कोरोना संक्रमित थप ३ जनाको मृत्यु

कोरोना संक्रमित थप ३ जनाको मृत्यु


कोरोना भाइरसको संक्रमणबाट थप ३ जनाको ज्यान गएको छ। मृत्यु हुनेमा विराटनगर, बुटवल र नवलपरासीका २ महिला र एक पुरुष रहेका छन्।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत विराटनगरकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार विराटनगर ११ की ४३ वर्षीया महिलाको उपचारको क्रममा शुक्रबार बेलुका साढे ६ बजे मृत्यु भएको हो ।

विराटनगरको न्यूरो अस्पतालबाट श्वासप्रश्वासमा समस्या, पेट र छातीको दुखाईपछि रेफर भएकाले प्रतिष्ठानको कोभिड अस्पतालमा बिहीबार भर्ना गरिएको प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

प्रवक्ता सापकोटाका अनुसार महिलालाई बिहीबार बिहान पौने ११ बजे प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । महिलामा विगत ४ वर्षदेखि उच्च रक्तचापको समस्या थियो ।

यससँगै प्रदेश १ मा हालसम्म ३६ संक्रमितको मृत्यु भएको छ । जसमा प्रदेश १ का २४ र प्रदेश २ को १२ जना रहेका छन् । प्रतिष्ठानमा हालसम्म उपचाररत २२ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

उता बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

 नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको शनिबार बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।

नवलपरासीकी महिला भदौ १७ गते र बुटवलका पुरुष भदौ १५ गते अस्पतालमा भर्ना भएका थिए । ज्वरो र स्वासप्रस्वासको समस्या रहेका दुबैको भेन्टिलेटरको सहायतामा आइसीयूमा उपचार भइरहेको थियो ।

योसंगै नेपालमा कोरोना संक्रमित मृत्यु हुनेको संख्या २७४ जना पुगेको छ।

Logo