विश्वकप क्रिकेट : भारतको गतिलो शुरुवात, दक्षिण अफ्रिका ६ विकेटले पराजित

काठमाडौं,
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले हराएको छ । योसँगै दक्षिण अफ्रिकाले लगातार तेस्रो हार व्यहोरेको छ भने भारतले गतिलो शुरुवात गरेको छ । दक्षिण अफ्रिकाले दिएको २२८ रनको विजयी लक्ष्य भारतले ४७ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टाएको हो ।

भारतका लागि रोहित शर्माले शतक प्रहार गरे । रोहितले नटआउट रहँदै १२२ रनको योगदान दिए । १४४ बल सामना गरेका उनले १३ चौका र २ छक्का प्रहार गरे । यस्तै ३४ बल खेलेका कप्तान विराट कोहली १८ रनमा आउट हुँदा महेन्द्रसिंह धोनीले ३४ रन बनाए । त्यस्तै केएल राहुलले २६ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले २ विकेट लिए । त्यस्तै क्रिस मोरिस र एन्डिल फेलुकवायोले एक एक विकेट लिए । लगातार ३ पटकको पराजयपछि दक्षिण अफ्रिका भने अभागी टोली साबित भएको छ ।