यार्सागुम्बा : आर्थिक समृद्धीको आधार

ज्ञानमणि नेपाल कालोटोपी ।

अहिले यार्सागुम्बा टिप्ने सिजन शुरु भएको छ । नेपालका उच्च हिमाली भेगहरुमा पाइने र जडिबुटीको राजा मानिने यार्सागुम्बाको निर्यात नेपालबाट वर्षेनी वढ्दो क्रममा छ । नेपालमा यसको यति नै उत्पादन हुन्छ भन्न गाह्रो भएपनि पछिल्ला केहि वर्षहरुमा यसको संकलन र निर्यात वढ्दै जान थालेपछि यसबाट देशको राजस्वमा समेत उल्लेख्य मात्रामा वृद्धि भएको छ ।

एक तथ्याङ्क अनुसार नेपालबाट वर्षेनी ४ हजार केजी सम्म यार्सागुम्बा निकासी हुदै आएको छ । यो परिमाण वर्षेनी वढ्ने क्रममा रहेको देखिन्छ ।
नेपालका वनजंगलहरुमा पाइने बहुसंख्यक जडिबुटीहरुको आ–आफ्नै महत्व छ । यहाँ विश्वका दुर्लभ जडिबुटीहरु पनि पाइन्छन् । केहि प्रमुख जडिबुटीको नाम लिनु पर्दा यार्सागुम्बालाई विर्सनै सकिंदैन । यसका अतिरिक्त चिराइतो, पाँचऔंले, कुरिलो, जटामसी, टिमुर, सतुवा, रुद्राक्ष, हर्रो, बर्रो, अमला, बोधिचित्त लगायत सयौं छन् ।

नेपालमा मात्रै करिव १ हजार प्रजातिका जडिबुटीहरु पाइने एक अध्ययनले देखाएको छ । तर, जति जडिबुटीहरु छन् ती सबैको संकलन, उपयोग र निकासी हुन सकेको छैन । यी मध्ये औंलामा गन्न सकिने जडिबुटी मात्रै संकलन र निकासी हुने गरेको छ । नेपाल जडिबुटी उत्पादक संघका अनुसार गतवर्ष नेपालबाट १ अर्ब २९ करोड रुपैयाँको जडिबुटी निकासी भएको थियो । १ हजार ५०० जडिबुटी व्यवसायी यस क्षेत्रमा संलग्न छन् भने उनीहरुले वार्षिक ६ करोड रुपैयाँ सरकारलाई राजस्व तिर्ने गरेका छन् ।

यार्सागुम्बाको कुरा गर्ने हो भने यो एक यस्तो जडिबुटी हो, जसलाई जीव वा वनस्पति के भन्ने भनेर अनुसन्धानकर्ताहरु नै अहिलेसम्म पनि अनभिज्ञ नै छन् । वनस्पति जस्तो देखिने र जीव जस्तो पनि देखिने यार्सागुम्बा हिमालीभेगमा पाइन्छ । नेपालको पनि हिमाली जिल्लाहरु हुम्ला, जुम्ला, डोल्पा, मनाङ, मुस्ताङ, रसुवा, गोर्खा, बझाङ्ग, दार्चुला लगायतमा यो पाइन्छ ।

यार्सागुम्बाको सिजनमा पुरै वस्ती नै सुनसान हुने गरि संकलन गर्न मानिसहरु लेकतिर जान्छन् भने कतिपय विद्यालयहरु केहि महिना पूरै बन्द नै हुने गर्छन् । अहिले भन्दा करिव १ दशक अघिसम्म प्रतिकेजी ३ लाख रुपैयाँमा कारोबार हुने गरेको यार्सागुम्बा अहिले ३० लाख रुपैयाँ प्रतिकेजी भन्दा धेरै पर्ने गरेको छ । अध्ययनले देखाए अनुसार नेपालमा पाइने यार्सालाई ३ वर्गमा विभाजन गरिएको पाइन्छ । पहिलो गुणस्तरको यार्साको मुल्य प्रतिकेजी ३० लाख रुपैयाँ सम्म पर्ने गरेको छ भने दोस्रो नंबरको यार्साको मुल्य २० लाख र तेस्रो वर्गको यार्साको १० लाख रुपैयाँ सम्ममा कारोबार गरिने गरिएको छ ।

हिमाली जिल्लाहरु मध्ये सबैभन्दा धेरै डोल्पा जिल्लामा यसको संकलन हुदै आएको छ । यस जिल्लामा एकसिजनमा औसतमा ६७६ केजीसम्म संकलन भएको तथ्याङ्क छ । यो नेपालमै कूल यार्सा संकलनको ३६ प्रतिशत हो । त्यस्तै संकलनको हिसाबले दार्चुलामा ५४९ केजी, बझाङ्गमा ३५० केजी, जुम्लामा १६१ केजी र मनाङमा १३९ केजी यार्सा संकलन हुने गरेको छ । यो औसत तथ्याङ्क हो । वि.सं. ०६९ मा नेपालमा १ हजार २७६ केजी संकलन भएको थियो भने ०७० मा २ हजार २८८ केजी संकलन भयो ।

विश्वको सन्दर्भमा कुरा गर्ने हो भने प्रत्येकवर्ष १८३ मेट्रिकटन सम्म यार्सा उत्पादन हुने गरेको छ । जसमध्ये चीनमा ८० मेट्रिकटन, भारतमा ८ मेट्रिकटन, भुटानमा ५ मेट्रिकटन र नेपालमा ३ मेट्रिकटन सम्म उत्पादन भएको देखिन्छ । विश्वमै नेपालमा उत्पादन भएको यार्साले विश्व बजारको २ प्रतिशत स्थान लिएको छ भने गुणस्तरको हिसाबले नेपाल दोस्रोमा पर्न आउँछ । नेपालबाट चीन, कोरिया, ताइवान, सिङ्गापुर, म्यानमार, थाइल्याण्ड, जापान, वेलायत र अमेरिका सम्म यार्सागुम्बाको निकासी हुनेगरेको छ ।

यार्सा विश्वकै सबैभन्दा महङ्गो जैविक वस्तु हो । यसको मुल्य सुनको भन्दा पनि धेरै माथी पूगेको रेकर्ड पनि छ । आज भन्दा ६ वर्ष पहिले चीनमा प्रतिकेजी १ लाख डलर र सिङ्गापुरमा १ लाख ३० हजार डलर प्रतिकेजी यार्साको मुल्य कायम रहँदा सुनको मुल्य भने प्रतिकेजी ६८ हजार डलर मात्र थियो ।

अहिले पनि विश्व बजारमा ४५ हजार डलरदेखि यार्सागुम्बाको गुणस्तर हेरेर प्रतिकेजी ९० हजार डलर सम्म यसको कारोबार हुदै आएको छ । नेपालमा यति धेरै परिमाणमा यार्सागुम्बाको उत्पादन र संकलन हुने गरेपनि स्वदेशमै खपत भने ज्यादै न्यून मात्रामा हुने गरेको छ । उत्पादनको ९५ प्रतिशत हिस्सा निकासी हुन्छ । अरु देशहरुको तुलनामा नेपालमा यसको उत्पादन राम्रै हुने भएपनि यसको मुल्य, संकलन प्रणाली, विक्रि र निर्यात भने त्यति भरपर्दो तरिकाले हुन सकेको छैन । यार्सागुम्बाको मुल्यमा पनि एकरुपता पाईंदैन । व्यक्ति र ठाउँ अनुशार मुल्य तोकिन्छ भने व्यापारी र एजेन्टहरुले सकेसम्म कम मूल्यमा लैजान्छन् र धेरै मुल्यमा विक्रि गर्छन् । यता संकलनकर्ताहरुले भने त्यसको थोरै मात्र रुपैयाँ पाउने गरेका छन् ।

यति मात्र होइन, अवैध रुपमा पनि यसको ओसारपसार वढ्दो छ । हरेकवर्ष १ अर्ब रुपैयाँको कारोबार हुने यार्साको अवैध निकासीलाई रोक्न सरकारले पछिल्ला केहिवर्ष यता कडाई गरेको छ । यसको उत्पादन मध्ये सरकारले प्रतिकेजी १० हजार रुपैयाँ निकासी कर लिने गरेको छ भने स्थानियस्तरमा यसको संरक्षण र सुरक्षाका लागि भनेर खोलिएका संरक्षणक्षेत्र व्यवस्थापन समितीले ५ देखि १० हजार रुपैयाँ सम्म उठाउने गरेका छन् ।

मनाङ जिल्लाका साबिकका १३ मध्ये ११ गाविसमा यसको उत्पादन हुन्छ । कहिलेकाहिं एउटा गाविसबाट अर्कोमा वा एउटा जिल्लाबाट अर्को जिल्लामा संकलन गर्न जानेहरु वीच निकै ठूलो झगडा समेत हुने गरेको पनि पाइएको छ । ०६६ सालको जेठमा गोर्खाबाट मनाङमा यार्सा संकलनका लागि गएका ७ जनाको मनाङ्गीहरुले हत्या नै गरेका थिए । हुन त कुनैपनि क्षेत्रमा जो कसैले पनि खेतीपाती, उत्पादन र व्यापार गर्न पाउनु पर्ने हो तर पनि स्थानियहरुले यसमा धेरै स्वामित्व पाउने गरेका छन् । यो स्वभाविक पनि हो । तर पनि कसैको ज्यान नै लिने सम्मको कार्य भने पक्कै पनि उचित होइन । त्यसपछि अहिले भने स्थानियस्तरमा खुलेका संरक्षण समितीहरुले यार्सा संकलनका लागि अनुमती लिनु पर्ने नियम बनाएपछि यस्ता खाले झगडाहरुमा भने निकै कमी आएको छ ।

सरकारले यार्सागुम्बा लगायतका अन्य जडिबुटीहरुको उत्पादन, संकलन र व्यापारमा अझै निगरानी राख्नै पर्छ । यसका लागि उचित नियमकानुन बनाएर जति सक्दो उत्पादनमा वढावा दिने, यसमा संलग्नहरुलाई प्रसय दिने र यस्ता जडिबुटीहरुको स्वदेशमै उपयोग गरेर विदेशबाट वर्षेनी हुने गरेको अर्बौं रुपैयाँको औषधीजन्य वस्तुहरुको आयातलाई रोक्ने खालको नियम बनाउनै पर्छ । यसो गर्न सके मात्र वर्षौंदेखि त्यतिकै खेर गइरहेको नेपाली जडिबुटीहरुको उचित सदुपयोग हुन्छ ।

अनि मात्र कुहिएको आलु प्याजको भाउमा जडिबुटी निकासी गर्ने र डलर र आइसिको भाउमा त्यहि जडिबुटीबाट बनेका औषधी खरिद गर्ने नेपालको बाध्यात्मक अवस्थाको अन्त्य हुनेछ भने बढ्दो बेरोजगारीको पनि अन्त्य गर्न सकिन्छ । यसतिर सरोकारवाला निकायको पनि ध्यान जानु आवश्यक छ ।