चीनमा अब तीन रुपैयाँमै कल गर्न सकिने

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय कलमा नयाँ योजना ल्याएको छ ।

जस अनुसार अब टेलिकमको सिमबाट चीनमा तीन रुपैयाँ तीन पैसामै कल गर्न सकिने भएको छ । यस अफरबाट ग्राहकले अघिपछिको तुलनामा २०.८९ प्रतिशत कम शूल्कमा कल गर्न सक्नेछन्।

लामो समयदेखि चीन र नेपाल बीच भइरहेको व्यापार व्यवसायमा टेवा पुर्याउनुका साथै दुईपक्षीय भ्वाइस कल सेवा सहज बनाउने उदेश्यले कम्पनीले सुपथ मूल्यमा कल सेवा लागू गरेको कम्पनीले जनाएको छ।  केही समय अघि कम्पनीले सुरु गरेको चाइना कल अफरमार्फत ग्राहकले भ्वाइस कल सेवा लिँदै आएको विज्ञप्तिमा उल्लेख छ। कम्पनीले उक्त अफर अन्तर्गत दैनिक, साप्ताहिक र मासिक रुपमा प्याक खरिद गरेर सेवा लिन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार दैनिक १० मिनेट भ्वाइस कलको लागि ३५ रुपैयाँ, साप्ताहिक ४५ मिनेट भ्वाइस कलको लागि एक सय ५० रुपैयाँ र मासिक एक सय ६५ मिनेट भ्वाइस कलका लागि पाँच सय रुपैयाँको प्याक प्रयोग गर्न सकिने विज्ञप्तिमा उल्लेख गरिएको छ।

तीनवटा प्याक खरिदमार्फत कल गर्दा ग्राहकले प्रति मिनेट तीन रुपैयाँ ५० पैसा, तीन रुपैयाँ ३३ पैसा र तीन रुपैयाँ तीन पैसा रुपैयाँमा सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।