पुलको शिलान्यास गरेर फर्किदा मन्त्री महासेठको गाडी खोलामा डुब्यो
मन्त्री सवार गाडी खोलामा डुबेपछि मन्त्रीलाई निकालिदै । तस्बिर सौजन्यः तस्बिर अर्जुन काफ्ले/आधिखोला खबर

स्याङ्जा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी खोलामा डुबेको छ । सहरे खोला पुलको शिलान्यास गरी फर्कने क्रममा मन्त्री सवार बा २ झ ४०२९ नम्बरको गाडी अर्जुन चौपारी–३ घट्टे दरौ खोलामा डुबेको हो ।

गाडी खोलामा आधा डुबे पनि सुरक्षाकर्मीको सहयोगमा मन्त्री महासेठलाई बाहिर निकालिएको थियो । खोलामा डुबेको मन्त्रिको गाडी क्रेनको सहयोगमा बाहिर निकालिएको छ ।

खोला बढेसँगै बिग्रिएको बाटोलाई मर्मत गरिएको थियो । तर मन्त्रीका सवारी चालकलाई ग्रामीण सडकको बारेमा जानकारी नहुँदा दुर्घटना हुन पुगेको हो ।

मन्त्रि महासेठ अर्जुन चौपारी गाउँपालिका–३, को सहरे पुलको शिलान्यास गर्न स्याङ्जा पुगेका थिए । उक्त पुलको सोमबार मन्त्री महासेठले शिलान्यास गर्दै काठमाडौं फर्किने क्रममा गाडी खोलामा डुबेको हो ।

उक्त निर्माणको लागि पुल तीन करोड सात लाख सात हजार पाँच सय १० रुपैयाँ छुट्याईएको छ । डेढ वर्षमा निर्माण सक्ने गरी जीएसआर निर्माण सेवा पोखराले काम थालेको छ ।