चट्याङ लागेर २ जनाको मृत्यु, ८ जना घाइते

हावाहुरीसंगै परेको  चट्याङबाट दुई जनाको मृत्यु भएको छ ।

मकवानपुरको राक्सिराङ–९ च्योराङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान ४ बजे परेको चट्याङबाट घरमा सुतिरहेका बिनोद पाख्रिनको मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङबाट बृद्धिलाल मोक्तान गम्भीर घाइते भएका छन् ।

यसैबीच, प्युठानको उत्तरी भेग गौमुखी गाउँपालिका–५ खुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय जनसहयोगी आधारभुत विद्यालयमा पढाउँदै आएका शिक्षक ३४ वर्षीय पशुपति आचार्यको गएराति चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको हो ।

त्यस्तै, डोटीमा ७ जना चट्याङबाट घाइते भएका छन् । बिहिबार राति ६ जना र शुक्रबार फेरि थप एक जनालाई चट्याङ लागेको हो । घाइते हुनेहरूमा २६ वर्षीया देवि बोहरा, २३ वर्षीया भगु दमाई, ३५ वर्षीया पदमा धानुक, १६ वर्षीया कल्पना ढोलि, २८ वर्षीया दुर्गा दमाई, ३२ वर्षीया जमनि दमाई र वर्षीया २८ मिढु दमाई रहेका छन् ।