रसुवाको पालिका प्रमुखमा महिला सहभागिता शून्य

रसुवाको पालिका प्रमुखमा महिला सहभागिता शून्य


रसुवाको स्थानीय तहको प्रमुखमा महिला सहभागिता शून्य बनेको  छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा जिल्लाको पाँच वटा स्थानीय तहको प्रमुखमा महिला सहभागिता शून्य बनेको हो । 

२०७४ को स्थानीय तहको पहिलो निर्वाचनमा जिल्लाको कालिका गाउँपालिकाको प्रमुखमा एक जना मात्र महिला प्रमुख बनेकी थिइन् । गएको वैशाख ३० गते भएको निर्वाचनमा दुई वटा पालिकामा महिलाले प्रमुखमा उम्मेदवारी दिएका थिए । 

नौकुण्ड गाउँपालिकाबाट नेकपा एमालेले पालिका प्रमुखमा सिर्जना लामालाई उम्मेदवार बनाएको थियो । उत्तरगया गाउँपालिकामा नेकपा एकीकृत समाजवादीले अर्चना लामालाई उम्मेदवार बनाएको थियो । तर निर्वाचनको नतिजा अनुसार दुवै जना पराजित भएसँगै जिल्लाका स्थानीय तहको प्रमुखमा महिला सहभागिता शून्य भएको हो । 

जिल्लाको पाँच वटै पालिकाको प्रमुखमा पुरुष नेतृत्व निर्वाचित भएका छन् । उपप्रमुखमा चार वटा गाउँपालिकामा महिलाले नेतृत्व पाएका छन् । जिल्लाको आमाछोदिङ्मो गाउँपालिकाको उपप्रमुखमा चण्डिका तामाङ, गोसाईंकुण्ड गाउँपालिकामा प्रतिमा तामाङ, कालिका गाउँपालिकामा मिरा लामा र उत्तरगया गाउँपालिकामा चमेली गुरुङले नेतृत्व पाएका छन् । गुरुङ २०७४ को निर्वाचनमा पनि उत्तरगया गाउँपालिकाको उपप्रमुखको नेतृत्व पाएकी थिइन् । उनी पुनः दोहोरिएकी हुन् । 

Logo