२ महादेशसहित अधिकांश देशमा नयाँ थपिने भन्दा निको हुने धेरै, ‘एक्टिभ केश’ पनि कम

२ महादेशसहित अधिकांश देशमा नयाँ थपिने भन्दा निको हुने धेरै, ‘एक्टिभ केश’ पनि कम


काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट नेपालमा आइतबार ९८० जना नयाँ संक्रमित थपिए भने एक हजार ८१४ जना संक्रमणमुक्त भए। अर्थात कोरोना संक्रमित भन्दा करिब दोब्बर संख्यामा संक्रमित निको भए।

नेपालमा कोरोनाबाट निको हुनेको संख्या यो नै अहिलेसम्मकै धेरै हो।  यस अघि शनिबार पनि एक हजार ४१ जना कोरोना संक्रमित थपिँदा १ हजार ५ सय ६६ जना संक्रमित निको भएर घर फर्किएका थिए।

शनिवार ९ जनाको मृत्यु भएकोमा आज पनि ९ जनाकै मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या २८९ जना पुगेको छ।  यस्तै आइतबारसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४६  हजार २ सय ५७ जना पुगेको छ ।

देशभरी सक्रिय संक्रमित १७ हजार २७ जना रहेका छन् भने अहिलेसम्म २८ हजार ९४१  जना निको भएका छन् । अर्थात नेपालमा अहिले संक्रिय केश भन्दा निको हुनेको संख्या १० हजार भन्दा बढी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा अहिलेसम्म कुल संक्रमित मध्ये ०.६२ प्रतिशतको मृत्यु भएको छ । यस्तै ६२ दशमलव ५७ प्रतिशत विरामी निको भएका छन् भने ३६ दशमलव ८१ प्रतिशत उपचाररत छन् ।

कोरोनाको हटस्पट बनेको पर्सामा पनि पछिल्लो समय नयाँ संक्रमित थपिने भन्दा निको हुनेको संख्या बढ्दो छ । हालसम्म पर्सामा २ हजार ३ सय ७७ जना संक्रमितहरु रहेकामा निको हुनेको संख्या एक हजार ४ सय १२ पुगेको छ ।

नेपालमा मात्रै होइन विश्वका अधिकांश देशमा नयाँ थपिने संक्रमित भन्दा निको हुनेको संख्या बढी पाइएको छ । यस्तै अधिकांश देशमा उपचाररत संक्रमित भन्दा निको हुनेको संख्या बढी छन् ।

हटस्पट भारतमा अहिलेसम्मकै धेरै निको

उत्तरी छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरसले यतिबेला भारतलाई हटस्पट बनाइरहेको छ । त्यहाँ दैनिक सरदर ८० हजारको हाराहारीमा कोरोना संक्रमित विरामी थपिरहेका छन् । भारतको स्वास्थ्य मन्त्रालयले आइतबार बिहान सार्वजनिक गरेको तथ्याकं अनुसार एकैदिन ९० हजार ६३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो एकैदिन फेला परेको सबैभन्दा धेरै संक्रमित हो । त्यस्तै भारतमा आइतवार बिहानसम्म एक हजार ४४ जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७० हजार ६७९ पुगेको छ ।

तर सुखद कुरा के छ भने भारतमा आइतबार दिउँसो २ बजेसम्मको तथ्यांक हेर्दा एकैदिन ७३ हजर १६१ जना निको भएका छन् । यो पनि भारतमा एकैदिन निको हुने संक्रमितको सबैभन्दा उच्च संख्या हो ।

भारतमा अहिलेसम्म ४१ लाख १५ हजार भन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । कोरोना भाइरस संक्रमित देशहरुको सूचिमा भारत तेस्रो सथानमा छ । पहिलो स्थानमा अमेरिका र दोस्रोस्थानमा ब्राजिल रहेका छन् । भारतमा यही रप्mतारमा कोरोना संक्रमित थपिने हो भने केही दिनमै ब्राजिललाई उछिनेर विश्वको दोश्रोस्थानमा पुग्ने निश्चित छ । भारतमा अहिलेसम्म ७० हजार ७ सय भन्दा बढी कोरोना संक्रमितको मृत्यृु भएको छ भने ३१ लाख ७७ हजार भन्दा बढी निको भएका छन् । त्यस्तै भारतमा ८ लाख ६२ हजार भन्दा बढी सक्रिय केश रहेका छन् ।

कुन महादेशको अवस्था कस्तो ?

कोरोनाको केन्द्रबिन्दु बन्न पुगेको युरोपमा शनिवार र आइतवारबीचको २४ घण्टाको तथ्यांक तुलना गर्दा नयाँ संक्रमित र निको हुनेको संख्या करिव बराबरी देखिन्छ । यसअवधिमा २९ हजार ३४८ नयाँ संक्रमित फेला पर्दा २९ हजार २६४ जना निको भएका छन् ।

३७ लाख ७१ हजार ८ सय भन्दा बढी संक्रमित फेला परेको युरोपमा २१ लाख ५२ हजार भन्दा बढी निको भइसकेका छन् । यस्त्ै १४ लाख ९ हजार भन्दा बढी संक्रिय केश रहेको युरोपमा २४ घण्टामा ३१२ जनाको मात्रै मृत्यु भएको छ । युरोपका ४८ वटा देशमा गरी अहिलेसम्म २ लाख ९ हजार भन्दा बढीको मृत्यु भएको छ ।

यता उत्तर अमेरिकामा २८ लाख १९ हजार सक्रिय केश हुँदा ४५ लाख २९ हजार भन्दा बढी निको भएका छन् । वितेको २४ घण्टामा त्यहाँ ५३ हजार १९१ वटा नयाँ केश फेला परेका छन् भने ३७ हजार ८६९ जना निको भएका छन् । दुई लाख ७९ हजार भन्दा बढीले ज्यान गुमाएको उत्तर अमेरिकामा वितेको २४ घण्टामा एक हजार ३३८ जनाले ज्यान गुमाएका छन् ।

यो क्षेत्रको सबैभन्दा बढी प्रभावित अमेरिकामा वितेको २४ घण्टामा ४२ हजार ९५ वटा नयाँ केश भेटिएका छन् भने ३० हजार ४३१ जना निको भएका छन् । अमेरिकामा ३७ लाख ७ हजार जना निको भएका छन् भने २५ लाख ३१ हजार सक्रिय केश रहेको छन् । एक लाख ९२ हजारको ज्यान गएको अमेरिकामा चौविस घण्टामा ७०७ जनाको मृत्यु भएको छ ।

यता एसिया क्षेत्रमा शनिवार र आइतवारको २४ भण्टाको बीचमा एक लाख १६ हजार वटा नयाँ केश भेटिएका छन् भने ९४ हजार ६२३ जना निको भएका छन् । ६१ लाख ३३ हजार भन्दा बढी संक्रमित रहेको यो क्षेत्रमा अहिले १३ लाख ५७ हजार मात्रै संक्रिय केश रहेका छन् ।

उता दक्षिण अमेरिकामा वितेको २४ घण्टामा ६२ हजार ५९१ वटा नयाँ केश भेटिएका छन् भने ४९ हजार ७२२ जना निको भएका छन् । दक्षिण अमेरिका क्षेत्रमा ५२ लाख ८१ हजार भन्दा बढी निको भएका छन् भने त्यहाँ अब ११ लाख ९२ हजार केश मात्रै सक्रिय छन् । दक्षिण अमेरिकाका सबैभनदा बढी प्रभावित ब्राजिलमा भने वितेको २४ घण्टामा ३१ हजार भन्दा बढी कोरोना संक्रमित भएका छन् भने १८ हजार भन्दा बढी निको भएका छन् ।

यस्तै अफ्रिकामा पनि पछिल्लो तथ्यांक विश्लेषण गर्दा नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढी छ । वल्र्डओमिटरका अनुसार वितेको २४ घण्टामा ७ हजार ५०५ नयाँ नयाँ संक्रमित भेटिँदा ७ हजार ८६२ जना कोरोनामुक्त भएका छन् । १२ लाख ९७ हजार भन्दा बढी स.क्रमित भेटिएको अफ्रिकामा १० लाख ३३ हजार भन्दा बढी निको भएका छन् । त्यहाँ २ लाख ३२ हजार एक्टिभ केश रहेका छन् । अफ्रिका महादेशमा सबैभन्दा बढी संक्रमित भेटिएको दक्षिण अफ्रिकामा पनि कुल संक्रमित मध्ये ५ लाख ६१ हजार भन्दा बढी निको भएका छन् भने ६० हजार ९ सय जना उपचाररत छन् ।

उता ओसिनिया क्षेत्रमा वितेको २४ घण्टामा ८५ जना नयाँ संक्रमित फेला परेका छन् भने १६३ जना निका भएका छन् । २९ हजार भन्दा बढी संक्रमित रहेको यो क्षेत्रमा वितेको २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । यो क्षेत्रमा २४ हजार ६ सय भन्दा बढी निको भइसकेका छन् भने ३ हजार ८ सउय भन्दा बढी उपचार गराइरहेका छन् । यो क्षेत्रमा सबैभन्दा बढी संक्रमित देखिएको अष्ट्रेलियामा वितेको २४ घण्टामा जम्मा ७१ जना संक्रमित फेला परेका छन् तर, यस अवधिमा १६१ जना निको भएका छन् । अर्थात ओसिनिया क्षेत्रमा वितेको २४ घण्टामा नयाँ संक्रमित भन्दा निको हुने धेरै छन् ।

के छ विश्वको पछिल्लो अवस्था ?

पछिल्लो तथ्यांक अनुसार विश्वभर २ करोड ७० लाख ८३ हजार भन्दा बढी कोरोना संक्रमित भएका छन् । तीमध्ये १ करोड ९२ लाख १ हजार ५७३ जना निको भएका छन् भने ८ लाख ८४ हजार २८ जनाको ज्यान गएको छ ।

वल्र्डओमिटरमा अनुसार अहिले विश्वभर ६९ लाख ९७ हजार ६१२ जनाको उपचार भइरहेको छ । तीमध्ये ६० हजार १२७ अर्थात १ प्रतिशत केश गम्भीर छन् । कुल संक्रमित मध्ये ४ प्रतिशतको मृत्यु भएको छ ।

तथ्यांक अनुसार क्रमशः सबैभन्दा बढी अमेरिका, ब्राजिल, भारत, रसिया, पेरु, कालोम्बिया, दक्षिण अफ्रिका, मेक्सिको, स्पेन र अर्जेन्टिनामा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । सूचिमा पहिलो स्थानमा रहेको अमेरिकामा ६४ लाख ३१ हजार व्यक्ति संक्रमित भएका छन् भने दशौंस्थानमा रहेको अर्जेन्टिनामा ४ लाख ७१ हजार संक्रमित भेटिएका छन् ।

Logo