पाकिस्तानका पूर्वराष्ट्रपति जरदारी पक्राउ

इस्लामाबाद,

पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अली जरदारी पक्राउ परेका छन् । पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का सह–अध्यक्ष समेत रहेका जरदारीलाई नेशनल अकाउन्टिबिलिटी ब्युरो (एनएबी) को टोलीले पक्राउ गरेको हो ।

इस्लामाबाद उच्च अदालतले सोमबार मनी लान्डरिङको मुद्दामा जरदारी र उनकी बहिनी फरयाल तालपुरको अग्रिम जमानतको निवेदन खारेज गरेको थियो । न्यायाधीस आमिर फारुक र जस्टिस मोहसिन अख्तर कियानीको इजलासले निवेदन खारेज गरेर पक्राउ गर्न आदेश दिएको थियो ।

जरदारी र उनकी बहिनी मनी लन्डरिङमा मुख्य दोषी रहेका छन् । उनीहरुमाथि अवैध बैंक अकाउन्ट र देशभन्दा बाहिर पैसा पठाएको आरोप छ । इस्लामाबादस्थित जरदारीको घरमा ठूलो संख्यामा सुरक्षाकर्मी पुगेका थिए । पाकिस्तानी सञ्चारमाध्यमको रिपोर्ट अनुसार सुरुमा जरदारीको घरमा एनएबीको टोलीलाई प्रवेश गर्न रोक लगाइएको थियो । उनीहरुले जरदारीलाई पक्राउ गर्नु अघि सभामुखको अनुमति लिनु परेको थियो ।

अदालतको फैसला आउनुअघि जरदारी र उनकी बहिनी बाहिर निस्किएका थिए । जरदारी यो गिरफ्तारी र आरोपविरुद्ध इस्लामाबाद उच्च अदालत जान सक्नेछन् । जरदारी र उनकी बहिनीले फर्जी बैंक खाताबाट ४ अर्ब ४ करोड रुपियाँ देशबाहिर पठाएको आरोप लागेको छ ।

आसिफ अली जरदारीका छोरा बिलवाल भुट्टोले बाबु पक्राउ परेपछि कार्यकर्तालाई शान्त रहन आग्रह गरेका छन् । जरदारी पाकिस्तानकी पूर्व प्रधानमन्त्री बेनजीर भुट्टोका श्रीमान् हुन् ।
एजेन्सी