फोन पे डिजिटल इकोनोमी कन्क्लेभ-२०२२ जेठ २० मा हुने

फोन पे डिजिटल इकोनोमी कन्क्लेभ-२०२२ जेठ २० मा हुने


पछिल्लो समय मुुलुकको अर्थतन्त्रको डिजिटाइजेसनको तीब्रतालाई मध्यनजर गर्दै ब्राण्डवर्थ प्रा लिले फोन पे डिजिटल इकोनोमी कन्क्लेभ-२०२२ आगामी जेठ २० (जुन ३, २०२२) मा आयोजना गर्न लागेको छ। 

कोभिड-१९ ले नेपालीलाई डिजिटल प्रविधीका अनेकौं आयाम जस्तै इकमर्श, डिजिटल पेमेन्ट, अनलाइन शिक्षा आदिमा अभ्यस्त गराउनुका साथै डिजीटाइजेसन नेपाली अर्थतन्त्रको अभिन्न अंगको रुपमा स्थापित भएको छ । डिजिटाइजेसनका पछिल्ला सम्भावना, अवसर तथा चुनौतीहरुका बारेमा यसका प्रमुख सरोकारवालाहरुलाई एकै छानामुनी ल्याई बृहत छलफलको प्रयास हो, फोन पे डिजिटल इकोनोमी कन्क्लेभ-२०२२ ।  

यस वर्षको कन्क्लेभको मुख्य उद्देश्य कोभिड १९ प्रभावबाट सामान्यकृत हँुदै गएको आर्थिक गतिविधी र जनजीवनमा डिजिटाइजेसनलाई कसरी आर्थिक बृद्धि र सामाजिक न्याय प्राप्तीका लागि प्रयोग गर्ने भन्ने रहेको छ । 

कन्क्लेभको दोस्रो संस्करणमा ‘बदलिँदो समय, बदलिँदो अर्थतन्त्र’, ‘क्रिएटिङ इम्प्याक्ट्स द्याट लास्ट’, ‘नेपाल–साना बजार कि असिमित सम्भावना ?’ तथा ‘नेपाली युनीकर्न कहिले ?’ विषयमा चार सत्रहरुमा सघन अन्तरक्रिया र बहस हुनेछ । यी सत्रहरुमा नेपाली डिजिटल अर्थतन्त्रका प्रमुख सरोकारवालाहरु–नियमनकारी निकाय, तथा निजी क्षेत्रका प्रतिनिधीहरुको सहभागीता रहनेछ । 

कन्क्लेभमा भिसाको दक्षिण एशिया र भारतका लागि ग्रुप कन्ट्री म्यानेजर सन्दीप घोष तथा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्वरा कि–नोट स्पीच प्रस्तुत हुनेछ । साथै नेपालको डिजिटल विकासका बारेमा   अर्थमन्त्री जनार्दन शर्मा र संचार तथा सूचना प्रविधीमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँगको बेग्लै सत्रसमेत हुनेछ । 
    
काठमाडौंमा जेठ २० गते काठमाडौंस्थित होटल सोल्टीमा आयोजना हुन गइरहेको यस कन्क्लेभ देशका प्रमुख अनलाईन तथा टेलिभिजन च्यानलका साथै अन्य डिजिटल प्ल्याटफर्ममार्फत् प्रत्यक्ष प्रसारण हुनेछ । फोनपे मुख्य प्रायोजक रहेको यस कन्क्लेभको कर्पोरेट प्रायोजकका रुपमा भिसा रहेको छ।  

डिजिटल इकोनोमीका बारेमा आयोजना गरिने कन्क्लेभको दोस्रो संस्करण हामी सबैका लागि विशिष्ठ महत्व राख्दछ, यसर्थमा कि हामी, हाम्रो समाज र अर्थतन्त्र द्रुतगतिमा डिजिटाइज भइरहेको छ ।

Logo