हाँस्यव्यंग्य: नाकको डाँडी !

रामजी बलामी ।

नाक जोगाउँनु, नाक नकाटेस, नाक लुकाउन नपरोस्, नाक नभाँच्नु, नाक ठाडो पारेस् आदि इत्यादि । हरेक आमाबुबाले आफ्ना सन्तानलाई सानैदेखि यसरी नै आशिर्वाद दिने गर्छन् । विशेषतः उमेर पुगेका छोराछोरीलाई हरेक आमाबुवाले यसरी नै सचेत बनाईरन्छन् । आमाबुबाले मात्रै होईन साथीसंगीहरु पनि आफूले अलिकति दायाँबायाँ गर्ने वित्तिकै ‘खै नाक हेरौँ त’ भन्छन् ।

आमाबुबा, साथीसंगी सबैले बारम्वार यस्तो भन्न थालेपछि हरेकको मनमा लाग्दो हो, ‘यो नाकमा के छ जुन अरु कुनै मानव अंगमा छैन ।’ झट्ट हेर्दा हाम्रो शरिरमा नाक भन्दा महत्वपूर्ण, नाक भन्दा संवेदनशिल, नाक भन्दा खतरनाक धेरै अंगहरु छन् । तिनमा अलिकति च्वास्स मात्रै छोयो भने पनि सात्तोपुत्लो जान्छ । जोगाउन पर्ने त ति अंगहरु हुन् तैपनि बाउ–आमाले किन नाक नै जोगाउन मरिहत्ते गरेका हुन् कुन्नी ?

यस्तै यस्तै सोच पलाएपछि एक दिन नाकमा के छ त्यस्तो भनेर आफ्नै नाक नियालें । दुईटा प्वाल, पखेटा र डाँडीभन्दा अरु केही देखिन । आफ्नो नाकको रियालिटी आफैंले नदेख्ने पो हुन् कि भन्ने लागेर एक दिन थरिथरिका मान्छेहरुको नाक नियाल्ने कोसिस गरियो ।

झट्ट हेर्दा सबैको नाकमा दुईटा प्वाल, दुईटा पखेटा र एउटा डाँडी भन्दा अरु केही देखिएन । फरक चाँही कसैको लामपुच्छ्रे जस्तो, कसैको मस्यौरा जस्तो, कसैको भ्याच्च, कसैको थ्याच्च, कसैको कोब्राको टाउको जस्तो, कसैको उनकै बाउको जस्तो । नाकमा एउटा डाँडी देखिन्छ । यो चाँही खास ढलको ढ्वाङ हो । ढ्वाङ भनेको फोहोर बग्ने ढलको कभर हो । यो डाँडी चाँही सिंगान बग्ने नाकको कभर हो । यी बाहेक यो डाँडीको अर्काे पनि काम छ । यो डाँडी कि चस्मे म्यानलाई काम लाग्छ किन भस्मे डनलाई काम लाग्छ ।

‘नाकमा के छ त्यस्तो जुन अरुमा छैन ?’ भनेर खोज्दै जाँदा कसैको नाकमा पनि खासै केही देखिएन । नियालेरै हे¥यो भने कोही कोहीको नाकमा चाँही रौँ देखिन्छ । त्यो भन्दा बढी नियाल्ने हो भने नाकको पातातिर स–साना सेता बिबिराहरु देखिन्छन् । कतिपय छोरीचेलीहरुको नाकमा फूली देखिन्छन् । कोहीकोहीमा नाकमा दुई चार हजारको सुनचाँदी देखिन्छ । अब अलि निहुरिएरै हेर्न थाल्यो भने सिंगान देखिएला त्यो भन्दा अरु चाँही देखिन्न । नाकमा अमूल्य अमृत नै हुने हो कि भन्ने खुल्दुली मेट्न नाक नाक चहारेर हेर्दा पनि फोहोर सिवाय केही नदेखिएपछि झनै अचम्म लाग्न थाल्यो ।

त्यस्तो फोहोर बग्ने जावो ढ्वाङ जोगाउन किन बाउ–आमाले सानैदेखि मरिहत्ते गर्छन् कुन्नी । एकपटक गाउँमा एउटी बहिनी भागेर बिहे गरिछन् । आमा चाँहीले ‘छोरीले नाकै काटी’ भनिन् । यसो नाक हेर्छु जस्ताको त्यस्तै देखिन्छ । फेरि छोरी चाँहीको पो काटेको हो कि भनेर नियाल्छु उसको पनि जस्ताको त्यस्तै देख्छु । ‘नाक त जस्ताको त्यस्तै छ त’ भनेर सवालजवाफ गर्ने कुरा पनि भएन । त्यसपछि झनै दम बढ्यो अनि मनमनै गम खाएर बसेँ ।

बल्लतल्ल यो नाकको भ्यालु थाहा पाउन थालेको छु । नाकको भाउ त टाउकोको भन्दा पनि धेरै हुँदै रहेछ । द्वन्द्वकालमा नेकपाका अध्यक्ष प्रचण्डको टाउकोको मूल्य ५० लाख तोकिएको थियो । तर, यो नाकको मूल्य त एक करोड रुपैयाँ पर्ने रैछ । त्यो पनि नाकको डाँडीको मात्रै । एक जना मेयरले एक जना पत्रकारको नाकको डाँडी भाँच्नलाई मात्रै एक करोड रुपैयाँको घडेरी छुट्याएका रहेछन् । नाकको भाउ नै एक करोड तोकिएपछि पत्रकारलाई छोरी दिन हानथाप चलेको पनि सुनियो पल्लो गामतिर ।

यस्तो सुन्नासाथ मनमा एकाएक पत्रकार बन्ने उत्साह जाग्यो । यदि म पत्रकार भएको भए नाक धितोमा राखेर काठमाडौंमा एउटा घर ठड्याउने थिए । अनि त्यो घरको भाडा उठाउँदै किस्ता तिर्थें । कहिलेकाँही त लाग्छ चश्मा पनि नाकको डाँडीमा नअड्याउँ । चस्माले गर्दा नाकको डाँडी खिइयो भने त भाउ घट्यो । त्यसैले बरु चश्मालाई चाँही धागोले बाँधेर टुप्पीमा कस्दिउँ ।

यसो गरे दुइटा फाइदा हुन्छ । एउटा फाइदा तपाईंको नाकको डाँडी खिइदैन अर्काे फाइदा भनेको टुप्पीमा बाँधेको धागोले तपाईलाई जागा राख्छ । यदि तपाई किताव समाउने वित्तिकै निदाउने कुम्भकर्ण विद्यार्थी हो भने त यो आइडिया अचुक ओखती नै हो । यो आइडिया हरामी भैँसीको नाकमा डोरी कसेर खाम्वो झुण्ड्याए जस्तै हो ।

नाकको महत्व त हल्का थाहा पाइयो तर मान्छेले किन नाक नै भाँच्न खोज्छन् भन्ने उत्सुकताले सुत्नै दिएन । ओल्टेदेखि कोल्टे फेर्दापनि मनले मनभित्र भाषण छाडेको छाड्यै गरेपछि बरण्डामा गएर सोच्न थालें । पत्रकारले दिमागले सोच्छ, हातले लेख्छ । भ्रष्टाचारीले मुखले बार्गेनिङ गर्छ, हातले लिन्छ । कुनै काम गर्न हातखुट्टा नै अघि सर्छ । जावो नाकले के नै पो गर्छ र ? उसले त शरिरको विकार मात्रै पो फाल्छ त । नाक नहुँदैमा मरिहाल्ने पनि त होईन रहेछ ।

तैपनि हातखुट्टाको भाग रुपैयाँ पैसा तोकेको सुनिदैन तर नाकको डाँडीको भाउ एक करोड पुगिसक्यो । यसो सोचेर ल्याउँछु साँच्चै जंगलमा सिधा रुखहरु छानी छानी काटिन्छन्, सोझा मान्छेलाई छानीछानी फसाइन्छन् भनेझैं यो नाक पनि सिधा सिधा भएकैले सबैको तार्गेटमा परेका त होईनन् ?

बरु यो नाककै पिएचडी गरौँ कि भन्ने सौच्दासोच्दै बेडबाट खुसुक्क बरण्डामा गएको म भुसुक्कै निदाएछु । ‘किन बरण्डामा आएर सुत्नु भएको, नाक काट्न ?’ जहानले ‘नाक काट्न’ भनेको सुनेपछि झसंग भएँ । कतै बरण्डामा सुतेपछि पो नाक काटिने हो कि भन्ने लागेर नाक छामेको जस्ताको त्यस्तै पाएँ । मैले नाक छाम्नुको कारण बताएपछि हाँसेकी जहान अचेल ऐनामा आफ्नै नाक देख्दा मलाई सम्झेर हाँस्छिन् ।

त्यो दिन जहानलाई नाकबारे मेरो मनमा भएभरको ज्वारभाटा हुर्रर्र खन्याएपछि बल्ल बुझियो नाक काट्नु भनेको इज्जत जानु रैछ । नाक भाँचेपछि इज्जत जाने भएकैले नाकको भाउ त्यत्रो तोकिएको रहेछ । तर, यो इज्जत भन्ने कुरा बेइज्जतिलाई वास्तै नहुने । त्यसैले अचेल सोच्न थालेको छु । बेइज्जतिको नाकको भाउ चाँही कति ?

 

यो पनि 

थरिथरिका पत्रकार, तपाई कुन पत्रकार ?