युरोकप छनोट: ग्रीस र फ्रान्स पराजित, रुसको ऐतिहासिक रेकर्ड

युरोकप छनोट अन्तर्गत समूह चरणको खेलमा जर्मनी, इटली र रुस विजयी भएका छन् ।

शनिबार राति भएको खेलमा जर्मनले बेलारुसलाई दुई शून्यले हरायो । जर्मनको जितमा साने र मार्कुस रिउसले एक एक गोल गरे । खेलको १२ औं मिनेटमा सानेको गोलबाट अग्रता बनाएको जर्मनीले ६२ औं मिनेटमा रिउसको गोल मार्फत अन्तर दुई शून्यमा पुर्‍यायो ।

अर्को खेलमा इटलीले पूर्व च्याम्पियन ग्रीसलाई तीन शून्यले पाखा लगायो । इटलीको जितमा बारेला, इन्सिग्नी र बोनुसीले एक–एक गोल गरे । उसले तीनै गोल पहिलो हाफमा गरेको थियो ।

यता विश्व च्याम्पियन फ्रान्स भने टर्कीसँग दुई शून्यले स्तब्ध भयो । निकै रोमाञ्चक बनेको खेलमा टर्कीका लागि ३० औं मिनेटमा आह्यान र ४० औं मिनेटमा अन्डेरले गोल गरेका थिए ।

अर्को खेलमा रुसले शानदार जित दर्ता गरेको छ । समूह आई मा रहेको रुसले सान मारिनोलाई ९-० ले हराएको हो ।

रुसको इतिहासमा यो उसको अहिलेसम्मकै फराकिलो जित हो । रुसको जितमा अर्टिओम डज्युबाले चार, फ्योडोर स्मोलोवले दुई तथा फ्योडोर कुड्रयाशोव र एन्टोन मिरान्चुकले एक एक गोल गरे । यस्तै सान मारिनोका मिचेल सेभोलीले आत्मघाती गोल गरे ।