उपत्यका प्रवेशमा कडाई गरौँ–काठमाडौं उपत्यकाका सीडीओ (भिडियाे)

उपत्यका प्रवेशमा कडाई गरौँ–काठमाडौं उपत्यकाका सीडीओ (भिडियाे)


काठमाडौं ।

काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रमुख अधिकारी (सीडीओ) हरुले काठमाडौं उपत्यका प्रवेशमा थप कडाई गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको बैठकमा उपस्थिति हुँदै उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारहरुले उपत्यका प्रवेश गर्ने र बाहिरिने मानिसहरुको आवागमनमा थप कडाई गर्नुपर्ने बताएका हुन् ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यका प्रवेश गर्ने पाँच वटै नाकामा सेना परिचालन गर्नुपर्ने बताए । उनले चाहेर पनि र नचाहेर पनि दैनिक २ हजारभन्दा बढी मानिसलाई भित्र्याउनु परेको उल्लेख गर्दै नाकालाई ठप्प पार्न नसकिने बताए । अहिले पनि विभिन्न ढुवानीका साधनमार्फत मानिसहरु आवतजावत गरी राखेकाले त्यसलाई कडाई गर्न सेना परिचालन गर्नुपर्ने आवस्यकता देखिएको दाहालको भनाइ छ ।

सीडीयो दाहालले प्रहरीले निगरानी गर्न नसकेको नभई प्रहरीले धेरै काम गर्नुपर्दा भ्याइ नभ्याई भएकाले सीमा नाकाको निगरानी कमजोर भएको बताए । नुन चोरदेखि सुन चोरसम्मलाई पक्राउ गरेर काम गर्नुपर्ने जिम्मेवारी भएको प्रहरीलाई भ्याइ नभ्याई भएकाले सीमानामा नेपाली सेनालाई नै खटाउनुपर्नेमा उनको जोड छ ।

त्यस्तै भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उपत्यका प्रवेश गर्ने नाकाहरुबाट मानिस प्रवेश गराउन माथिल्लो तहका जिम्मेवार निकायबाट दबाब आउने गरेको बताइन् ।

त्यस्तैगरी ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दशैंसम्म निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने भनाइ राखे । चाडपर्वको समयमा मानिसहरुको आवागमन पनि बढ्ने भएकाले त्यसलाई रोक्न अहिलेदेखि नै केही क्षेत्रलाई सञ्चालन गर्न दिँदै जनजीवन सहज बनाई निषेधाज्ञाको अवस्थालाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ ।

नगरपालिका मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले अहिले उपत्यकामा लागु भएको तेस्रो चरणको निषेधाज्ञा नाम मात्रैको भएको आरोप लगाए । निषेधाज्ञामा पनि बाटोमा सवारी जाम देखिएकाले नाम मात्रैको निषेधाज्ञा भएको उनको भनाइ छ । बिहान ११ बजेसम्म सबै पसल खोल्न पाउने, २ बजेदेखि सबै ढुवानी सञ्चालन गर्ने र सडकमा सवारी चलाउन पाउने हो भने निषेधाज्ञा गर्नुको अर्थ नहुने उनको तर्क छ ।

Logo