१३ औं आशा आर्किटेक्चर प्रदर्शनी हुँदै

ललितपुरको पुल्चोक ईञ्जिनियरिङ क्याम्पसमा १३ औं राष्ट्रिय आर्किटेक्चरल प्रदर्शनी हुने भएको छ । एशोसिएसन अफ स्टुडेन्ट्स अफ आर्किटेक्चर (आशा) ले क्याम्पस प्रांगणमा प्रदर्शनी आयोजना गर्न लागेको हो ।

प्रर्दशनीमा आर्किटेक्चर क्षेत्रमा भएका नयाँ आविष्कारहरु, यससँग सम्बन्धित उत्पादनहरु, निर्माण सामाग्री, प्रविधि र डिजाइनहरु प्रस्तुत गरिने छ । यसका साथै निर्माण क्षेत्र, आर्ट र सहरी विकासमा आर्किटेक्चरको भूमिकाहरु पनि प्रदर्शनीमा राखिनेछ । प्रदर्शनीमा कला, फोटोग्राफी र विभिन्न डिजाइनहरु प्रस्तुत गरिने आयोजक सदस्य प्रशंसा भट्टले जानकारी दिइन् । उनले प्रतिस्पर्धात्मक प्रदर्शनी आयोजना गर्न लागिएको पनि बताईन् ।

हरेक बर्ष संचालन हुँदै आएको यो प्रदर्शनीको यस बर्षको नाम ‘आँगन’ राखिएको छ । सबै जना भेला भएर आर्किटेक्चर सम्बन्धी सबै जानकारी लिन सकिने हुनाले प्रदर्शनीको नाम ‘आँगन’ राखिएको आयोजक सदस्य सुधा कट्टेलले बताईन् । उनले आर्किटेक्चरको दायरा बढ्दै गएको परिप्रेक्ष्यमा यसबारे आम सर्वसाधारणमा जानकारी दिन प्रदर्शनी आयोजना गर्न लागिएको जानकारी दिईन् । उनले पछिल्लो समय व्यक्तिगत घर निर्माणदेखि सहरी संरचनाको विकासमा समेत आर्किटेक्चरको भूमिका महत्वपूर्ण हुने बताइन् ।

अवलोकनकर्ताहरुलाई मनोरोञ्जन दिनका लागि प्रदर्शनीस्थलमा साँगेतिक प्रस्तुतीहरु पनि समावेश गर्न लागिएको आयोजकले जनाएको छ । प्रदर्शनी आगामी असारको ६ गतेदेखि ८ गतेसम्म संचालन हुनेछ ।

प्रदर्शन आयोजन गर्नुपूर्व विभिन्न खालका प्रतिस्पर्धाहरु संचालन हुने भएका छन् । जस अन्तर्गत विद्यार्थीहरुलाई प्रोत्साहन गर्न सिर्जनात्मक डिजाइनहरुको प्रतिस्पर्धा गर्न लागिएको छ । त्यस्तै फोटोग्राफी प्रतिस्पर्धा पनि हुनेछन् । यसबाट छनौटमा परेको फोटो प्रदर्शनीस्थलमा राखिने छ । त्यस्तै गरी ओपन आर्ट प्रतिस्पर्धा पनि संचालन गरिने भएको छ । जसमा छनौटमा परेको आर्टलाई प्रर्दशनीस्थलमा राखिनेछ । त्यस्तै कुनै एक विषयमा प्यानल डिस्कसन पनि हुने भएको छ ।

प्रदर्शनी अगावै सफ्टवेयर रिहर्सल पनि गरिनेछ । जसमा अटो क्याड, स्केच अप, लुमिअन, रेभिट जस्ता सफ्टवेयरहरु प्रस्तुत गरिनेछ । त्यस्तै मोडल मेकिङ वर्कशप पनि संचालन गरिने भएको छ । यसका साथै साइक्लिङ, वाकाथन, जस्ता कार्यक्रमहरु पनि गरिने जनाएको छ ।

प्रदर्शनीमा ६० प्रतिशत विद्यार्थी, ५ प्रशित विभिन्न पेशाकर्मी, १० प्रतिशत प्रोफेशर र २५ प्रतिशत सर्वसाधारण सहभागि हुने आयोजकको अपेक्षा छ । प्रदर्शनी मार्फत विभिन्न कम्पनीहरुको पनि प्रवर्द्धन गरिने आयोजकले जनाएको छ ।

वातावरण दिवसको अवसरमा वृक्षारोपण
यसैबीच पुल्चोक क्याम्पसमा अध्ययनरत आर्किटेक्चर विभागका बिद्यार्थीहरुले विश्व वातावरण दिवसको अवसर पारेर वृक्षरोपण कार्यक्रम गरेका छन्। करिव १५० जना बिद्यार्थीहरुको समूहले ललितपुरको धापाखेलमा वृक्षरोपण गरिएको सुधा कट्टेलले जानकारी दिइन् ।
नेपाटप, पेप्सी र प्लान्ट्स फर लाइफको सहयोगमा गरिएको सो वृक्षरोपण कार्यक्रममा करिब १०० वटा विरुवा रोपिएको थियो । कार्यक्रममा
नायिका तथा इन्जिनियर सुरक्षा पन्त पनि सहभागी थिईन् ।
सहभागी सबैलाई मायाको चिनो स्वरुप टि-सर्ट वितरण गरिएको थियो ।