यी ११ कारणले दरबार हत्याकाण्डमा सधैं आशंका (भिडियोसहित)

दिवस गुरागाईं । 

‘पिएम, तपाईं भ्रष्ट हुनुभयो भनेर वाहिरवाट धेरै कुरा आएका छन् ।’ तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई नयाँ राजा ज्ञानेन्द्रले यसो भन्ने बित्तिकै कोइरालाले जवाफ फर्काएछन् – ‘महाराजले पनि दाइको हत्या गरे भन्दैछन् ।’ प्रधानमन्त्रीको जवाफले तत्कालिन राजा ज्ञानेन्द्र चुप भएछन् ।

सार्वजनिक रुपमा समेत कोइरालाले दरबार हत्याकाण्डलाई ‘ग्राइण्ड डिजाइन’ को संज्ञा दिए । तर, उनको यो भनाइको अर्थ के थियो ? कसैले बुझेनन् । त्यसैगरी तत्कालिन प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले पनि दरबार हत्याकाण्डको पुन छानविन गर्नुपर्ने माग गरेका थिए । आधिकारिक मानिसले छानविन प्रतिवेदनमाथि गरेको आशंकाले आम मानिसमा समेत आशंका थपेको थियो ।

त्यसैगरी अभिनेता नीर शाहले पनि दरबार हत्याकाण्डका सम्बन्धमा दुई बर्षपछि बोल्ने सार्वजनिक मञ्चवाट घोषणा नै गरेका थिए । नीर शाहका दाजु खड्गबिक्रमको दरबार हत्याकाण्डमा मृत्यु भएको थियो भने नीर तत्कालीन अधिराज कुमार धिरेन्द्रका अनन्य मित्र मानिन्थे । तर उनले १८ बर्षपछिसम्म पनि त्यस घटनाका वारेमा मुख खोलेका छैनन् । उनले किन दरबार हत्याकाण्डका सम्बन्धमा त्यसो भनेका थिए, कसैले बुझ्न सकेका छैनन् ।

२०५८ साल जेठ १९ गते राती १० जनाको हत्या भएको दरबार हत्याकाण्डका वारेमा छानविन प्रतिवेदनले तत्कालिन युवराज दिपेन्द्रले सबैलाई खेदी खेदी गोली हानी हत्या गरेको उल्लेख गरेको छ । नाम नखुलेको कालो पदार्थ खाएर होस् गुमाएका युवराजले एक्लै एके ४७, अर्को पनि पेस्तोल, छर्रा लगायत धेरै किसिमका बन्दुक चलाएको उल्लेख छ । जो आफैंमा बिश्वसनीय मानिएन । तत्कालिन दरबारले निकालेको विज्ञप्ती पत्याउने हो भने स्वचालित हतियार आफैं पड्कियो र घटना घट्यो ।

दरबार हत्याकाण्डको विषयमा पुस्तक लेखेका प्रा.डाक्टर राजकुमार पोखरेलको दावी अनुसार दिपेन्द्रका ५ वटा डमी थिए । र, सवैले भिन्न भिन्न बन्दुक चलाएका थिए । उनका अनुसार एउटै समयमा ९ जनालाई खेदेर गोली हानिएको थियो । लेखक खगेन्द्र संगौलाले समेत दिपेन्द्रले हत्या गरेको भन्ने निश्कर्षमा लेख र पुस्तिकामार्फत औंला ठड्याएका थिए ।

यस्ता धेरै तथ्य छन् जसले त्यस घटनालाई आशंकाको घेरामा राखिदियो । यसैप्रकारका अनुत्तरित र अविश्वसनीय कुराले दरबार हत्याकाण्डको छानविन प्रतिवेदनलाई आम मानिसले विश्वास गर्न सकेनन् ।

यस्ता छन् कारण

१. प्रधानमन्त्रीलाई ‘नो इन्ट्री’

– घटना भएपछि मृतक र घाइतेहरुलाई तत्काल सैनिक अस्पताल छाउनी लगियो । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पनि सुन्ने बित्तिकै अस्पताल पुगे । तर, उनलाई अस्पताल भित्र छिर्न दिइएन । गेटवाटै फर्काइयो । आफ्ना राष्ट्रप्रमुखलाई अन्तिम समयमा पनि हेर्न नदिएको किन होला ? घटनामाथि शंका सुरु हुने एउटा कारण यो पनि रह्यो ।

२. कर्फ्यू लगाएर आर्यघाटमा लास जलाइयो

– हत्या भएकाहरुको लाश अस्पतालवाट आर्यघाट पु¥याउँदा र्कफ्यू लगाइयो । ट्रकमा हालेर बाटो सुनसान पार्दै लगेर जलाईयो । शोकाकुल जनतालाई मलामी जानवाट पनि रोकियो ।

३. छानविन समितिमा विवाद

तत्कालिन प्रधानान्यायाधीशको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति बनाइयो । समितिमा तत्कालिन सभामुख र प्रमुख प्रतिपक्षी दलका नेता समावेश थिए । तर, समितिका एक जना सदस्यले छानविन समिति घोषणा भए लगत्तै राजिनामा दिए । राजिनामा दिने सदस्य थिए, तत्कालिन प्रमुख प्रतिपक्षी दलका नेता माधव कुमार नेपाल । उनले राजिनामा दिएपनि दुई सदस्यीय समतिले नै काम ग¥यो । र, प्रतिवेदन सार्वजनिक ग¥यो ।

प्रतिवेदन सार्वजनिक गरेका तत्कालिन सभामुख तारानाथ रानाभाट हाँसोका पात्र बने । गोली चलेको अभिनय गर्दै सुनाइएको प्रतिवेदनमा छानविन गरेको केही देखिएन । मात्र प्रत्यक्षदर्शीको बयान सुनाइयो । यसकारण छानविन प्रतिवेदन अपुरो र एकतर्फी भएको विश्लेषण भयो । जसलाई आम मानिसले विश्वास गरेनन् ।

४. पोष्टमार्टम समेत गरिएन

– दरबार हत्याकाण्डमा १० जनाको मृत्यु भयो । डिएनए टेष्ट त धेरै टाढाको कुरा कसैको पनि पोष्टमार्टम समेत गरिएन । छानविन समितिले दिएको रिपोर्टलाई यस कारण पनि आधारहीन मानियो ।

५. अंगरक्षक र सुरक्षाकर्मीमाथि प्रश्न

– दरबार हत्याकाण्ड नारायणहिटी भित्रको बिलियार्ड बैठकमा भएको थियो । त्यसठाउँमा सुरक्षाकर्मीलाई छिर्न दिइएको थिएन भन्ने कुरालाई मान्न सकिन्छ । तर, प्रतिवेदनमा त तत्कालिन युवराज दिपेन्द्रले खेदिखेदी गोली हानेको उल्लेख छ । बगैचातिरसम्म खेदेको उल्लेख छ । त्यसवेलासम्म सुरक्षाकर्मीले किन घटनालाई नियन्त्रणमा लिएन भन्ने प्रश्नको जवाफ कहिल्यै कतैवाट आएन ।

६. संरचना ध्वस्त गरियो

– दरबार हत्याकाण्ड भएको स्थल हो, बिलियार्ड बैठक । यो आफैंमा ऐतिहासिक स्थल हो । तर, आजको पुस्ताले त्यो बैठक देख्न पाउँदैन । किनभने तत्कालिन नयाँ राजाले दरबार हत्याकाण्ड भएको केही समयपछि नै त्यसलाई भत्काउन लगाए ।

त्यस भवनमा भएका फर्निचरहरुको ब्यवस्थापन कसरी गरियो त्यो पनि कसैलाई थाहा छैन । त्यतिमात्र होइन, गोली चलेर भत्किएका भित्ताहरु र पोखरी पनि पुरियो । यो त्यही पोखरी हो, जहाँ दीपेन्द्र गोली लागेर ढलेको वताइन्छ । यस्तो किन गरियो, कसैलाई थाहा छैन ।

७. गोली चलाउनेमा आशंका

– प्रतिवेदनले युवराज दीपेन्द्रले सवैैलाई एक्लै गोली हानी हत्या गरेको भनिएपनि कतिपय आशंकाहरु पैदा गरेको छ । पहिलो नम्बर दिपेन्द्र नाम नखुलेको कालो पदार्थ खाएर मातेका थिए भनिएको छ भने उनले शक्तिशाली एके ४७ नामक बन्दुक कसरी पड्काउन सके भन्ने प्रश्न छ । यो बन्दुक चलाउन निकै नै तालिम प्राप्त बलियो मानिस चाहिन्छ भन्ने अनुभवीहरुले वताउँदै आएका छन् ।

त्यसैगरी उनले कति किसिमका बन्दुक चलाएका थिए भन्ने अर्को प्रश्न छ । कोमललाई लागेको गोली छर्रा रहेको पुष्टि भइसकेको छ भने उनले कञ्चटमा हानेको गोली सामान्य पेस्तोलको हो भन्ने पनि पुष्टि भइसकेको छ । घटनामा अन्यखाले गोली पनि भेटिएको त्यसवेला धेरैले प्रत्यक्ष–अप्रत्यक्षरुपमा वताएका थिए ।

त्यसैगरी छानविन समितिलाई प्रत्यक्षदर्शीले सुनाएको वयान पत्याउने हो भने दिपेन्द्रले सवैलाई बन्दुक तेर्साए तर मलाई नमार्नु भनेर अनुरोध गर्नेहरुलाई मारेनन् । तर, आफ्ना पिताको बंश बिनास गर्न भने उनले कसैका कुरा सुनेनन् । यो प्रसंग पनि अपत्यारिलो नै सावित भयो ।

८. सम्पत्ति नामसारी गर्ने कार्य सुरु भयो

– ०५८ जेठ १९ पछि राजा भएका ज्ञानेन्द्रले सोही बर्षको भदौ ३ गतेदेखि नै सम्पत्ति आफूमा सार्ने कामको सुरुवात गरे । आरम्भमा उनले कित्ता नम्बर २४, ३४, १८१ र १८३ को काठमाडौँ दहचौक गाविस–५ मा तत्कालीन शाहाज्यादी शीताष्मा (पूर्वअधिराजकुमार धीरेन्द्रकी छोरी)को नाममा रहेको १५ रोपनी ५ आना जग्गा पत्नी कोमलका नाममा सारे । स्वर्गीय राजा वीरेन्द्रका नाममा रहेको काठमाडौँ–८, टंकेश्वरको १ रोपनी ८ आना जग्गा पनि ज्ञानेन्द्रले ०६० भदौ १ गते आफ्नो स्वामित्वमा लिए ।

दरबार हत्याकाण्डपछि जग्गाहरुको नामसारी गर्ने तरिका रमाइलो छ । पुरानो राजाको नाममा रहेको जग्गा नयाँ राजाको नाममा र पुरानी रानीको नाममा रहेको जग्गा नयाँ रानीको नाममा नामसारी गरिएको देखिन्छ । त्यसैगरी युवराजको नामको युवराजकै नाममा र युवराज्ञीको सम्पत्ति युवराज्ञीकै नाममा नामसारी गरियो ।

नामसारी गर्नु स्वभाविक भएपनि अढाई महिनापछि देखि नै यो कार्य गर्नुलाई पनि सुन्नेले निको मानेनन् । अझ भाइ धिरेन्द्रका छोरीहरु हुँदा–हुँदै पनि आफ्नै स्वामित्वमा सम्पत्ति ल्याउनुले आशंका जन्मायो । स्मरण रहोस् तत्कालिन अधिराजकुमार धिरेन्द्र, दरबार हत्याकाण्ड र केही समयपछि श्रीमती प्रेक्षाको मृत्यु हेलिकप्टरमा भएपछि छोरीहरुको बिचल्ली भएको थियो ।

९. छानविन समितिको प्रतिवेदनलाई प्रधानमन्त्रीले नै पत्याएनन्

– दरबार हत्याकाण्डका वेला प्रधानमन्त्री थिए, गिरिजाप्रसार कोइराला । उनले यस हत्याकाण्डलाई ‘ग्राइण्ड डिजाइन’ को संज्ञा दिए । अर्थात उनले प्रतिवेदनले भनेजस्तो तत्कालिन दीपेन्द्रले हत्या गरेको भन्ने पत्याएनन् । तर, के थियो ‘ग्राइण्ड डिजाइन’ को अर्थ पनि उनले कहिल्यै खुलाएनन् । त्यसैगरी गणतन्त्रका दुई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले बहाल रहेका वेला दरबार हत्याकाण्डको पुन छानविन गर्ने प्रतिबद्धता जनाए । तर त्यो, भाषणमा नै सीमित रह्यो ।

तत्कालिन प्रधानमन्त्रीका यी वाणीहरुले आम मानिसमा भएको आशंकालाई झनै मलजल ग¥यो । उनीहरुले पुन छानविन गर्ने भनेर किन भनेका थिए भन्ने सम्बन्धमा समेत कसैसँग जवाफ छैन ।

१०. प्रत्यक्ष शासनमा तिब्र आकांक्षा प्रकट

– राजा घोषित हुने बित्तिकै ज्ञानेन्द्रले राजनैतिक दलका नेताहरुलाई ‘म दाजु जस्तो होइन’ भनेर कडा हुने संदेश दिए । र, त्यसैअनुसारको गतिविधि सुरु गरे । सर्वप्रथम उनले नेताहरुलाई कडिकडाउ सुरु गरे र २०५९ असोज १८ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अक्षम घोषणा गर्दै हटाइदिए । र, पूर्वपञ्चहरुलाई मन खुसी प्रधानमन्त्री बनाउन थाले । २०६१ माघ १९ गते तत्कालिन ठूला पार्टीका नेताहरुलाई जेल हालेर आफैं प्रत्यक्ष शासन सुरु गरे । अर्थात उनले प्रत्यक्ष शासनको हतारो प्रदर्शन गरे ।

११. तीन सय आर्मीलाई एकै पटक विदाई

– दरबार हत्याकाण्ड भएपछि तत्कालिन राजा ज्ञानेन्द्रले नारायणहिटी दरबारमा कार्यरत तीनसय सेनालाई अवकाश दिएका थिए । उनले किन त्यसरी अनिवार्य अवकास दिए भन्ने विषयले पनि आम प्रश्न जन्माएको थियो । वीरेन्द्रका एडिसी, निजि सचिव लगायतलाई समेत तत्कालै हटाइयो । यति सम्म भयो कि चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष नीर शाह समेत पदच्यूत भए ।