थरिथरिका पत्रकार, तपाई कुन पत्रकार ?

रामजी बलामी । 

पत्रकार अर्थात राष्ट्रको चौँथो अंग । यतिबेला तिनै चौँथो अंगको अंगभंग गर्ने कुराले सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमहरु समेत तातिरहेका छन् ।

हालै इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले स्थानीय पत्रकार विराट अनुपमको नाकको हड्डीको मूल्य १ करोड तोकेपछि अहिले सर्वत्र यसैको चर्चा परिचर्चा छ । स्मरण होस्, माओवादी द्वन्द्धकालमा तत्कालिन सरकारले पुष्पकमल दाहाल प्रचण्डको टाउकोको मूल्य ५० लाख रुपैयाँ तोकेको थियो । नेताको टाउकोको मूल्य भन्दा पत्रकारको नाकको भाउ बढेकै हो वा महंगी बढेको हो त्यो आफै जानून् ।

त्यस्तै केही समयअघि सुर्खेतका भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीले पत्रकारहरुमाथि भ्रष्ट र  दलालको आरोप लगाउंदै गाली गलौज गरे । पछिल्ला यी दुई दृस्टान्तबाट आम पत्रकारिता जगतले केही कुरा सिक्ने र सिकाउने बेला आएको जनाउ दिन्छ ।

कोही पनि मान्छेले आफ्नो पेशाको बदनाम गर्न चाहदैन । तर, सहकर्मीहरुले सिमा नाघेपछि पनि मौन बस्नु भने अपराधसरह नै हो । मान्छे मर्नु भन्दा रोग पल्किनु खतरानाक हुन्छ त्यसकारण समयमै रोग पहिल्याएर ठेगान लगाउनुपर्छ तब मात्रै समाज स्वस्थ बन्छ ।

हरेक पेशामा यस्ता मनोवृतिका पेशाकर्मीहरु हुन्छन् । यस्तो मनोवृतिका एकाध व्यक्तिले गर्दा सिंगो पेशा नै बदनामी हुनु पक्कै राम्रो होईन । यस्तो अवस्थामा तिनलाई व्यवस्थापन गर्ने दुई वटा उपाय हुन्छन् । पहिलो औषधि उपचार, दोश्रो जरो उखेल्ने । तब मात्रै आफ्नो पेशालाई बदनामी गर्ने हिम्मत कसैलाई आउँदैन । हरेक व्यक्तिले आफ्नो र अरुको पेशाको सम्मान गर्न सके अनि बन्छ सभ्य र समृद्ध मुलुक ।

कुनै पात्र र पेशाको मानहानी गर्ने मेरो मनशाय हुँदै होईन, पेशाको प्रयोग गरी हुने गरेका गलत प्रवृतिका बारेमा दुई चार शब्द खर्चिन लागेको मात्रै हो । त्यसकारण कसैसँग मेल खान गएमा आफूलाई सुधार्ने जमर्काे गरौँ । किनकी हामी सामाजिक प्राणी हौ । मरेर जाँदा तपाईकै लागि भनेर गोजीवाला कात्रो बनाईएको हुँदैन । यदि तपाईले मर्नुअघि नै गोजीवाला कात्रो सिलाउनु भयो भने पनि त्यसमा कति नै धन सम्पत्ती अट्छ र ।

पछिल्लो समय पत्रकारहरु विभिन्न घटनाहरुमा मुछिन थालेका छन् । यसमा अरुलाई चोर औँला देखाएर पत्रकार आफू जोगिने अवस्था छैन । कतिपय घटनाक्रममा पत्रकारहरुको गैरजिम्मेवारी भूमिका स्पष्ट देखिन्छ । तर, चौथो अंगको लेपन लगाएर चोखिने र चोख्याउने प्रवृतिले आम पत्रकारिता जगत बदनामी बन्दैछ । त्यसकारण सच्चा पत्रकारिता गर्नेहरु करोडौ मूल्यपर्ने नाक समेत लुकाएर हिड्नुपर्ने अवस्था छ । एकाध पत्रकारले गर्दा सिंगो पत्रकारिता जगतमै कालो धब्बा लाग्नु जायज त हुँदै होईन तर सम्वन्धित निकाय कसरी जायज मानिरहेका छन् । ताजुव लाग्छ ।

साँच्चै भन्नुपर्दा यतिबेला नेपाली पत्रकारहरुको इज्जत खासै छैन । यो कुरा तपाईले आफ्नै आसपास नियाल्ने हो भने घाम जत्तिकै छर्लङ्ग देखिन्छ । आश र त्रासकोबीचमा मात्रै अड्कीएको छ पत्रकारको मान, सम्मान र प्रतिष्ठा ।

गल्ती गर्नेहरु पत्रकारले केही लेखिदेलान् कि भन्ने त्रासले पत्रकारको मान, सम्मान गर्छन्, नाँई भन्न सक्दैनन् । अर्काेथरि पत्रकारको प्रयोग गर्ने आशले उनीहरुको मान, सम्मान गरिरहन्छन् ।

आम समाजले पत्रकारलाई अलि जान्ने बुझ्ने प्राणिकारुपमा लिन्छन् तर उनीहरु एउटा गल्ती के गर्छन् भने पत्रकार भनेका ज्ञानका मुहान हुन् जसले कहिल्यै गल्ती गर्नै हुँदैन भन्ने मानसिकता राख्छन् । यो गलत हो किनकी पहिलो गल्ती हरेकका लागि माफीयोग्य हुन्छन् । तर, गल्ती दोहोर्याउनु महागल्ती हो ।

यहाँ सरोकार समाजको होईन आम पत्रकारहरुको हो । पछिल्लो समय पत्रिका, रेडियो, टिभी, अनलाइन, युट्युबदेखि फेसबुके पत्रकारहरुको समेत विगविगी छ । सहकारी संस्था, बोर्डिङ स्कुल, मेडिकल जस्तै संचारमाध्यमहरु पनि फस्टाईरहेका छन् । नेपालमा करिब साढे ७ हजार पत्रपत्रिका लगायतका सञ्चारमाध्यमहरु दर्ता भएर सञ्चालनमा छन् । दर्ताबिना पनि उत्तिकै मात्रामा संचारमाध्यमहरु संचालन भईरहेका छन् । करिव १३ हजार भन्दा बढी पत्रकारहरु सुचिकृत छन् भने सुचना विभागमा नाम दर्ता नगराएका पत्रकारहरु पनि उत्तिकै छन् ।

संचारमाध्यम बढ्नु नराम्रो विल्कुलै हुँदै होईन तर तिनले कतिको सामाजिक दायित्व निभाएको छ भन्ने प्रधान कुरा हो । समाचार के हो र के होईन भन्ने कुरा समेत खुट्याउन नसक्ने व्यक्तिले संचारमाध्यम चलाउन थालेपछि उसले समाजमा कस्तो छाप छोड्ला ? कपी पेष्ट जस्ता हटपट र चटपट पत्रकारिताले गर्दा सत्य, तथ्य, खोज अनुसन्धान, विश्लेषणात्मक पत्रकारिता ओझेल पर्न थालेको स्पष्ट देखिएकै छ ।

नेपालमा नराम्ररी फस्टाएको पत्रकारिता हो दलगत पत्रकारिता । ‘बिट वाइज’ पत्रकारिता हुँदै ‘दल वाइज’ बन्न पुगेका पत्रकारहरुलाई आम सर्वसाधारणले पछिल्लो समय ‘हनुमान पत्रकारिता’ भन्न थालेका छन् । आफ्नो पार्टीले जे गरे पनि सही देख्ने, आफ्नो  साँख गिराएर भए पनि पार्टीको बचाउ गर्न कुनै कसर बाँकी नराख्ने, संगठितरुपमै बचाउ र आलोचना गर्ने उनीहरुको मुख्य उद्धेश्य हुन्छ । अझ पछिल्लो समय त पार्टीभित्र पनि गुटको पत्रकारिता गर्नेहरु निकै देखिन्छन् । त्यसैले पो हो कि सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पत्रकारलाई दशैको पेश्की लिन मन्त्रालय बोलाएको ? सके मन्त्री र नसके सल्लाहकार बन्ने उनीहरुको प्रमुख ध्याउन्न हुन्छन् ।

हास्यास्पद त त्यतिबेला लाग्छ उही कुरा आफ्नो दल सत्तामा हुँदा सही भन्छन् र प्रतिपक्षीमा हुँदा गलत भनेर कुर्लन्छन् । यी मार्काका पत्रकारहरुले आफ्नै स्टाटस स्क्रोल गरेर हेर्ने हो भने यो करोडौ पर्ने नाकमुख कहाँ लुकाउँछन् भन्ने आम चिन्ता छ । दलगत पत्रकारिता गलत होइन तर भजनगान र स्तुतीगान भन्दा पनि यथार्थ र सुझावमुलक सामग्री बनाईदियो भने पत्रकार र पार्टी दुबैका लागि हितकारी हुन्छ ।

अर्काेथरी पत्रकार छन् घुमाउरो पत्रकार । यस्ता पत्रकारहरु बेलाबखत समय परिस्थितिले जन्माउँछ । आफ्नो स्वार्थ पूरा नहुञ्जेल ‘फलो अप’ गरेको गर्यै गर्ने । उनीहरुको काम हिसाव राफसाफ मिलेपछि फेरि इस्यु अर्कैलाई हस्तान्तरण गर्ने खालका हुन्छन् ।

अर्काेथरी हुन्छन्, हाकिम पत्रकार । जसको नजर जहिल्यै कार्यालयको हाकिमहरुतर्फ ठोकिन्छन् । यही पत्रकारिता गरेर कतिपयले सरकारी जागिर पड्काएका छन् । स्थानीय निकायदेखि केन्द्रसम्म आफैं अथवा आफन्तलाई भर्ती गर्ने उनीहरुको प्राथमिक काम हुन्छ । यसरी भर्ती भएका पत्रकारलाई दोब्बर तेब्बर फाइदा छ ।

यस्ता पत्रकारलाई हाकिमले केही भन्ने आँट समेत गर्न सक्दैनन् । त्यसले भएभरको विज्ञापन उनैको मिडियालाई सुम्पिनेदेखि बजेट निकासामा समेत उनैलाई पहिला भाग छुट्याईन्छ । पत्रकार र कार्यालयका हाकिम मिलेर बजेट कुम्ल्याएका अनेकन घटना छन् ।

पछिल्लो समय मौलाएको ‘कपी पेष्ट पत्रकारिता’ ले त झनै डामाडोलको अवस्था सिर्जना गरिदिएको छ । सामान्य समाचारहरु त मै हुँ भन्ने अनलाइनहरुले पनि कपी पेष्ट गर्न बाँकी राखेका छैनन् । यो त पछिल्लो समय स्वभाविक बन्न थालेको छ । तर, समस्या के हो भने कोही समाचार चोर्न जान्दैनन्, कोही ओभरस्मार्ट तरिकाले चोरिदिन्छन् । व्याकरणको त कुरै छाडौं । सूचना, समाचार, निमन्त्रण, विज्ञापन सबै एकैठाउँ घोलेर पाठकलाई जवरजस्ती पस्केको पनि देखिन्छन् । विचरा पाठक के मात्र निल्नु, कसरी निल्नु ! जवरजस्ती निल्यो डाईरियाको डर ।

अर्काे समस्या भनेको इस्ट्यान्ट आर्टिकल र युट्युबर हो । इन्स्ट्यान्ट आर्टिकल र युट्युब मिडिया व्यवसायिक पत्रकारिताको माध्यम हो । त्यसकारण यसलाई स्वीकार्नुपर्छ । तर, यसले नेपालमा एकदमै विकृत रुप लिन थालेका छन् । आफ्नो ब्राण्डको ख्यालै नगरी सनसनी शिर्षक राख्ने, हल्लाको पछाडि कुद्ने, एउटै विषयलाई अनावश्यकरुपमा आ–आफ्नै तरिकाले तन्काउनेलगायतका प्रवृतिले पत्रकारिता जगतमा दाग लगाईदिएको छ । यसको पछिल्लो उदाहरण हो ‘ज्योतिष’को महाभूकम्प भविष्यवाणि ।

केही त्यस्ता यु ट्युवरहरुका कारण ब्राण्ड स्थापित गरेर पत्रकारिता गर्न चाहने अनलाइन टिभीहरुलाई समेत धक्का लागेको छ । दुःखका साथ भन्नुपर्छ अहिले नेपाली युट्युबको ट्रेण्डिङ लिष्ट हेर्ने हो भने एकाध बाहेक धेरैजसो विषयहरु अनावश्यक विषयका भिडियोहरु छन् । पत्रकारले विषयवस्तुलाई तोडमोड गर्ने होइन जस्ताको त्यस्तै प्रस्तुत गर्ने हो । एक जना पत्रकारले तोडमोड पत्रकारिता गर्दा अन्य सयौं पत्रकारलाई त्यसले प्रभाव पारिरहेको हुन्छ ।

यि बाहेकका पत्रकारहरु ‘सामान्य पत्रकार’ मा गनिन्छन् । चाहे तिनले जतिसुकै उथलपुथल गरोस् । जतिसुकैको कल्याण गरोस् । जतिसुकैको दुःख पीडा लेखोस् । मासिक तलवमा पसिना बगाउने पत्रकारहरु यो मार्कामा पर्छन् क्यार । दिनभर करोड र अर्बको समाचार लेख्ने, घर गएर चाउचाउ उमालेर खाने पनि यिनै मार्काका पत्रकारहरु हुन् । तर, विडम्वनाका साथ भन्नुपर्छ यस्ता पत्रकारहरु मिडिया हाउसकै चेपुवामा पर्ने गरेका छन् । कतै मिडिया हाउसको यिनै चेपुवा प्रवृतिले पो पत्रकारितामा कुकर्म बढेका हुन् कि भन्ने लाग्छ ।

राष्ट्रको चौथों अंगको नाकको हड्डी भाँच्ने चेतावनी दिने परिस्थिती र हिम्मत कसरी आयो ? पत्रकारमाथि भुईभन्दा पनि तल गिरेर चेतावनी दिँदा समेत पनि आम सर्वसाधारण किन पत्रकारकै विरोध गरिरहेका छन् ? एउटा पत्रकारमाथि यति ठूलो चेतावनी आउँदा सम्बन्धित दलका अन्य पत्रकारहरु किन मौन छन् ? के यस विषयमा हामी पत्रकारिताको धर्म निभाउँन सक्दैनौ । यदि यो सबैकुरा जायज हो भने मिडिया काउन्सिल विधेयकको विरोध गर्नुको कुनै तुक छ र ?

चौँथो अंगको हालत किन यस्तो भयो ? यस्तो हालत हुनुमा तपाईको पनि हात छ कि ? सोच्ने बेला आएको छ । अन्यथा तपाईको नाकको डाँडी मात्रै होईन ढाड, नलीखुट्टा, करङ भाँचेर श्वासनली नै चुँडिए पनि कसैले बचाउ गर्नु हुँदैन किनकी गलत प्रवृतीको बचाउ गर्नु झन ठूलो गल्ती हो । डराएर र लोभिएर दिइएको सम्मानमा पत्रकारहरु कहिलेसम्म नाक फुलाएर बस्ने ?