दाना नलाग्ने उन्नत जातको मकैले डुबायो कृषकलाई

भरतपुर ,

भरतपुर चोक बजारका कृष्णप्रसाद तिमल्सिनाले गत वर्ष दुई बिघा जग्गा भाडामा लिएर मकै खेती गरेका थिए । दुई बिघामा लगाएको मकैबाट २ लाख १५ हजार रुपैयाँ आम्दानी भएपछि उनले यस वर्ष थप १६ कट्ठामा मकै लगाए । तर, अम्दानी बढाउने उद्देश्यले लगाएको उन्नत जात (हाइब्रिड) मकैले उनलाई डुबाएको छ ।

तिमल्सिनाले भारतको नुजिविडु सिड्स लिमिटेडले उत्पादन गरेको श्रेष्ठा जातको मकै लगाएका थिए । तर, मकैमा दाना नै लागेको छैन । ‘मकैका घोगा हेर्दा ठुलै छ र एउटै बोटमा चार, पाँच घोगा पनि लागेको छ,’ उनले भने, ‘तर, कुनै पनि घोगामा दाना लागेको छैन ।’

चोकबजारकै ऋषिराम चापागाईंले पनि ६ कट्ठामा श्रेष्ठा जातकै मकै लगाएका छन् । घोगा लाग्नु अघि मकैको बोट निकै राम्रो थियो । गतवर्षको भन्दा राम्रो आम्दानी लिन सकिने भन्दै उनी मख्ख परेका थिए । तर, मकैमा दाना नै नलागेपछि उनी अहिले मकै काटेर धमाधम गाई–भैँसीलाई घाँसका रूपमा खुवाउँदै छन् ।

गीतानगर र शुक्रनगर क्षेत्रका कृषकहरूले न्यूनतम पाँच कट्ठादेखि १ बिघासम्मको क्षेत्रफलमा मकै खेती गरेका छन् । तर, सबै कृषकको मकैमा दाना लागेको छैन । त्यसैले उनीहरूले स्थानीय सरकार र कृषि ज्ञान केन्द्रमा क्षतिपूर्ति दिलाइदिन आग्रह गरेका छन् । किसानहरूले बिउ बिक्री गर्ने बीज भण्डारलाई कारबाही गर्नसमेत माग गरेका छन् । कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत माधव पौडेलले पनि किसानहरू निवेदनसहित आएको बताए ।

कृषि ज्ञान केन्द्रका अनुसार चितवनमा हिउँदे १४ हजार ६ सय, वर्षे ५ हजार र वसन्तमा पाक्ने ५ हजार ६ सय गरी २५ हजार २ सय हेक्टर जमिनमा मकै खेती हुने गरेको छ । तर, कति क्षेत्रफलमा लगाइएको मकैमा दाना लागेको छैन भन्ने तथ्यांक भने अहिलेसम्म आएको छैन । केन्द्रले निवेदन र गुनासोका आधारमा तथ्यांक संकलन गर्ने काम गरिरहेको छ ।
नयाँ पत्रिकाबाट