भ्रष्टाचार र बेथितिमाथि गायक रमेशराज भट्टराईको सशक्त प्रहार

काठमाडौं । चर्चित सर्जक एवम् गायक रमेश राज भट्टराईले देशमा व्याप्त बेथितिलाई मर्ममै प्रहार गर्ने साङ्गीतिक कोसेली ल्याएका छन् । उनले ‘भ्रष्टाचार’ शीर्षकमा सांगीतिक कोसेली ल्याएका हुन् ।

अर्का गायक पशुपति शर्माको अत्यन्तै विवादमा पारिएको गीत ‘लुट कान्छा लुट’ को सेरोफेरोबाट सुरु गरिएको यो गीतले समाजमा व्याप्त विसङ्गतिहरूमाथि शक्तिशाली प्रहार गरेको छ ।

गायक रमेश राजले ‘यो नेपाल हो, यहाँ नेताहरूको विरुद्धमा बोल्नै हुँदैन’ भन्दै उनले देशको सिमाना देखि निर्मला हत्यासम्म अनि गणतन्त्र देखि वाक स्वतन्त्रता सम्मका विषय एउटै गीतमा उठाएका छन् ।

नेताहरूको विरुद्ध बोल्दा, बेथितिको विरुद्ध बोल्दा अथवा भ्रष्टाचारको विरुद्ध बोल्दा समाज कसरी विभक्त हुन्छ र पक्ष विपक्षमा विभाजित रेखा स्पष्ट देखिन्छ भन्ने कुरा गीतले देखाउन खोजेको छ । राजनीतिले कोरेको सीमारेखाले समाजलाई कसरी दुई चिरा पारेको छ भन्ने कुरा उजागर गर्ने कोशिस गरेका छन् ।

एउटा अन्तरामा रमेशराज भन्छन्, “सधैँ भरि गाली गर्छौ नेता नेता भनी, भेडा भन्दा कम्ती छैनौँ हामी जनता पनि’ यस्ता अन्तराहरूले हामी जनता भित्रका कमजोरीहरूलाई पनि छताछुल्ल पारिदिएका छन् ।

रमेशराज भट्टराईको आफ्नै स्वर शब्द र सङ्गीत रहेको गीत केशव बडुले वाद्यवादन संयोजन गरेका हुन भने मारुनी स्टुडियोमा यो गीत रेकर्ड गरिएको हो । गीतको साधारण भिडियो बनाइएको छ । दुर्गा पौडेलले निर्देशन निर्देशन गरेको भिडियो नवीन घर्तीले सम्पादन गरेका छन् ।