हुम्लामा १५ जनामा औलो भेटियो

हुम्ला,

तराईका जिल्लामा देखा पर्ने औलो रोग पछिल्लो समय हिमाली जिल्ला हुम्लामा पनि देखिएको छ । गएको वर्षमा हिमाली जिल्ला मुगु, बाजुरा र हुम्लामा औलो रोग देखा परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाले एक साताभित्र हुम्लाका दक्षिणी ताँजकोट, अदनचुली, सर्केगाढ लगायतका गाउँपालिकामा १५ जनामा औलो रोग देखा परेको जनाएको छ ।

महाशाखाबाट हुम्लामा खटिनु भएका चिकित्सक अरुणप्रसाद चौधरीले गर्मीको समयमा तराईका अधिकांश जिल्लामा देखा पर्ने औलो पछिल्लो समय हिमाली जिल्ला हुम्लाका कर्णाली नदी छेउछाउका बस्तीमा देखा परेको बताउनुभयो । हिमाली जिल्लाहरुमा तापक्रम बढेपछि मुगु, बाजुरा र हुम्लामा औलोको लक्षण देखा परेको छ । जिल्लाका केही गाउँमा औलोका बिरामी देखिएपछि गर्भवती महिलालाई निःशुल्क झुल र औषधी वितरण गरिएको चौधरीले बताउनुभयो ।

हिमाली १० वटा जिल्लामा औलो रोग नहुने भनिए पनि हुम्ला, बाजुरा र मुगुमा यो रोग देखा परेको महाशाखाले खुलासा गरेको छ । हुम्लामा देखा परेको औलौ स्थानीयस्तरको रोग रहेको महाशाखाको ठम्याइ छ ।
नेपाल समाचारपत्रबाट