सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढायो

सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढायो


सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । यातायात व्यवस्था विभागले मंगलबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको जानकारी गराएको हो ।

नेपाल आयल निगमले इन्धनको मूल्यमा एकै पटक १० रुपैयाँ बढाएपछि सरकारले गाडी भाडा समेत बढाउने निर्णय लिएको हो । इन्धनको मूल्य थपघटका आधारमा एकै पटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्ने नीति रहेको समेत विभागले जनाएको छ । विभागका अनुसार बढेको भाडा ४ जेठबाटै लागु हुने भएको छ ।

विभागका अनुसार यात्रुबाहक सवारीको हकमा ३।५ प्रतिशत भाडा बढेको छ । पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा ४।६ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ५।१ प्रतिशत मूल्य बढेको विभागले जनाएको छ ।

विभागका अनुसार काठमाडौंबाट इलाम पुग्न १९२५ रुपैयाँ लाग्ने छ । यसअघि १८६० रुपैयाँ थियो । काठमाडौंबाट सुदुरपश्चिमको सिलगढी पुग्न २३९३ रुपैयाँ लाग्ने छ । यसअघि २३१२ रुपैयाँ भाडा थियो । विभागका अनुसार छोटो दूरीको सवारी भाडा भने बढेको छैन ।

Logo