महानगरको २१ कित्ता जग्गा गायब

वीरगन्ज,

वीरगन्ज महानगरपालिकाका स्वामित्वमा रहेको बहुमूल्य १४ कट्ठा जग्गा फर्जी कागजात तयार गरी भूमाफियाले व्यक्तिलाई बेचेको खुलेको छ । नगरपालिकाको २१ कित्ता जग्गा कर्मचारीको मिलेमतोमा भूमाफियाले हडपेको खुलेको हो।

उक्त जग्गाको लगत आर्थिक वर्ष २०६७,६८ सम्म तत्कालीन वीरगन्ज उपमहानगरपालिकाको स्वामित्वमा थियो । त्यसपछि जग्गा व्यक्तिको नाममा पुगेको छ तर सो सम्बन्धी लगत कार्यालयको रेकर्डमा छैन । निर्वाचित जनप्रतिनिधि नेतृत्वमा आएपछि नगर कार्यपालिकाले महानगरपालिकाको स्वामित्वमा रहेको जग्गा खोज्न सुरु गरेको छ । खोजीकै क्रममा २१ कित्ता जग्गा व्यक्तिका नाममा खुलेको पुगेको हो ।

वीरगन्जका नगरप्रमुख विजयकुमार सरावगीको सचिवालयले महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै २१ कित्ता जग्गाको कागजात उपलब्ध गराउन माग गरेको छ । ‘मैले सबै जग्गाको विवरण हाम्रो प्रमुख प्रशासकीय अधिकृतमार्फत माग गरेको छु । उहाँले सम्बन्धित शाखाहरुलाई लेख्नुभएको छ तर मेरो हातमा अहिलेसम्म विवरण आइपुगेको छैन,’ नगरप्रमुख सरावगीले भने, ‘जग्गाको वास्तविक अवस्था के रहेछ भन्ने थाहा हुने लगत र विवरण प्राप्त भएपछि त्यसलाई बोर्डमा लगेर छलफल गर्ने कुरा थियो । लगत नै पाइएन । यसले जग्गा हिनामिना भएको शंका अझ बलियो हुँदै गएको छ।’ उनले विषय गम्भीर देखिएकाले बोर्ड बैठकबाट कसरी अगाडि बढ्ने भन्ने तय गरिने बताए।
नागरिकबाट