जब साम्राज्ञी र पुष्प एकसाथ देखिए (भिडियोमा)

काठमाडौं । नेपाली चलचित्र ‘मारुनी’ को पहिलो गीत ‘जाम न माया जाम’ सार्वजनिक भएको छ । मन मगन फेम्ड गायक दीपक बज्राचार्यको स्वर तथा संगीत रहेको उक्त गीतको भिडियोमा फिल्मका दुई मुख्य पात्र नायिका साम्राज्ञी आर एल शाह र नायक पुष्प खड्का फिचर्ड छन् ।

प्रबिन सिंहको कोरियोग्राफी रहेको भिडियोलाई सौरव लामाले खिचेका हुन् भने सम्पादन मित्र डी. गुरुङको रहेको छ । उक्त गीत मंगलबार एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको हो ।

पुनम इन्टरटेन्मेन्टको ब्यानरमा पुनम गौतमको निर्माण रहेको फिल्ममा नायिका साम्राज्ञी र पुष्पसंगै रेविका गुरुङ, सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइसंगै बाल–कलाकार सायरा आचार्य, आभाष सिंह, सौर्य अधिकारी लगायतको मुख्य भूमिका रहेको छ ।

नवल नेपालको निर्देशन रहेको फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेको छ । फिल्म भदौ १३ गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ ।