मेलम्चीमा नयाँ ठेकदार खोजी सुरु, पानी आउन अझै २ वर्ष लाग्ने

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको लागि नयाँ ठेकदारको खोजी सुरु गरेको छ । मुख्य ठेकेदार भागेपछि ठप्प रहेको मेलम्ची खानेपानी आयोजनालाई अघि बढाउन सरकारले नयाँ ठेकेदारको खोजी थालेको हो । आयोजनाको बाँकी कामलाई १० प्याकेजमा विभाजित गरेर ठेकदार खोज्न थालिएको आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।

२ वटा प्याकेजमा खुला बोलपत्र आह्वान गरिएको छ भने बाँकी ८ वटा प्याकेज पुराना स्थानीय ठेकेदारलाई दिने तयारी छ । यसअघि इटालियन कम्पनी सीएमसीले आयोजनामा लोकल भेन्डरका रुपमा राखेका कम्पनीहरुलाई सोझै ठेक्का दिन लागिएको हो । सीएमसी आफैंले गरिरहेको जटिल प्राविधिक काम चाहिँ दुई वटा नयाँ ठेकेदारमार्फत गराइने छ ।

हाल सुरुङ र हेडवर्क्सका कामका लागि फरक–फरक ठेकेदार छनोट गर्न लागिएको प्रवक्ता पन्तको भनाई छ । हाईड्रो–इलेक्ट्रो मेकानिकल र केही आपूर्तिसम्बद्ध ८ वटा ठेक्का भने त्यहाँ कार्यरत पुरानै कम्पनीले बिना प्रतिस्पर्धा पाउनेछन् ।

हेडवर्क्सको काम १५ महिनामा र सुरुङको काम १२ महिनामा सक्नेगरी टेन्डर आह्वान गरिएको प्रवक्ता पन्तले बताए । यी दुई टेन्डरमा योग्य स्वदेशी कम्पनीले प्रतिस्पर्धा गर्न पाउनेछन् ।