‘गलबन्दी’ को ऐतिहासिक रेकर्ड र विवाद

दुर्गा पंगेनी ।

यहि समयमा गलबन्दी गीतले सबै भन्दा बढी भ्यु गएको गीत कुटुमा कुटु सुपारी दाना भन्ने सिनेमाको गीतलाई पब्लिक इन्गेजमेन्टको हिसाबले उछिनेको छ । कुटुमा कुटुले दश करोड भ्यु पाउँदा तीन वर्ष लगाएर पाएको लाईक र कमेन्ट गलबन्दीले एक करोड मात्र भ्यु जाँदा दुई हप्ताको अन्तरालमै प्राप्त गरेको छ । यस हिसावले युट्युबमा सबै भन्दा छोटो समयमा करोड पटक हेरिएको रेकर्ड गलबन्दीको पोल्टामा परेको छ । लोकगीत यो उपलब्धिलाई ऐतिहासिक मान्दै गलबन्दी टिमलाई शुभकामना ।

केही दिनदेखि लोकगीतका केही भाकाहरू जुधेको कुरालाई बहसको विषय बनाउँदै युट्युब र अन्य सामाजिक सञ्जालहरूमा चर्का बहसहरू गरिरहेको देख्न पाइएको छ । खास गरी बजार नै हल्लाउने र साङ्गीतिक क्षेत्र नै तरंगीत गराउने कालजयी सृजनाहरू बजारमा आउँदा यसरी पक्ष विपक्षमा बहस हुनु स्वाभाविक नै हो ।

यस्ता बहसलाई कुनै कोणबाट पनि ‘नहुनु पर्ने’ भनेर परिभाषित गर्न सकिँदैन किनकी त्यसरी बहस भएन र पक्ष विपक्षमा प्रश्नोत्तर भएनन् भने सृजनाका कतिपय पाटाहरू ओझेल पर्न सक्छन् । त्यसैले यथेष्ट बहस हुनु जरुरी छ र त्यस भित्रका हरेक कुराहरू बाहिर आउनु पनि उत्तिकै जरुरी देखिन्छ ।

गीत जुध्दा या लय हुबहु हुँदा त्यसले अलिकति बहसको सृजना गर्नु भनेको सामान्य कुरा हो । तर त्यस्ता बहसले समाजलाई नै विभाजन तर्फ डोर्‍याउन थाल्यो भने त्यस्तो बहस प्रत्युत्पादक हुन सक्छ । जस्तो कि लोकगीतको प्रतिलिपि अधिकार सुरक्षित नभएको अवस्थामा त्यस्ता गीतको पुनः प्रयोगको बारेमा कलाकारहरू उदार हुनेकी सङ्कुचित हुने भन्ने मुद्दा नै बहसको सुरुवाती चरण हो ।

मौलिक रचनाको पुनः प्रयोग -मौलिक गीत कस्तो गीतलाई भनिन्छ ? अहिलेका लोक गीत मौलिक छन् ? लोकगीतबाट प्रभावित कुनै पनि सृजनालाई ‘मौलिक’ भन्न मिल्छ ? यी प्रश्नहरू लोक साङ्गीतिक क्षेत्रमा प्राय उठिरहने प्रश्नहरू हुन् । मौलिक सृजना बौद्धिक सम्पत्ति अन्तर्गत पर्दछ र लोकगीत कसैको ‘मौलिक रचना’ हुन सक्छ ? यदि सक्दैनन् भने ती र बौद्धिक सम्पत्ति पनि होईनन् भने लोकगीतको प्रतिलिपि अधिकार रक्षा कसरी हुन्छ ? अब लोकगीतको बहस हुँदा छुट्नै नहुने प्रश्न यी पनि हुन् ।

अग्रज सर्जक राजेन्द्र थापाका अनुसार सम्पत्ति माथिको अधिकारको आधारमा मात्र लोकगीतहरूले रोयल्टी पाउँदै आइरहेका छन् जुन अधिकारको अन्तिम व्याख्या हुन बाँकी छ अदालतमा मुद्दा परेमा कस्तो फैसला आउँछ यसै भन्न सकिँदैन । नत्र लोक गीत भनेको प्राकृतिक श्रोतबाट प्राप्त हुने सार्वजनिक सम्पत्ति हो त्यो सम्पत्तिलाई कसैले हुबहु उपयोग गरोस् अथवा अलिकति फेरबदल गरेर उपयोग गरोस् त्यो उपयोगकर्ताको तरिकामा भर पर्ने कुरा हो ।

यही विषय उठाउँदै थापा अगाडि लेख्नुहुन्छ, ‘ल मानौँ प्रकाश सपुतले गीत शम्भु राई सँग जुधाए तर शम्भु राईले को सँग जुधाएका थिए ? यसको मतलब त्यो गीत शम्भु राईको आफ्नो सृजना थिएन त्यसैले पनि जति अधिकार त्यो भाकामा शम्भु राईको छ उत्ति अधिकार अन्य कलाकारको पनि हुनु पर्दछ ।’

अर्का चर्चित सर्जक एकनारायण भण्डारीका अनुसार पुराना र परम्परागत भाकाहरू सङ्कलन गरिएका भाका अन्तर्गत पर्दछन् त्यसमा दुइमत छैन ती लोकका सम्पत्तिहरू हुन । ती प्राकृतिक श्रोतबाट सङ्कलित सम्पत्तिमा सबै समाजवासीहरूको समान हक हुनुपर्दछ त्यो सर्वस्विकार्य छ । तर अहिले आएर नयाँ सर्जकहरूले सृजना गरेका कतिपय भाकाहरू नितान्त कलाकारका मौलिक सृजना अन्तर्गत परिभाषित हुनुपर्ने पनि छन् किनकी ती गीतहरूमा धुन नयाँ सृजना गरिएको छ र शब्द रचनाहरू मौलिक बुनिएको छ त्यसैले त्यस्ता लोक गीतको प्रतिलिपि अधिकार संरक्षण गर्नु र त्यो कुरा कानुनमा समावेश गराउनु आजको आवश्यकता पनि हो ।

त्यस्तै अग्रज लोक गायक भगवान भण्डारीले यो संसारमा सर्व ज्ञानी कोही पनि हुँदैन त्यसैले प्रकाश सपुतको गीतलाई मैले जुधेको मान्दिन । युट्युबर अनि पत्रकारहरूले उठानदेखि अन्त्यसम्म अनि भाव देखि अनुप्रास सम्म पुरै बुझेर मात्र जुधे नजुधेको निर्क्योल गर्नुपर्छ भन्दै खुलेरै ‘म प्रकाश सपुतको पक्षमा’ भन्ने ह्यासट्याग सञ्चालन गरिरहेको देख्न सकिन्छ । गायक भण्डारीका अनुसार प्रकाश सपुतको गीतको सानो अंशलाई दोहोर्याई तेहेर्याई राखेर जुध्यो भन्ने हल्ला चलाइएको छ त्यो सर्वथा गलत हो । त्यति पिस जुध्नुलाई नियतवश जुधाइएको भन्न मिल्दैन ।

मौलिक:
१. मूल वा जडसित सम्बन्धितः मूलभूत ।
२. मुख्यः प्रधान ।
३. कसैको आधार नलिएकोः नवीन वा सृजनात्मक ।
मौलिक हुनाको भाव वा अवस्था ।
रचना-अरूको अनुवाद, नक्कल आदि नगरी आफ्नै सृजनात्मक प्रतिभाद्वारा तयार पारिएको कथा, कविता, निबन्ध, गीत आदि रचना ।

कलाकारले सृजना गरेको कलाकारको मौलिक, मूल वा जडसँग सम्बन्धित मुलभूत -लोक, समाजको मौलिक अथवा यो कुरालाई जसरि परिभाषित गरे पनि गीत नजुधोस र कलाकारले ल्याउने सृजनामा नवीनता भेटियोस् भनेर ‘लय जुधेको आलोचना’ गर्ने समूहलाई सामाजिक सञ्जालमा प्रकाश सपुतका शत्रुको जस्तै व्यवहार गर्न थालिएको छ अहिले ।

दर्शकको हैसियतमा पहिला सुनिसकेको गीत पुनः अर्को कलाकारले आफ्नो सृजना भनेर बजारमा ल्याउँदा त्यसको आलोचना हुनु स्वाभाविक नै हो । हरेक दर्शकले आफ्नो गीतको वाहवाही नै गर्नुपर्छ भन्ने भ्रममा कोही पनि कलाकार बस्नु हुँदैन । सृजना बजारमा ल्याउनु अगाडि नै त्यस सृजनाको आलोचना पनि हुन सक्छ र त्यसलाई मैले पचाउन सक्नुपर्छ भनेर तयार रहनुपर्दछ ।

यो मामलामा सपुत सिपालु छन् । उनी लोक गीतको प्रयोगको सम्बन्धमा जानकार छन् । शम्भु राईले गीत जुध्यो भनेपनि अथवा अन्य कुनै कलाकारले जुध्यो भनेर आवाज उठाएपनि हुने केही होइन यो पुरानै चलन हो । लोकगीत हो, लय उस्तै हुन सकिहाल्छ, यस बारेमा न कसैले मुद्दा हाल्छ अथवा मुद्दै हालेपनि अदालतले दिने फैसलाको बारेमा थाहा छदैछ ।

अदालतले प्रतिलिपि अधिकार सुरक्षित नगरिएको गीतको लय जुध्यो भन्दैमा क्षतिपूर्ति तिर्ने आदेश पक्कै दिँदैन त्यसैले उनी निर्धक्क छन्, ढुक्क छन्, गीतले राम्रो व्यापार गरिरहेको छ र उनको क्यारियरमा भरपुर सपोर्ट गरिरहेको छ । उनी अहिल्यै बोलिहाल्नुपर्ने आवश्यकता नै देख्दैनन ।

जहाँ सम्म लय चोरीको आरोप छ त्यो भने सरासर अतिसयुक्ति जस्तो देखिन्छ । शम्भु राईको बिसौं बर्ष पुरानो र आधा घण्टा भन्दा लामो गीतमा बिस बाईस मिनेट पछाडि मात्र समावेस गरिएको कुनै टुक्का या अन्तरामा प्रयोग गरिएको लय सुनेरै नियतबस गलबन्दी गीतमा प्रयोग गरिएको हो भन्ने आरोपलाई पत्याईहाल्नु पर्ने केहि छैन तर ‘गीतमा लय त मिलेको छ है’ भन्ने अभिव्यक्ति दिनेहरुको सामान्य कुरालाई सामाजिक संजालमा अतिरन्जित गराउने समुहले चोरीको आरोप लगाइदिएको देखिन्छ । त्यसपछि सामाजिक सञ्जालमा खेल्ने अर्को तत्व सल्बलाउन थाल्छ जसले समाजलाई गलबन्दी गीतको पक्ष र विपक्षमा विभाजित गर्ने मनसाय राखेको हुन्छ ।

एउटा ह्यासट्याग सुरु हुन्छ, ‘आइएमविद प्रकाश सपुत’ भनेर । यहाँ सपुतको विरुद्ध कोही छँदै थिएन । गलबन्दी गीतको भिडियो र त्यसको प्रभावलाई लिएर सपुतको ठुलो प्रशंसा गर्ने केही शुभचिन्तकले त्यही “अलिकति लय नजुधेको भए सुनमा सुगन्ध हुने थियो” भन्ने तर्कहरू मात्र गरिरहेका थिए तर त्यस्ता तर्कहरूको समेत गलत अर्थ लाग्नेगरि सपुतको पक्षमा ह्यासट्याग सुरु हुनु पक्कै राम्रो कुरा होइन यसले समाजमा पक्ष विपक्षलाई बढवा दिन्छ यसले शुभचिन्तकलाई समेत पराया बनाउँछ त्यसैले लोक गीतको पुनः प्रयोगको बारेमा क्लियर भएकाहरू यसरी पक्ष र विपक्षमा न उत्रिएको राम्रो हो ।

अग्रजको सम्मान होस । अग्रजले सङ्कलन गरेको गीत अनुजले पुनः रेकर्ड गर्दा कमसेकम नजुधाओस । जुधाउनै पर्ने अवस्थामा अनुमति लिओस र अन्जानमै जुधेमा न्यूनतम क्रेडिट देओस् र स्विकार्न सक्ने शक्ति विकास होस । मै सर्जक भन्ने ढिपी नगरोस । एउटा थिति बसोस्, अग्रजलाई पनि दुःख नलागोस अनुजले पनि गरी खाओस् । आलोचनाका कारण यत्ति थिए । तर अग्रजहरुनै पुनः प्रयोगको पक्षमा देखिएपछि अब गीत जुधाइको बारेमा लेख्न बोल्न व्यर्थ छ ।

सक्नेले अग्रजसँग प्रभावित हुने गरी बनाउने हो कमाउने हो । नाम पैसा सबै । मौलिक सृजना भन्ने तपसिलको विषय हो । बनाउँदा बनाउँदै मौलिक भयो भने ठिकै छ हुन सकेन भने जुधेको नै सही तर बजारमा उपस्थिति हुनुपर्छ भन्ने मान्यताबाट प्रभावित भएर सृजना ल्याउन हतार गर्दा पनि लयहरू जुध्न सक्छन् ।

त्यतातिर अनुजहरूलाई सचेत बनाउने भनेको अग्रजहरूले नै हो तर अब लोकगीतमा त्यसो गर्नु नपर्ने भएको छ । बिस्तारै पुनः प्रयोगलाई अग्रजहरूले मान्यता दिँदै जाना थालेपछि अनुजहरूले पनि सास फेर्न पाएका छन् । यही नजिरलाई पछ्याउदै जाने हो भने आगामी पाँच वर्षभित्रमा आजसम्म सङ्कलन गरिएका सबै भाकाहरूको पुनः प्रयोग गरेर सकिने छन् त्यसपछि फेरी अर्को प्रक्रिया सुरु हुनेछ । लोकगीत सङ्गीतमा बसेको नयाँ नजिरः पुन प्रयोग मान्य हुने ।

सरासर त्यस किसिमका पक्ष र विपक्षमा आएका ह्यासट्यागहरू नियाल्दा कस्तो लाग्छ भने अब दर्शकले भाका जुधेको आरोप लगाउन हुँदैन । कलाकारले पनि मैले भाका जुधाएको छैन भनेर घमण्ड गर्न हुँदैन किनकी ती कुराहरू या त नजानेरै भएका हुन या अधिकार क्षेत्र भित्रको भएर जुध्न पुगेका हुन । जे भए पनि त्यसरी जुध्नु बहसको विषय हुनु नै पर्दैन त्यो सामान्य कुरा हो ।

नैतिकताको आधारमा भन्ने हो भने गीत जुधाउँछु र गाली खान्छु अनि हिट हुन्छु भन्ने नियतले जुधाएको हो भने समयले त्यस्ता कलाकारको मूल्याङ्कन पक्कै गर्नेछ । अर्को कुरा महाभारतमा जसरी अभिमन्युले चक्रव्यूहको बारेमा गर्भमै छँदा सुनेको भरमा त्यो चक्रव्यूह तोड्ने प्रयास गरेका थिए त्यसैगरी लोक कलाकारले पनि गर्भमै सुनेको या बढ्दो उमेर र चढ्दो जवानीमा सुनेकै आधारमा लोकगीत बनाउने हुन । सङ्गीतको औपचारिक अध्ययन नगरेका र प्राकृतिक श्रोतलाई स्व अध्ययन मात्र गरेका सर्जकलाई गीत जुधाएको आरोप लगाउनु नै व्यर्थ छ ।

यी र यस्तै बहसहरूका आधारमा पनि लोकलय सार्वजनिक हुन्छ । सबैको बराबर अधिकार हुन्छ । कसैले प्रयोग गर्न पाउने कसैले नपाउने भन्ने हुँदैन । यी गीत कसैका सृजना होईनन । त्यसैले भोलि नै प्रकाश सपुतको गलबन्दी गीतको गुगलले अटोमेटिक कपिराईट क्लेम नगर्ने तरिकाको नयाँ ट्रयाक (नयाँ एरेन्ज) बनाएर शब्द फरक पारेर गाउँदा लय हुबहु भए पनि मुद्दा लाग्दैन र त्यो चोरी गरेको हुदैन ।