#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व18817142706694610701412003434
नेपाल2139060617415156

पशुपतिको सुन गायब : ५६ वर्षमा जम्मा ९ किलो मात्रै !

file photo

काठमाडौं,

धर्म हुने भन्दै पशुपतिनाथमा सुन चढाउन चाहने धेरै हुन्छन् । चढाउँछन् पनि । तर, त्यही सुन अभिलेखमा नराखी गायब पार्ने पनि हुँदा रहेछन् । पशुपतिनाथ मन्दिरमा ५६ वर्ष अवधिमा चढाएको सुन जम्मा ९ किलो पाइएको छ । २०४५ देखि २०५२ सम्म चढाइएको सुनको विवरण अभिलेखमा छैन । २०३५, २०३६, २०४२, २०४३, २०४४, २०५३, २०६० र २०६३ को सुन पनि अभिलेखमा छैन ।

‘मिति उल्लेख छ, तर सुनको विवरण छैन’, एक कर्मचारीले भने, ‘यो सुन ढुकुटीमा नराखी गायब बनाइएको अनुमान सहजै गर्न सकिन्छ ।’ उनका अनुसार मुचुल्का देखियो, लगत प्राप्त भयो तर सुनको मात्रा खुलाइएको छैन । सुन मूल ढुकुटीमा राख्ने गरिन्छ । त्यसमा लेखिएजति छ÷छैन पनि खुल्दैन । सर्वोच्च अदालतको २०६६ पुस २७ को परमादेशका कारण यसलाई खोलेर हेर्न मिल्दैन ।

पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानबिन समितिले बुधबार पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकाललाई बुझाएको प्रतिवेदनमा मुचुल्का भएपनि सुन नभएको देखिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाको संयोजकत्वमा गठन गरेको उक्त समितिले ६२४ पृष्ठको प्रतिवेदन तयार पारेको छ । त्यसमा पशुपतिको सुन लगायत चल–अचल सम्पत्ति ठूलो मात्रामा यताउता पारिएको देखाइएको छ ।

समितिले खोजमा २०२० मंसिर ५ गते पहिलोपटक पशुपतिनाथलाई सुन चढाइएको अभिलेख भेट्टाएको छ । पहिलोपटक ३ तोला ३ मासा ७ लाल सुन अर्पण गरिएको थियो । यस लगत्तै मंसिर १५ गते ९ तोला ८ मासा ९ लाल सुन मन्दिरमा चढाइएको थियो । यसपछि २०२१ देखि २०२६ सालसम्म कसैले पनि पशुपतिनाथमा सुन चढाएको अभिलेख नदेखिएको संयोजक थापाले जानकारी दिए ।

प्रतिवेदन अनुसार पशुपतिनाथमा जम्माजम्मी ९ किलो २७६.६४ ग्राम सुन रहेको पाइएको छ । त्यो २०१९ सालदेखि २०७५ सालसम्ममा भक्तजनले चढाएर विवरणमा राखिएको मात्र हो । त्यस्तै ३ सय १६ किलो ५८६ ग्राम चाँदी पाइएको छ । संयोजक थापाले पशुपतिनाथको मूल ढुकुटीमा रहेको अभिलेखका आधारमा खोजी गरिएको बताए ।
अन्नपूर्णबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार