गुठी विधेयक फेरि एकपटक पढ्नुहोस्- भूमिसुधार मन्त्री

भूमिसुधार मन्त्री पद्ममा अर्यालले गुठी सम्बन्धी विधेयकको विषयमा धेरै सन्देह नगर्न आह्वान गरेकी छन् । सोमबार बसेको प्रतिनीधि सभाको बैठकमा बोल्दै  मन्त्री अर्यालले गुठी सम्बन्धी विधेयक धर्म, संस्कृतिलाई प्रतिकुल पार्ने गरि नआएको बताएकी हुन् ।

प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले धर्म, संस्कृति र परम्परालाई प्रतिकुल पार्ने गरि विधेयक ल्याइएको भन्दै विरोधमा भएको प्रर्दशनमा प्रहरी दमन भएको भन्दै सरकारको जवाफ माग गरेपछि मन्त्री अर्यालले हिजोको मर्म र भावनालाई प्रतिकुल पार्ने गरि विधेयक प्रस्तुत नभएको भन्दै विधेयकलाई गम्भीर रुपमा अध्ययन गर्न आग्रह गरेकी हुन् ।

संविधानको एउटा धाराको व्याख्या मात्रै हेरेर, एउटा अनुसुची मात्रै हेरेर संविधानको प्रतिकुल हुन्छ कि अनुकुल हुन्छ भन्ने निष्कर्ष ननिस्कने भन्दै उहाँले भन्नुभयो, संविधानको धारा २ सय ९० अनुसार विधेयक आएको हो। संविधानलाई एकिकृत रुपमा बुझ्न जरुरी छ । संविधानले हिजो भन्दा आज झन् जिम्मेवार बनाएको भन्दै संविधानको धारा २ सय ९० गुठीको संरक्षण र गुठीको सम्वर्धनमा लाग्न आवश्यक रहेको भन्दै सरकारले त्यसलाई नै मार्ग बनाएर विधेयक ल्याउन लागेको बताइन् ।

विधेयकमा गुठीमा जोडिएका किसानका हकहित, धर्म संस्कृतिलाई संरक्षण गर्ने विषयलाई प्रतिकुल पार्ने व्यवस्था नभएको उनको भनाइ छ ।