अब पर्यटकहरु अन्तरिक्षमा घुम्न पाउने, एक रातकै ३५ हजार डलर

एजेन्सी । पर्यटकहरुले अर्को वर्ष नै नासाको अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा जान पाउने भएका छन् । त्यसको लागि एक रातको ३५ हजार अमेरिकी डलर अर्थात ३९ लाख नेपाली रुपैयाँ खर्च लाग्नेछ ।

अमेरिकाको अन्तरिक्ष एजेन्सीले स्पेस स्टेशन पर्यटक तथा अर्को व्यापारिक उपयोगको लागि खोल्दैंछ । अन्तर्राष्ट्रिय स्पेस स्टेशनका उपनिर्देशक रोब्यन गटेन्सले प्रत्येक वर्ष थोरै अवधिको लागि दुई नीजि अन्तरिक्ष मिसन पठाइने बताए । यो मिशनको खर्च नीजि कम्पनीले उठाउने उनको भनाई छ ।

नीजि अन्तरिक्ष यात्रुलाई अन्तर्राष्ट्रिय स्पेस स्टेशनसम्म जानको लागि ३० दिनको समय मिल्नेछ । उनीहरु अमेरिकाको स्पेसक्राफ्टबाट यात्रा गर्नेछन् । अन्तरिक्षसँग जोडिएको विषयमा अनुसन्धान गर्न जडान गरिएको अन्तर्राष्ट्रिय स्पेस स्टेशन १२ औं अन्तरिक्षमा अवस्थित छ । यो पृथ्वीको निकटवती कक्षमा स्थापित छ ।

यो स्पेस स्टेशन एक किसिमको कृत्रिम उपग्रह हो, जहाँ मानिस बस्छन्, काम गर्छन् र धेरै कुराको लागि प्रयोग गर्छन् । मुख्य वित्तीय अधिकारी जेफ डेविटले भने, ‘नासा अन्तर्राष्ट्रिय स्पेस स्टेशन व्यावसायिक अवसरको लागि खोलिरहेका छौं । हामी यो पहिलो पटक गर्दैछौं ।’

क्रू मा को-को हुने भन्ने टुंगो लगाउने, प्राइभेट अन्तरिक्ष यात्रुलाई अन्तरिक्ष उडानको लागि ट्रेनिङ तथा स्वास्थ्य सेवा सबै नीजि कम्पनीले गर्ने नासाले जनाएको छ । हरेक वर्ष १२ नीजि अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा जान पाउनेछन् ।

नासाले यो कामको लागि दुई कम्पनीलाई नियुक्त गरेको छ । इलोन मस्कको स्पेसएक्स र बोईङ कम्पनी छनोट भएका हुन् । स्पेसएक्सले ड्रेगन क्याप्सूलको प्रयोग गर्नेछ । बोईङ स्टारलाइनर नामको स्पेसक्राफ्ट बनाइरहेको छ । अन्तरिक्ष यात्राको लागि यी कम्पनीले प्रतियात्रुबाट छ करोड डलर भाडा लिनेछन् ।