नेपालका खलासी भन्छन्, ‘वीरेन्द्रको वंश नाश ज्ञानेन्द्रले गरेको हो’

लक्ष्मण सिंह खड्का आफुलाई नेपालकाे खलासी भन्न रूचाउँछन् । उनले आफुलाई नेपालको खलासी भनेर स्वघोषणा गरेका हुन् । ८ कक्षा सम्म अध्ययन गरेका उनी परिवारकाे एक्लो सदस्य हुन् ।

सहिद गेटकामा सरसफाईदेखि संरक्षण समेत तिनै खड्काले गर्दै आएका छन् । अहिलेको राजनीति र पूर्व राजा ज्ञानेन्द्र शाहप्रति उनी  आक्रोशित छन् । तिनै नेपालका खलासीसँग वीरेन्द्रको वंश नै नाश हुनेगरी भएको दरवार हत्याकाण्ड, समग्र नेपालको राजनीति लगायत विविधि विषयमा कुराकानी गरेका छौं ।

१.परिवारमा को–को हुनुहुन्छ ?
म एक्लै छु ।

२.तपाईलाई साथ दिने चै को हुुनुहुन्छ ?
मलाई साथ दिने सबैभन्दा ठूलो गुरु भने नि मलाई जन्म दिने मेरो आमा हो । त्यसपछि धर्ती माता हुनुहुन्छ । त्यसपछि नेपाल आमा पनि हो । मैले ०७४ सालदेखि असार १ को दिन नेपाल आमाको पनि जन्मदिन मनाउन सुरु गरेको छु । यो भन्दा अघि कहिले कसैले मनाउने गरेको थिएन ।

त्यसपछि सबै नेपाली जनता हुनुहुन्छ जसले मलाई माया र साथ दिनुहुन्छ । म एक्लै हिड्छु । मलाई पैसा दिनुहुन्छ । त्यहि पैसाबाट म सहिद गेटमा रगंरोगन सरसफाई गर्छु । १४ बर्षदेखि मैले दैनिक ५ केजी चामल किनेर परेवालाई खान दिन्छु । ५ प्याकेट बिस्कुट कुकुरलाई दिन्छुु ।

३. राजा वीरेन्द्र लगायतका सालिकहरुमा रंगरोगन गर्नुहुन्छ । के तपाई राजावादी हो ?
राजा विरेन्द्रले नेपालमा ऐतिहासिक काम गर्नु भएको छ । पृथ्वीनारायण शाहले टुक्रा टुक्रामा रहेको नेपाललाई एकिकरण गर्नुभयो । राजा महेन्द्रले उद्योगधन्दा, कलकारखानाको सुरुवात गर्नुभयो । राजा वीरेन्द्रले मेरो देश चीन र भारतको चंगुलमा फसेको छ । ठूला शक्तिशाली राष्ट्रकोबीचमा छ । देश र जनतालाइ त्यसबाट मुक्ति दिन धेरै काम गर्नुभयो । राजा वीरेन्द्रको मात्र होइन् ‘तेरो बाउलाई मार’ भनेर छाती थाप्ने सहिदहरुको सालिक भएको सहिद गेटको सालिकमा पनि रंगरोगन गर्छु ।

४. वीरेन्द्रको वंश जान गर्ने गरी भएको दरबार हत्याकाण्ड कसले गराएको थियो होला ?
अदृश्य रुपले ज्ञानेन्द्रले हामीमाथि ठूलो कुठाराघात गरिरहेको छ । २००७ सालमा ज्ञानेन्द्रलाइ छाेडेर   उनको परिवार दिल्ली गएकाे थियाे । त्योबेला एक भारतीयले यो बच्चालाई राजा बनाइदेउ भने । राजा बनाइदिए । २०५८ सालमा राजा वीरेन्द्र र उनको परिवार मारिए । टेबलमाथि राखेर बन्दुकले घुमीघुमी हान्यो रे । यसरी टेबलमाथि राखेर बन्दुकले छानीछानी मान्छे मार्छ ? यस्तो वाहियात कुरा गरेर पनि हुन्छ । ज्ञानेन्द्रले नै वीरेन्द्रको वंश नाश गरेको हो ।

राणा शासन भन्दा चर्को शासन त अहिले छ । राजा मारेर खाने, मदन भण्डारी मारेर खाने, निर्मला पन्त मारेर खाने । यत्रो प्रहरी, सेना के को लागि कृष्ण मोहन श्रेष्ठ मार्नको लागि, राजा वीरेन्द्र मार्नको लागि ? त्यसकारण सैनिक र प्रहरीलाई खुल्ला छोड्दिनुपर्छ । प्रधानन्यायाधिस के को लागि विनोद चौधरीलाई बचाउनको लागि ? अजय सुमार्गीलाई बचाउनको लागि ? उनीहरुले पैसा कसरी कमाए छानविन गर्नुपर्छ । सहि कुरा सबैले गर्न पाउनुपर्छ । सहि काम सबैले गर्न पाउनुपर्छ । जनताको छोराछोरीले शरिर बेचेर खाने अवस्था नआओस ।

५. तपाईलाई देशमा राजसंस्था आउनुपर्छ भन्नेमा के लाग्छ ?
मेरो विचारमा राजसंस्था आउछ भने जनमत गराउनुपर्छ । ज्ञानेन्द्रलाई दिने हो कि श्रुतीको छोरीलाई दिने हो भनेर । जनताको विचार के छ मलाई थाहा छैन । जनताको माझमा श्रुतीको छोरीलाई महारानी बनाउने भनेको छु ।

भंगेरा मारिएको झै राजा वीरेन्द्र मारिए हामी यि डाँकाहरुलाई सधै पालनपोषण गरेर बस्ने । सैनिकहरुले निधारमा ठोक्नुपर्ने डाँकाहरुलाई बुट बजाएर सलाम गर्नुपर्छ । उनीहरुको वाध्यता हो ।