जुध्यो लोक भाका: अध्ययनको कमी अथवा कलाकारको नियतमै खोट ?

दुर्गा पंगेनी ।

पछिल्लो समय यति धेरै लोक गीतहरूको भाका जुधेका हल्लाले बजार तातिएको छ कि अवस्था यही रहिरहे अब लोक कलाकारले रोयल्टी थाप्ने होइन समाजको प्राकृतिक श्रोतको उपयोग गरेर व्यापार गरेको मान्दै राज्यले कर उठाउनुपर्ने हुन जान्छ । किनभने डिजिटल प्लेटफर्म र स्टेज कार्यक्रमहरूमा समाजका भाका बेचेर कलाकारले मनग्य आम्दानी गरिरहेका छन् । अझ कति कलाकारले त अनैतिक रूपमा समेत बेचेका छन् ।

लोकगीतको प्रतिलिपि अधिकारको बारेमा कानुन स्पष्ट भए पनि सरकारी संयन्त्रहरूको दोहोरो मापदण्ड देखिदैं आएको छ । प्रतिलिपि अधिकारको रक्षा गर्न बनाइएको कानुनमा स्पष्टसँग लेखिएको छ की लोकगीत, लोक लय र भाका, लोककथा, लोक उखान इत्यादि लोकमा प्रचलित कुराहरूको प्रतिलिपि अधिकार कसैमा निहित रहने छैन । आवश्यकता हेरेर लोकमा रहेका यस्ता सम्पत्ति लोकवासीहरूले प्रयोग या पुनः प्रयोग गर्दा कसैको प्रतिलिपि अधिकार हनन भएको मानिने छैन ।

कानुनको यही व्याख्यालाई मात्रै हेर्दा कसैले पहिला गाएको या रेकर्ड गराई सकेको गीत कसैले पुनः रेकर्ड गर्न कुनै कानुनले रोक्छ जस्तो लाग्दैन । यदि त्यो लोकमा प्रचलित समाजको सामाजिक सम्पत्ति हो भने त झन् हु बहु रेकर्ड गर्दा पनि कानुनले रोक्दैन । कहीँ कतैका एक दुई टुक्का या छोटो लयको उद्धरण गर्नै नपाउने भन्ने प्रश्न नै रहेन । त्यसैले लोकगीतका भाका जुधेको कुरामा अथवा पुराना लोकगीतको शब्द दोहोरिएको मुद्दामा कुनै पनि कानुनको धारा दफा आकर्षित हुँदैन ।

त्यसपछि आउँछ रोयल्टीको कुरा । कुनै पनि कलाकारको मौलिक रचनालाई बौद्धिक सम्पत्ति मानिने विश्वव्यापी प्रचलन छ र बौद्दिक सम्पत्तिको प्रयोग बापत मात्र रोयल्टी तिर्ने या उठाउने प्रचलन हुनुपर्नेमा नेपालको चलन अलिकति फरक रहेको देख्न सकिन्छ ।

त्यो फरक मान्यता के भने, लोकगीत कसैको बौद्धिक सम्पत्ति होइन र लोकगीतको प्रतिलिपि अधिकार सुरक्षण पनि गरिँदैन तर पनि लोकगीतलाई रोयल्टी चाहिँ प्रदान गरिन्छ । यदि सङ्कलन गरिएको लोकगीत सामाजिक सम्पत्ति हो र त्यसमा कुनै व्यक्तिको प्रतिलिपि अधिकार कानुनी रूपमा संरक्षित छैन भने कुनै व्यक्तिलाई अथवा त्यो गीतको संकलकलाई उक्त गीतको रोयल्टी किन प्रदान गरिँदै आइएको छ त्यो बहसको विषय हुन सक्छ ।

यसरी बहस गर्दा लोकगीत सङ्कलन गरेर रेकर्ड गरी डिजिटल रूपमा या अन्य तरिकाले विक्री वितरण गरी कसैले धन आर्जन गर्दछ भने सामाजिक सम्पत्ति प्रयोग गरे बापत कलाकारले समाजलाई या राज्यको सम्पत्ति प्रयोग गरे बापत राज्यलाई कर किन तिर्नु नपर्ने ? भन्ने प्रश्न पनि उठाउन सकिने रहेछ ।

स्थानीय स्तरका सम्पूर्ण प्राकृतिक स्रोतहरूमा स्थानीय निकायको पूर्ण अधिकार रहेको आजको अवस्थामा लोकलय, लोकगीत र लोकभाकाहरुलाई राज्यले नै प्राकृतिक श्रोत मानेर त्यसको व्यवसायीकरण गर्न थाल्ने कानुन बनाई त्यो भेगका लोकगीत बिक्री गरेका कलाकारहरूबाट राजस्व उठाउन थाल्यो भने लोकगीतका व्यापारी कलाकारले राज्यलाई कर तिर्नुपर्ने की नपर्ने ? यो अर्को महत्त्वपूर्ण प्रश्न हुन सक्छ ।

यो कुरा ‘सोह्रै कल्पना’ मात्र पनि हुन सक्छ तर जलश्रोत, जङ्गल लगायत प्राकृतिक श्रोतको उपयोग गरे बापत कम्पनीहरूसँग राज्यले कर उठाउँछ । त्यसरी नै प्राकृतिक सम्पत्ति लोकभाकाको प्रयोग बापत राज्यले कर उठाउने कानुन किन आउन सक्दैन ? यदि त्यस किसिमको कानुन आइहाल्यो भने नेपाली लोकलय गुगल लगायत कम्पनीहरू मार्फत बेचेर मनग्य आय गरेका कलाकारहरूले राज्य या समाजलाई कर तिर्ने थिए होला की लोकगीतको व्यापार छोडेर अन्य विकल्प खोज्ने थिए होलान् ।

अब यहाँ अलिकति गीत जुधेका प्रसंगहरु जोडौँ । पछिल्लो समय निकै नै धेरै लोक गीतहरू बजारमा आउन थालेका छन् । खास गरी गीत सङ्गीत जसै डिजिटल युगमा प्रवेश गर्यो त्यसपछि रेकर्डिङमा स्वर परीक्षा लगायतका बन्देजहरू हटेसँगै कलाकारहरूबाट नैतिकता पनि घट्दै गईरहेको प्रस्ट देख्न सकिन्छ ।

भाका जुधेका घटना र चर्चाहरू पहिले पहिले पनि हुने गरेका हुन तर त्यति बेला ‘सार्वजनिक लाज’ भन्ने कुनै धरातलमा टेकेर एक जना कलाकारले रेकर्ड गरिसकेको लोक भाका अर्को कलाकारले नगर्ने चलन थियो जुन चलनलाई नयाँ कलाकारहरूले नै भत्काईदिएका छन् ।

यसो भनिरहँदा भाका किन जुध्न जान्छन् त भन्ने मुख्य प्रश्न हुन सक्छ । अग्रज कलाकारहरू कुनै भाकालाई रेकर्ड गर्नु अगाडि लोकभाकाको उद्गमस्थल अथवा कुनै भाका प्रचलनमा रहेको स्थान सम्मै पुगेर सकेसम्म धेरै अध्ययन गरेर अथवा आफै त्यहाँको रोधीघरमा त्यो भाका गाएर त्यसलाई सकेसम्म जस्ताको तस्तै नभए अझै परिष्कृत गरेर त्यसको संरक्षण गर्ने गर्दथे । तर जब जब लोक गीतको व्यापारिकरण हुँदै गयो कलाकारलाई अत्यन्तै हतार हुँदै जान थाल्यो । उनीहरूले अध्ययन गर्न अथवा अरूले रेकर्ड गरेको छ कि छैन भन्ने तर्फ बुझ्नु भन्दा कसरी त्यस्ता भाकालाई रेकर्ड गरेर बजारमा पठाउन सकिन्छ र बढी भन्दा बढी पैसा र चर्चा कमाउन सकिन्छ भन्ने तर्फ कलाकारहरू केन्द्रित हुन थाले ।

लोकगीत या लोक भाका दुई कारणले जुध्न पुग्छ । पहिलो कारण भनेको कलाकारको दिमागमा सुसुप्त अवस्थामा रहेको कुनै भाका नजानिँदो तरिकाले उसको सृजनामा घुस्न पुग्छ । जुन भाका कलाकारले सुनेको त हुन्छ तर उसलाई सम्झना हुँदैन ठ्याक्कै । कहाँ सुने अथवा कसको सृजना सुने भन्ने याद हुँदैन र पक्कै यो भाका रेकर्ड भएको छैन होला भन्ने अनुमानको भरमा रेकर्ड गर्न पुग्छन् ।

र उक्त कलाकारले त्यो आफ्नो मौलिक सृजना भएको भ्रम पाल्दछ । यो भ्रम भनेको कलाकारमा रहेको अध्ययन गर्दै नगर्ने कारणले निम्त्याएको समस्या हो । आफ्नो सृजना तयार भईसकेपछि त्यसको अध्ययनलाई केही समय छुट्ट्याउने र अन्यत्र त्यस्ता भाकाहरु रेकर्ड भएको छ कि छैन भन्ने पत्ता लगाउने कोसिस मात्र गर्ने हो भने पनि त्यस्ता समस्याहरू आउदैनन् र नयाँ सर्जकलाई चोरीको आरोप पनि लाग्दैन । यदि लोक भाकालाई पुनः प्रयोग गर्न नपाउने हो भने मात्र, कानुन अनुसार बन्देज लागेको कारण कलाकारलाई अध्ययनको लागि पनि वाध्य बनाउन सकिदैन ।

दोस्रो कारण भनेको कलाकारको नियत नै हो । उनीहरू गीत जुधाउने र राम्रो व्यापार गरिरहेको प्रतिस्पर्धी कलाकारको गीतसँग उस्तै बनाएर चर्चाको साथमा युट्युबबाट पैसा कमाउने नियतले जानी जानी गीत र भाका जुधाइन्छ । यसमा कलाकारको नियत बुझेर त्यसलाई कारबाहीको दायरामा ल्याउने कुनै कानुन छैन किनकी लोक गीतको प्रतिलिपि सुरक्षण सम्बन्धी कुरामा माथि चर्चा गरे अनुरूपकै कानुन आकर्षित हुन जान्छ । सङ्गीतमा सेन्सर बोर्ड या सङ्गीत नियन्त्रण बोर्ड जस्तो कुनै सरकारी निकायले नियन्त्रणमा राख्ने प्रचलन पनि सुरु भएको छैन ।

त्यसरी नजानिँदो तरिकाले लोक गीतको भाका जुध्नुलाई सामान्य मानेपनि नियतवस भाका जुधाउने चलनलाई भने गम्भीर रूपमा लिनुपर्ने देखिन्छ किनकी नियतवस भाका उस्तै बनाएर व्यापार गर्नेहरूले सर्जक या संकलकहरुको लगानीमा समेत असर पुर्याईरहेको देख्न सकिन्छ ।

भाका जुधेका मुद्दाहरूमा रोयल्टी सम्बद्ध संस्थाका विधानहरू आकर्षित हुनुपर्ने हो तर प्रतिलिपि अधिकार नै नभएका भाकाहरूले पनि रोयल्टी पाइरहेको आजको अवस्थामा त्यस्ता संस्थाहरूले पनि त्यस्ता मुद्दाहरूलाई सम्बोधन गर्ने उपायहरू देखिँदैन । अन्तिममा लोक भाका नजुधाउने हो भने कलाकारको नियत सफा हुनुपर्छ । कलाकारले मनग्य अध्ययन गरेर खोजी गरेर मात्र भाका रेकर्ड गराउनुपर्छ अन्यथा लोक गीतको भाका जुध्यो भनेर कसैले दुख मनाउ गर्नुको कुनै अर्थ देखिँदैन ।

यही विषयलाई लिएर अग्रज सर्जक राजेन्द्र थापा भन्छन्, –लोक भाका समुद्रबाट ल्याएको पानी जस्तै हो, कसैले गाग्रोमा ल्यायो कसैले जर्किनमा ल्यायो कसैले बोतलमा ल्यायो । लोक भाका नै हो कसैले यसरी ल्यायो कसैले उसरी ल्यायो त्यसमा विवाद गर्नुको कुनै तुक देखिँदैन ।