३३४ सांसदलाई ल्यापटप बाँड्दै सरकार

सरकारले संघीय सांसदका  ३ सय ३४ जना सांसदलाई ल्यापटप दिने भएको छ ।

प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ सांसदले ल्यापटप पाउने भएका हुन् ।सांसदका लागि ल्यापटप खरीद गर्न अर्थ मन्त्रालयले पनि स्वीकृति दिइसकेको छ । अर्थले रकम दिने सहमति दिएपछि बोलपत्र मार्फत ल्यापटप खरीद प्रक्रिया अगाडि बढेको हो ।

त्यसका लागि संघीय संसद सचिवालयले बोलपत्र आह्वान गरिसकेको छ । यसका लागि करिब साढे ३ करोड रकम खर्च हुने अनुमान गरिएको छ ।

संसद सचिवालयले ल्यापटप प्रयोगसम्बन्धी सामान्य तालिम पनि दिनेछ । संसदमा ल्यापटप तथा कम्प्युटर चलाउन नजान्ने सांसदहरु धेरै रहेकाले तालिमको आवश्यकता पर्ने सचिवालयले जनाएको छ ।

संसदलाई पेपरलेस बनाउने अभियानस्वरुप ल्यापटप उपलब्ध गराउन लागिएको सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए ।

३३४ सांसदलाई ल्यापटप बाँड्दै सरकार