हट्यो तुइन, बन्यो झोलुङ्गे पुल

हट्यो तुइन, बन्यो झोलुङ्गे पुल


दार्चुलामा नेपाल-भारत जोड्ने गरी महाकाली नदीमाथि दुईवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् ।

तुइन विस्थापनअन्तर्गत ती नदीमाथि पुल निर्माण गरिएको हो । व्याँस गाउँपालिका-६ बडुगाउँ र मालिकार्जुन गाउँपालिका-६ बाँकुमा झोलुङ्गे पुल निर्माण भएको हो । पुन बनेसँगै अहिले स्थानीयवासी खुसी भएका छन् । महाकाली नदीमा जोखिम मोलेर नदी आउजाउ गर्नुपर्ने अवस्था अन्त्य भएको जनाइएको छ ।

मालिकार्जुन-६ का तेजबहादुर चन्दले भने, “बल्ल अहिले आएर पुल निर्माण भयो ।” स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनले अहिले जिल्लाको महाकाली नदीमाथि चार झोलुङ्गे पुल निर्माण गरिरहेको छ ।  दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, भारत पिथौरागढ जिल्ला अधिकारी आशिष चौहानले बिहीबार मालिकार्जुन-६ बाँकु स्थित पुलको शुभारम्भ गरे भने व्याँस -६ बडुगाउँस्थित झोलुङ्गे पुलको व्याँस गाउँपालिका अध्यक्ष मङ्गलसिंह धामीले शुभारम्भ गरे ।    
    
पुल निर्माणपछि दुवै ठाउँका स्थानीयवासी खुसी देखिएका हुन् । व्याँस-६ का कलावती भट्ट तुइन विस्थापनअन्तर्गत झोलुङ्गे पुल निर्माण भएपछि आवतजावतमा सहज हुने बताउछन् । वर्षौँदेखि तुइनको सहारामा महाकाली नदी वारपार गर्दै आएका उनि बिहीबारदेखि तुइनको ठाउँमा झोलुङगे पुल सञ्चालन भएपछि खुसी देखिए ।    
    
उनले भने, “कयौँ बर्खा यो महाकाली नदीमा अकालमै ज्यान गुमाउन बाध्य थिए । अब तुइनका कारण ज्यान गुमाउनुपर्ने अवस्था आउने छैन ।” व्याँस-६ बडुगाउँ क्षेत्रका स्थानीयवासी नेपाल-भारत वारपार गर्न पुल नहुँदा तुइनको सहारामा आउजाउ गर्थे । नेपालतिरको बाटो जाने हो भने छ घण्टा समय लाग्छ ।    
    
भारतबाट जाँदा यसअघि तिगरम भएर जाँदा अढाइ घण्टा बढी समय लाग्ने गरेको थियो । अहिले बडुगाउँमा झोलुङ्गे पुल निर्माण भएपछि आधा घण्टामा सदरमुकाम खलङ्गा आउजाउ गर्न सहज भएको छ । मालिकार्जुन-६ का काशी विकले १० वर्षदेखि यस क्षेत्रमा झोलुङ्गे पुल निर्माण हुन्छ भन्ने सुने पनि अहिले आएर पुल निर्माण सकिएको बताउँछन्  । 

नागरिकले झोलुङ्गे पुल नहुँदा ट्युबमार्फत यो क्षेत्रमा आवतजावत गर्न बाध्य थिए । दैनिक उपभोग्य सामान त्यहीँ ट्युबको माध्यमबाट वारपार हुन्थ्यो । झोलुङ्गे पुल निर्माणपछि अब मालिकार्जुन र लेकम क्षेत्रका नागरिकलाई समेत वारपार गर्न सहज भएको उनले बताए । 
    
नागरिकले अकालमै तुइन र ट्युबका कारण ज्यानको बाजी लगाउनुपर्ने अवस्थाको अन्त्य भएको व्याँस गाउँपालिका अध्यक्ष मङ्गलसिंह धामीले बताए । व्यास-४ मडगाउँ र मालघाटमा पनि झोलुङ्गे पुल निर्माणाधीन छ । मडगाउँमा माघ तेस्रो साता झोलुङ्गे पुल निर्माण सम्पन्न भए पनि अन्य भौतिक संरचना निर्माण बाँकी छ । व्याँस गाउँपालिका-२ को मालघाटमा भने झोलुङ्गे पुल निर्माणाधीन छ ।    
    
मालगाउँ र मडगाउँमा खम्पाचे रुविना जेभी काठमाडौँले झोलुङ्गे पुल निर्माण गरिरहेको छ । यी दुवै पुलका लागि कूल रु दुई करोड ७३ लाख लागतमा ठेक्का सम्झौता भएको हो । यस्तै बाकु र बडुगाउँमा मालिका निर्माण सेवा कञ्चनपुरले पुल निर्माण गरेको हो । पुल निर्माण गर्न कूल रु दुई करोड ५५ लाख ६४ हजार लागतमा सम्झौता भएको थियो ।    
    
सो कार्यक्रममा महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसीर, मालिकार्जुनका अध्यक्ष धामी, व्यासका अध्यक्ष मङ्गलसिंह धामी, दुवै देशका सुरक्षा अधिकारीको उपस्थिति थियो । महाकाली नदीमाथि नेपाल-भारत जोड्न झोलुङ्गे पुल निर्माण भइरहेको छ । यअसघि ब्याँस-६ को तिगरम र लेकम गाउँपालिका-३ को लाली, मालिकार्जु-७ को जौलजीविमा नेपाल-भारत जोड्ने झोलुङ्गे पुल निर्माण भएका छन् ।    
    
सो अवसरमा प्रमुख जिल्ला अधिकारी उपाध्यायले अब पुललाई नियमित सञ्चालनमा ल्याइने बताए । भारत पिथौरागढका डिएम चौहानले नेपाल–भारत पुल नियमित सञ्चालनका लागि सहयोग गरिने बताए । 

Logo