पत्रकार महासंघद्वारा तेश्रो चरणको आन्दोलन घोषणा

नेपाल पत्रकार महासंघले तेश्रो चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।

महासंघको केन्द्रीय समितिको बैठकले सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै तेस्रो चरणको आन्दोलनको कार्यक्रम तय गरेको हो  ।

महासंघले मिडिया काउन्सिल विधेयकमा भएका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधानहरु अविलम्ब फिर्ता लिन सरकारसंग पुनःजोडदार माग गरेको छ । नेपाली प्रेस जगतका जायज मागहरु अघि सारेर आन्दोलित नेपाल पत्रकार महासंघ र समग्र सञ्चार क्षेत्रप्रति सरकारले उपेक्षा गरेकोमा बैठकले दुःख प्रकट गरेको छ । विशुद्ध पेशागत स्वतन्त्रताको माग राखेर गरिएको आन्दोलनलाई सरकारले राजनीतिक रङ दिनु र विदेशी दातृ संस्थासंग जोडेर लाञ्छित गर्नु आपत्तिजनक भएको जारी बिज्ञप्तिमा उल्लेख छ ।

‘विगत ६ दशकदेखि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि संघर्षरत् महासंघ कुनै पनि पक्षको अभिष्ट पूरा गर्ने आन्दोलनको पक्षमा नभएको र संविधानले सुनिस्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा दृढ रहेको स्पष्ट पार्न चाहन्छ ।’ बिज्ञप्तिमा भनिएको छ । मिडिया काउन्सिल विधेयकमा राखिएका प्रावधानले सञ्चार क्षेत्रको नियमन गर्ने नभई नियन्त्रण गर्ने प्रष्ट देखिएकोले आन्दोलन गर्नु परेको महासंघका महासचिव रमेश विष्टले जानकारी दिए ।

तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु

क) असार ३ गते प्रेस स्वतन्त्रताको पक्षमा देशब्यापी हस्ताक्षर संकलन अभियान ।

ख) असार ६ गते संकलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाउने ।

ग) असार १० गते मिडिया काउन्सिल विधयकविरुद्ध कार्टुन प्रर्दशनी ।

घ) असार १५ गते सबै जिल्ला शाखाहरुले आफ्नो क्षेत्रबाट निर्वाचित संघीय र प्रदेश सांसदहरुलाई एसएमएस मार्फत् सन्देश पठाएर ध्यानाकर्षण गर्ने ।

ङ) असार २० गते बृहत् ‘प्रेस स्वतन्त्रतासभा’को आयोजना गर्ने ।

च) असार २५ गते मध्यान्ह १२ः०० बजे लालटिन जुलुस ।

छ) असार ३० गते देशव्यापी सिटी जुलुस र सभा ।