हो भने शिक्षित युवापुस्तालाई समेत  कृषि क्षेत्रमा अड्याउन सक्ने सम्भावना रहन्छ  ।

तसर्थ सरकारले प्रविधि मैत्री कृषि, उत्पादनको बजारीकरण र कृषि कर्म गर्न चाहनेका लागि लिजमा जमिनको पनि व्यवस्था गर्न सकेमा कृषिलाई मुख्य आयस्रोत हुने क्षेत्रको रूपमा विकसित गर्न सकिन्छ । त्यसले बेरोजगारीको समस्या पनि केही हदसम्म समाधान गर्छ र कुल ग्राहस्थ उत्पादनमा समेत वृद्धि भई देशको अर्थ व्यवस्थामा सुधार आउँछ ।  अन्यथा सरकारले निश्चित आय आर्जनको विकल्प दिन सकेन भने  विदेशमा जति नै समस्यामा परेका भए पनि नेपालीहरू पुनः आर्थिक उपार्जनको लागि विदेश नै फर्कनु पर्ने अवस्था आइपर्नेछ ।  त्यसको उदाहरण हामीले देखिरहेका पनि छौँ ।  भारतबाट स्वदेश फर्किएका मजदुरहरू अहिले पुनः भारत तर्फनै फर्किरहेका छन् ।

वर्तमान अवस्थामा समेत एकातर्फ सरकार चार्टर उडानबाट नागरिक स्वदेश फर्काउँदै छ भने अर्कोतर्फ श्रम कार्यालयमा श्रम स्वीकृतिको लागि  पनि मान्छेहरू लाइन बसेकै छन् । यसले के देखाउँछ भने ‘रोग’ भन्दा पनि हाम्रो मुख्य समस्या भनेको ‘भोक’ हो । भोकको अन्त्यको लागि मजदुरहरूले ज्यानको बाजी लगाइरहेको सरकारले हेरेर मात्र नबसोस् । विदेश जानु एक मात्र विकल्प हो भन्ने कुराले जसरी युवाको दिमागमा जरा गाडेको छ र युवाहरू जसरी केवल आफ्नो र परिवारको ‘भोक निवारण’ को लागि पलायन हुन तयार भएका छन् सरकारले अब उचित विकल्प दिएर  ती युवालाई स्वदेशमै अवसरको सृजना गर्न सक्नुपर्दछ।

विदेशबाट कोरोनाको कारण होस् या अन्य कारणले स्वदेश फर्कनु भएका युवाहरूले पनि अब स्पष्ट रूपमा बुझ्नु पर्दछ की अब फेरि विदेशको मुख ताक्नु हुँदैन ।  स्वदेशमै मेहनत गरेर आफ्नो जीवन स्तर लाई यथावत कायम राख्न वा सुधार गर्न तपाईँ  हामीले केही केही नयाँ तरिका अपनाउनु पर्ने नै हुन्छ । वर्तमान अवस्थामा हामीसँग प्रशस्त उत्पादन मूलक कम्पनी नभएकोले देशभित्र सोझै रोजगारी पाउने  सम्भावना कम छ ।  खाडी मुलुकबाट फर्कने अधिकांश शिक्षित अर्धशिक्षित सबैले पुन: आफ्नो परम्परागत पेसा या कृषि कर्ममा फर्कनु यौटा उचित निर्णय हुन सक्दछ ।

किनकि परम्परागत पेसाहरू पनि हाम्रा आयका मुख्य श्रोत बन्न सक्छन् । लघु उद्योगका रूपमा युगौँसम्म हाम्रो समाजको अभिन्न पाटो बनेर रहेका कामहरू अहिले बन्द प्राय अवस्थामा छन् । यदि कृषि व्यवसाय फस्टाउँदै गयो भने कृषिलाई आवश्यक पर्ने सहायक कुराहरू -औजार, पशुपालन, मल उत्पादन लगायत कुराहरू  हामी आफैँले नै उत्पादन गर्न सक्यौँ भने हाम्रो कृषि पेसा आत्मनिर्भर उन्मुख हुनेछ ।

परम्परागत कृषि वा आधुनिक पशु पालन, परम्परागतकृषि औजार बनाउने साना उद्योग आरनहरू लगायत जति छिटो हामीले परम्परा देखि गर्दै आइरहेका हरेक कामलाई उपार्जनको माध्यम बनाउन सक्छौँ त्यति छिटो हाम्रो जीवनस्तर उकासिने छ र ऋण खोजेर वैदेशिक रोजगारीको लागि भौँतारिने दिनको अन्त्य हुनेछ ।

बिकल्पमा सेयर बजार:

कृषि र परम्परागत पेसा व्यवसायको अलावा युवाहरूलाई वैकल्पिक रोजगार या आयको श्रोत बन्न सक्ने ‘सेयर बजार’ अर्को विकल्प हुन सक्छ तर यो विकल्प सबैको लागि उचित नहोला फेरि पनि केही नयाँ काम गर्ने सोच भएका र फरक व्यवसायमा रुचि भएका युवाहरूलाई सेयर बजारले एक किसिमको रोजगारी प्रदान गर्न सक्दछ ।

तपाईँसँग पैसा धेरै होस् या थोरै यसले खासै फरक पर्दैन तर तपाईँको सोच भने दीर्घकालिन हुनु पर्दछ । कृषि कर्म र सेयर बजारमा अलिकति फरक के छ भने कृषि कर्ममा आफैँ काम गर्नु पर्ने हुन्छ पैसाको लागि भने  शेयर बजारमा पैसालाई काममा लगाइन्छ । विश्वमा धनीको सूचिमा जो जो व्यक्तिहरू छन्  उनीहरू पैसालाई काम लगाएर धनी भएका छन् । जागिर खाएर अथवा आफैँ कर्म गरेर धनाढ्यको  सूचिमा परेको बिरलै पाइन्छ ।

आउनोस् यहाँहरूलाई शेयर बजारमा प्रवेश गर्ने तरिका बताउँछु । म शेयर बजारको विज्ञ हैन त्यति सारो खरिद बिक्री पनि गर्दिन तथापि मैले जानेको कुरा यहाँहरूलाई सेयर गर्न खोजेको हुँ । तपाईँ हामी विदेशमा करिब चौबिसै घण्टा जस्तो अरूको मातहतमा  रहेर काम गरिरहेका हुन्छौँ  । कोरोना कहरसँगै स्वदेश फर्केर पुन: अर्को रोजगारीको लागि श्रम कार्यालयको ढोका चाहर्नु भन्दा केही  समय आफूसँग भएको केही पैसालाई दैनिक आयको श्रोतको रूपमा विकास गर्ने उपाय भनेकै शेयर बजार हो । जसलाई सहजरूपमा पैसा आवश्यक परे बिक्री गर्न सकिन्छ केही बचत भए खरिद गर्न सकिन्छ ।

शेयर मार्केटमा फाइदा नै फाइदा हुन्छ भनेर न सोच्नु होला यो लामो समय चल्ने दीर्घकालीन व्यवसाय हो ।  स्पष्ट अडानका साथ लगातार काम गरेमा यहाँहरूलाई यसले अवश्य पनि फाइदा दिनेछ । सेयर बजारबारे जानेको छैन किन लगानी गर्ने या नजाने गाउँको बाटो किन सोध्ने भनेर पनि तपाईँहरूले सोच्न सक्नु हुनेछ स्वाभाविक पनि हो । तर सेयर बजार नै यस्तो मार्केट हो जसमा कसैले पनि मैले जानेको छु भनेर घमन्ड गर्न सक्दैन । जानेको छैन भनेर पछाडि पर्दैन पनि ।

पुराना बजार बुझेकाले गुमाएर नयाँले प्रशस्त कमाएका पनि धेरै उदाहरण छन् । यही मार्केटमा लगानी गरेर विश्वको धनाढ्यहरुको सूचिमा रहेका व्यक्तिहरूले पनि सुरुमा ठूलो रकम लगानी गरेका छैनन् । उनीहरू पनि बिस्तारै आम्दानीको सही सदुपयोग  गर्दै गर्दा त्यो अवस्थामा पुगेका हुन् ।  सुरुमा  एक  सय डलर भन्दा कम लगानी गरी शेयर बजार प्रवेश गरेर अहिले अर्बौंको सम्पत्तिको मालिक बनेका उदाहरण नभएका हैनन् ।  शेयर बजार सहज पनि छ । बुझ्दै जाँदा अप्ठ्यारो पनि छ । भनिन्छ नि पहिला  बुझ्यो अनि बुझ्यो झन् बुझ्यो झन् कठिन शेयर बजार यस्तै खालको बजार हो ।

वर्तमान अर्थतन्त्रलाई चलायमान बनाउने सेयर बजारको सुरुवात कसरी भयो, कसरी लगानी कर्ताले कमाउँछन् भन्ने बारे अर्को लेखमार्फत  उल्लेख गरुँला आजलाई तपाईँ हरूलाई प्रवेश गर्ने मुख्य द्वारको बारेमा मात्र जानकारी गराउँछु । यहाँले बजार प्रवेश गर्दै शेयरका प्रकार बारे छोटो जानकारी गराउँछु ।

  • प्राथमिक शेयर (आइपिओ) भरेर खरिद गरिएको ( जसको मूल्य रु १००) हुन्छ र न्यूनतम  १० कित्ताको लागि खरिद गर्न आबदेन दिनु पर्दछ ।
  • दोस्रो बजारबाट खरिद यसको मूल्य बजारको अनुसार तल माथि हुन्छ कहिले (आइपिओ) को मूल्यको भन्दा कयौँ गुणा बढी र कहिले (आइपिओ) को मूल्य भन्दा कमी पनि हुन सक्दछ ।

शेयर बजार प्रवेश गर्न अपनाउन पर्ने तरिका:

क) बैङ्क खाता खोल्ने: बैङ्क खाताको बारेमा यहाँहरू जानकार हुनुहुन्छ होला प्रवासमा रहनु हुने अधिकांशको नेपालमा कुनै न कुनै बैङ्कमा खाता अवश्य छ खाता हुनेलाई सजिलो अवश्य भयो यदि छैन भने पनि नागरिकताको कपी र पासपोर्ट साइजको फोटो लिएर आफ्नो घरबाट पायक पर्ने जुनसुकै अनुमति प्राप्त बैङ्कमा खाता खोल्न सक्नु हुन्छ । बैङ्कले ढिलोमा एक हप्ताभित्र खाता नम्बर यहाँहरूलाई दिन्छ । खाता नम्बर प्राप्त गरे पछि यहाँको पहिलो खुड्किलो पुरा हुन्छ ।

ख) डिम्याट खाता: यसलाई हितग्राही खाता भनिन्छ जसरी पूर्वजहरूले घरमा पैसा राख्ने सन्दुकको विकल्प बैङ्क खाता भयो त्यस्तै घरमा धान चामल राख्ने भकारी जस्तै, शेयर राख्ने भकारी भनेकै हितग्राही खाता हो । यो खाता तपाईँले जुन बैङ्कमा तपाईँको खाता छ त्यही बैङ्क मा खोल्नु भयो भने सहज हुन्छ । हितग्राही खाता तपाईँले सेयरको कारोबार गर्ने ब्रोकर अफिसबाट पनि खोल्न सक्नु हुनेछ । खाता खोलेपछि तपाईँलाई एउटा नम्बर बैङ्क वा ब्रोकरले उपलब्ध गराउनेछ । त्यही नम्बर नै तपाईँको सेयरको भकारी हो ।  हितग्राही खाता खोले पछि तपाईँले शेयर मार्केट प्रवेश गर्नु भयो भनेर बुझ्दा हुन्छ । बैङ्क खाता र हितग्राही खाता भए पछि तपाईँ प्रत्यक्ष रूपमा बैङ्क पुगेर कम्पनीले खोलेको (आइपिओ) भर्न सक्नुहुन्छ ।

ग) मेरो सेयर, सी आस्वा: यदि तपाईँ सेयर भर्न बैङ्क धाउन गाह्रो मान्नु हुन्छ, देश विदेश जहाँबाट पनि (आइपिओ) भर्न चाहनुहुन्छ भने तपाईँले मेरो सेयर खाता खोल्न सक्नु हुन्छ यसको शुल्क जम्मा ५० पर्दछ र हरेक वर्ष रिन्यु गर्नु पर्दछ । तपाईँले मेरो सेयरको खाता खोले पछि बैङ्कले तपाईँ लाई एक लिङ्क दिन्छ जुन लिङ्कमा तपाईँको बैङ्क खाता पनि जोडिएको हुन्छ । यसको लिङ्क तपाईँलाई बैङ्कले पठाउँछ प्राप्त लिङ्कमा तपाईँको खाता नम्बर र पासवर्ड दिन्छ, बैङ्कले दिएको पासवर्ड तपाईँले चेन्ज गर्नु पर्ने हुन्छ ।

घ) सीआरएन नम्बर: तपाईँले जुन बैक खाता खोल्नु भएको छ त्यहींबाट लिन सक्नु हुन्छ त्यहीबाट तपाईँले सी आर एन नम्बर लिएपछि मात्र मेरो सेयरबाट अनलाइन फर्म भर्न सक्नु हुन्छ । यो सजिलोको लागि हो तर अनिबार्य भने हैन ।  मेरो सेयरको लिङ्क प्राप्त भए पछि फर्म प्राथमिक शेयर (आइपिओ) अनलाइन मार्फत भर्न तपाईँ सक्नु हुन्छ त्यस्तो लागि बैङ्कले तपाईँ लाई सिआरएन नम्बर गराउँछ त्यो उपलब्ध भएपछि तपाईँले सिधा प्राथमिक शेयर घरमा बसीबसी तपाईँले खरिद गर्न सक्नुहुन्छ ।

यती गरी सकेपछि तपाइँले खुलेको (आइपिओ) प्राथमिक सेयर खरिद गर्न सक्नु हुनेछ । खरिद गरी राख्नको लागि यती गर्दा तपाईँलाई हुन्छ तर हाम्रो उद्देश्य शेयर बजार भित्र प्रवेश गर्नु मात्र हैन त्यहाँ भित्र खरिद बिक्री गरी आवधिक नाफा कमाउनु पनि हो । शेयर बजार भित्र पसी तपाईँ घरमै बसी बसी कारोबार गर्न को लागि तपाईँहरूले थप दुई स्टेप पुरा गर्नु पर्ने हुन्छ ।

ङ) ग्राहक कोड: सेयर खरिद मात्र हैन अवसर राम्रो पाएमा दोस्रो बजारमा खरिद बिक्री गर्न को लागि तपाईँले कारोबार गर्ने ब्रोक्रर अफिस गएर क्लाइन्ट कोड लिनको लागि ब्रोकर अफिसले तयार गरेको एक फर्म भर्नु पर्दछ क्लाइन्ट कोड ब्रोकर अफिसले दिने भएकोले ब्रोकर अफिसमै गएर भर्नु पर्ने हुन्छ फर्म भरेको केही दिनमा ब्रोकर अफिसले तपाईँलाई क्लाइन्ट कोड दिन्छ । यो कोड प्राप्त गरेपछि तपाईँले सेयर खरिद बिक्री ब्रोकर अफिसमा गएर गर्न सक्नु हुनेछ अथवा फोन वा फ्याक्समार्फत पनि गराउन सक्नु हुन्छ ।

च) अनलाइन अनुमति: तपाईँ घरमै वा प्रदेश बसी बसी कारोबार गर्न चाहनु हुन्छ भने ब्रोकर अफिसमा गएर अनलाइन कारोबारको लागि अनुमति लिनु पर्दछ यसको लागि ब्रोकर अफिसले आफ्नो आफ्नो नियम अनुसारको धरौटी रकम लिन सक्दछ त्यो रकम तपाईँले धरौटी राख्नु पर्ने हुन्छ ।  अनलाइन सुविधाको लागि फर्म भरेपछि तपाईँलाई ब्रोकर अफिसले नेप्सेको अनलाइन वेब साइड इमेल मार्फत उपलब्ध  गराउँछ त्यसमा तपाईँको क्लाइन्ट  कोड अनि पासवर्ड पनि उपलब्ध गराउनेछ जसलाई तपाईँले चेन्ज गर्नु पर्दछ । जब तपाईँले (टिएमएस) नेप्सेको वेबसाइट  प्राप्त गरेपछि क्लाइन्ट  कोड र पासवर्डलाई प्रयोग गर्दै  तपाईँले घरमा बसी बसी शेयर खरिद बिक्री गर्न सक्नु हुन्छ । खरिद बिक्रीको आदेश मात्रा तपाईँले दिने हो तपाईँको बिक्री भएमा तपाईँको खातामा एक या दुई दिन मा पैसा आउँछ भने बिक्री खरिद भएमा तपाईँको बैङ्क खाताबाट पैसा घट्छ ।

यसरी सहज रूपमा तपाईँले सेयर बजार प्रवेश गरी कारोबार गर्न सक्नु हुनेछ ।  यसको लागि तपाईँलाई कुनै थप खर्च गरी प्रविधि जोड्नु पर्दैन मात्र बिना ब्याजको आफ्नै पैसा जोहो भने गर्नु पर्दछ ।  प्रविधिको जमानामा हरेक घर घरमा इन्टरनेट पुगेको छ भने ल्यापटप  या कम्प्युटर हर घरको आवश्यकता भएको छ त्यही प्रविधिलाई सदुपयोग गर्दै तपाईँ शेयर बजार प्रवेश गरी एक राम्रो आम्दानी गर्न सक्नु हुनेछ ।

सेयर बजारमा पछिल्लो चरणमा धेरै नै कम्पनी (आइपिओ) निष्कासनको लागि पाइप लाइनमा छन् सुरुवात यस्तैमा लगानी गरेर गर्नुहोस् । प्राथमिक सेयर अर्थात् (आइपिओ) मा म्च्युअल फन्डका बाहेक अन्य कम्पनीका सय रुपैयाँ भ्यालु राखेर कम्पनीले निष्कासन गरेको हुन्छ यस्तोमा लगानी गर्दा जोखिम देखिँदैन । यसरी भर्दा न्युनतम दस कित्ता सेयर भर्नु पर्दछ अहिले धितो पत्र बोर्ड  पनि निशकासन गरेको (आइपिओ) सकेसम्म खरिद गर्न चाहनेलाई न्यूनतम  दस कित्ता पुगेसम्म बाँड्ने गर्दछ यदि त्यसरी नपुगेको अवस्थामा गोला प्रथाबाट वितरण हुन्छ ।

आफूलाई परेको खण्डमा मात्र तपाईँको खाताबाट पैसा घट्ने हो नत्र सेयर भर्दैमा तपाईँको खाताबाट पैसा पनि झिकिँदैन । तर सेयर भर्ने बेलामा जति कित्ता भर्ने हो त्यति बराबरको पैसा तपाईँको खातामा हुनु पर्दछ । जसलाई बैङ्कले रुजु गरी ब्लक गरी राखेको हुन्छ । समग्रमा सेयर बजारमा प्रवेश गरे पछि बिस्तारै मार्केटको उतार चढावलाई ध्यान दिएर खरिद बिक्री गर्न सक्यो भने आवधिक नाफा बुक गर्न सकिन्छ जसले घर व्यवहार  चलाउन सहज हुन्छ ।

दीर्घकालको लागि खरिद गर्नु भएको हो भने तिनले दिने बोनस आम्दानीको श्रोत बन्दछ । आवधिक नाफाको उद्देश्यले कारोबार गर्ने हो भने नाफा घाटाको अवस्था हेरेर खरिद बिक्री गर्न जाने हुन्छ भने दीर्घकालको लागि हो भने एउटै कम्पनीको भन्दा धेरै कम्पनीको थोरै थोरै लिनु भयो भने कुनै कम्पनीको आर्थिक अवस्था बिग्रँदै गए पनि दीर्घ कालमा  तपाईँलाई नोक्सान हुँदैन । घरै बसी बसी आम्दानी गर्न सक्नु हुनेछ । तर एउटा मन्त्र भन्छु आफ्नो हातमा लगानी गर्ने पैसा भएकाहरूलाई सेयर बजार उचित विकल्प भए पनि  ऋण  लिएर सेयर मार्केट प्रवेश गर्नु चाहिँ जोखिम युक्त हुन्छ ।

(बिमल सुबेदी नेपाली जनसम्पर्क समिति कतारका संस्थापक महामन्त्री तथा निवर्तमान सभापति हुन् l)

 

Logo